प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन

नेपाल कम्युनिस्ट पार्टी गौरवशाली पार्टी हो । यो पार्टीले विगत ७१ वर्षमा जुन ढङ्गले काम गर्दै आएको छ, हामीले एउटा सिंगो क्रान्तिलाई सम्पन्न गरेका छौं । ५८ वर्ष लगाएर हामीले जनवादी क्रान्ति सम्पन्न गर्‍यौं । त्यो क्रान्ति कालमा अनेकन प्रकारका मोडहरु आए । विभिन्न प्रकारले उग्र वामपन्थविरुद्ध लड्नुपर्‍यो, कहिले दक्षिणपन्थविरुद्ध लड्नुपर्‍यो। पार्टी आन्दोलन र लोकतान्त्रिक आन्दोलनविरुद्ध विभिन्न ढंगले विश्वासघात गर्ने नेताहरूविरुद्ध लड्नुपर्‍यो । त्यसरी अनेक घुम्तीहरू पार गरेर हामी यो ठाउँमा आइपुगेका छौं ।

जब पार्टी एकीकरणको काम सम्पन्न गर्‍यौं, एउटा क्रान्ति सम्पन्न गरेर समाजवादतर्फ अगाडि बढ्नुपर्ने ठाउँमा आइपुगेका थियौं । नयाँ संविधान निर्माण गर्‍यौं, आमनिर्वाचन गर्‍यौं र हामीले अभूतपूर्व जनादेश प्राप्त गर्‍यौं । दुई पार्टीलाई एकीकृत गरेर नेकपा निर्माण पनि गर्‍यौं । अब समाजवादको बाटोमा जाने ऐतिहासिक अभिभारा हामीले निर्वाह गर्नुपर्ने थियो । तर पार्टीले अगाडि सारेका कुनै पनि नीतिहरू केपी शर्मा ओलीको सरकारले पूरा गर्न सकेन । मन्त्रिपरिषद् सदस्यहरू तय गर्दा पनि पार्टीको भावना अनुरूप भएन ।

योजनाहरू पनि पार्टीको भावना अनुरुप बन्न सकेन । तीन-तीनवटा आए नीति र कार्यक्रम आए, त्यो पनि पार्टीका नीति र सिद्धान्त अनुरुप छैन । त्यसमा उदारवादी पुँजीका लागि मात्रै ल्याइएका कुराहरू छन् । एउटा दक्षिणपन्थ भड्काउ भएको गुटको रूपमा केपी शर्मा ओलीको नेतृत्वमा गुट बन्यो । त्यही गुट फर्मेसनले निरन्तर पार्टीलाई दुःख दिइरह्यो। सत्तारुढ पार्टी भएको हुनाले कैयन कुराहरू चित्त नबुझ्दा पनि पनि मुखमा ताला लगाएर बस्यौं । आफ्नै सरकार हो भनेर बैठकहरूबाटै सच्याउने कोसिस गर्‍यौं, अनेकौं ढंगले सुधारका प्रयास गर्‍यौं तर हाम्रा प्रयासहरू सफल भएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?