संसद विघटनविरुद्ध साझा धारणा बनाउन कांग्रेस कार्यालयमा सर्वदलीय बैठक शुरू

प्रतिनिधिसभा विघटनविरुद्ध साझा धारणा बनाउन र आन्दोलनका कार्यक्रम तय गर्न नेपाली कांग्रेसको पार्टी कार्यालयमा सर्वदलीय बैठक शुरू भएको छ ।

कांग्रेसको आह्वानमा बसेको सर्वदलीय बैठकमा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षधर नेताहरू सहभागी छन् ।

जनता समाजवादी पार्टीका नेताहरू पनि बैठकमा सहभागी छन् । आइतवार पनि ३ दलका नेताहरूबीच छलफल भएको थियो । सोमवारको बैठकले संसद विघटनविरुद्ध साझा धारणा बनाएर आन्दोलनका कार्यक्रम घोषणा गर्ने जसपाका नेता डा. बाबुराम भट्टराईले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी २०७८ वैशाखमा आमनिर्वाचन गर्ने घोषणा गरेका थियो । संसद विघटन गर्ने सरकारको सिफारिस राष्ट्रपति विद्या भण्डारीले स्वीकृत गरिसकेकी छन् ।

संसद विघटनलाई असंवैधानिक कदम भनेका ३ दलले यसविरुद्ध राजनीतिक प्रदर्शन र कानूनी उपचार खोज्ने तयारी गरेका छन् । सर्वदलीय बैठकअघि बसेको प्रचण्ड–नेपाल समूहका सांसदको बैठकले संसदको अधिवेशन आह्वान गर्न आग्रह गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने सोमवार देशबासीको नाममा सम्बोधन गर्दै आफ्ना एजेण्डा लिएर जनतामा जान प्रतिपक्षी दललाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?