गण्डकी प्रदेशलाई वागमतीले हरायो, प्रदेश १ सेमिफाइनलमा

काठमाडौं- दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको प्रधानमन्त्री कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा समूह ‘बी’ अन्तर्गत वागमती प्रदेशले गण्डकी प्रदेशलाई ६५ रनले हराएको छ। १५४ रनको लक्ष्य पछ्याएको गण्डकीले पूरा २० ओभर खेलेर ५ विकेट जाँदा ८८ रन मात्र बनाउन सक्यो।

गण्डकीका लागि पूर्णता शाहीले ६ बलमा २ रन, शिला क्षेत्रीले ५० बलमा २६ रन, प्रमिला बानियाँले ४ बलमा २ रन, सृष्टि पौडेलले ४४ बलमा ३० रन, एलिशा लामिछानेले ८ बलमा ६ रन साथै सीमाना केसीले ९ बलमा ५ रन बनाए।

वागमतीका लागि अस्मिना कमाचार्य, सुमन खतिवडा, आरती बिडारी र निशा तामाङले एक–एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको वागमतीले पूरा ओभर खेल्दै ४ विकेट गुमाएर १५३ रन बनाएको थियो। जसमा कन्चन श्रेष्ठले २९ बलमा २७ रन, बिन्दा कटवालले ५८ बलमा ३८ रन, सुमन खतिवडाले २६ बलमा ३१, आरती बिडारीले ६ बलमा १० रन साथै अस्मिना कर्माचार्यले ७ बलमा ८ रन बनाए। गण्डकीका लागि एलिशा लामिछानेले दुई विकेट लिएकी थिइन्। गण्डकीले दिएको ३९ अतिरिक्त रनले टिम समस्यामा परेको हो।

समूह ‘बी’ अन्तर्गत नै बुधबार बिहान भएको खेलमा प्रदेश नम्बर १ ले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराएको थियो। यसअघि समूह ‘बी’ मा मंगलबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ५९ रनले हराएको थियो। प्रदेश नम्बर १ ले वागमती प्रदेशलाई ४६ रनले हराएको थियो। समूहको अन्तिम खेलमा बिहीबार सुदूरपश्चिमले वागमती र गण्डकीले प्रदेश १ सँग खेल्नेछन्। यसैले एक खेल अगावै प्रदेश नम्बर १ सेमिफाइनलमा पुगेको छ।

यस्तै यसअघि नै समूह ‘ए’ बाट एपिएफ र लुम्बिनी प्रदेश सेमिफाइनलमा पुगिसकेका छन् भने प्रदेश नम्बर २ र कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?