गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजको चौथो बार्षिक साधारण सभा सम्पन्न

माधव ज्ञवाली ,पौष १८ गुल्मी ।

गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजले शनिबार बुटवलमा चौथो बार्षिक साधारण सभा सम्पन्न गरेको छ।संस्थाका संस्थापक अध्यक्ष नारायण ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै ज्ञवालीले विभिन्न कारणले गाउँबाट सहरमा बसाइँसराइ गरि आएकाहरुको आपसी एकता ,भातृत्व एवम् स्थानीय स्तरको विकासको लागि संस्था स्थापना गरिएको र संस्थाले यस्ता महत्वपूर्ण काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका स्वकीय सचिव यदु ज्ञवालीले यस्ता संस्थाले ग्रामीण र सहरी विचमा पुलको काम गर्ने बताउँदै स्थानीय स्तरलाई विभिन्न माध्यमबाट सहयोग गर्नुपर्ने पनि बताउनुभयो । कार्यक्रममा सल्लाहकार लक्ष्मण ज्ञवालीले गाउँबाट बाट शहर बसाइँसराइ गरिसकेपछि एक आपसमा परिचित समेत नहुने अवस्थामा संस्थाले यसरी आपसी भातृत्व विकास गरि सामाजिक कार्यमा निरन्तर लागी रहेकोमा आभार व्यक्त गर्नुभयो।

संस्थाका अध्यक्ष तथा अभिभावक संघ लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्षले संस्थाको विकास एवम् संस्थाले गरेका कामहरू सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। संस्थाले आपसी भातृत्व एवम् ग्रामीण र शहरी बसाई बिचको घनिष्टता बढाउँदै आएको दाबी समेत उहाँले गर्नुभएको थियो।कार्यक्रममा संस्थालाई सहयोग गर्ने सहयोग दाताहरुलाई सम्मान गरिएको थियो।

संस्थाका सचीव कपिल ज्ञवालीको संचालनमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष विरु क्षेत्री ,विष्णु गौतम लगायतले बोल्नुभएको संस्थाका प्रेस सल्लाहकार एवम् प्रेस संघठन रुपन्देहीका सदस्य श्रीराम ज्ञवालीले जानकारी गराउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?