गुल्मीमा गरिबी परिचय–पत्र वितरण हुने

हुमाकान्त पोखरेल
गुल्मी, ०५ माघ ।

गुल्मीमा गरिबी परिचय–पत्र वितरण हुने भएको छ ।

 

आगामी असार मसान्तसम्म जिल्लाका सबै पालिकामा परिचय पत्र वितरण हुने भएको हो ।
त्यसका लागि सम्बन्धित स्थानीय तहमा गई तथ्याङ्क संकलन गर्न प्रत्येक पालिकामा सुपरिवेक्षक तथा गणकहरुको छनोट गरिएको छ । छनोट भएका गणक तथा सुपरिवेक्षकका लागि सोमबारदेखि गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम सम्बन्धमा तालिम संचालन भएको छ । तालिमको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उद्ध्घाटन गरिन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रजिअ शर्माले गाउँमा नम्र र शिष्ट भाषा प्रयोग गरेर तथ्याङ्क संकलन गर्न गणकहरुलाई निर्देशन दिइन् ।

 

प्रत्येक पालिकामा चारदेखि सातजनासम्म गणकहरु नियुक्त गरिएको छ । भने सबै पालिकामा एक÷एक जना सुपरिवेक्षक नियुक्त गरिएको छ । गणकहरुले सफ्टोयरमार्फत हरेक परिवारको विभिन्न विवरण संकलन गर्छन् । प्रत्येक परिवारको घरमुलीसँगबाट परिवारका सदस्य, आम्दानी, बचत, आम्दानीको स्रोत, रोजगारी लगायतको बिषयवस्तुको तथ्याङ्क लिइन्छ । उक्त तथ्याङ्क जिपिएस् प्रणालीबाट गणकले भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयमा पठाउछन् । सफ्टोयरबाट प्राप्त भएको तथ्याङ्ककाका आधारमा मन्त्रालयले गरिब र गैर गरिब परिवारहरुको छनोट गर्छ ।

 

गरिब परिवारहरुलाई पनि गरिब, मध्यम गरिब र अति गरिब गरी तीन भागमा विभाजन गर्छ र उक्त तथ्याङ्क पालिकामा पठाउछ । पालिकाले अति गरिब परिवारलाई रातो कार्ड, मध्यम गरिब परिवारलाई पहेँलो तथा गरिब परिवारलाई हरियो कार्ड प्रदान गर्छ । अहिले जिपिएस् प्रणालीबाट काम हुने भएकोले सही तथ्याङ्क संकलन हुने प्रशिक्षक सञ्जिवनी अर्यालले जानकारी दिइन् । जिल्ला समन्वय समितिको आयोजनामा भएको प्रशिक्षण कार्यक्रम छ दिनसम्म संचालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?