रुकुमको भेडी गोठको कथा ( भिडियो सहित )

बाग्लुङ्गको बुर्तिबाङ्ग बजारबाट करिब ५ घण्टाको यात्रा पछि हामी आइपुगेका छौ यो डर लाग्दो घनघोर चिसो र उजाड जङ्गलमा ।
जता हेर्यो उतै जङ्गल छ , अन्यत्रको भन्दा फरक छ यहाँको जङ्गल , पुरै हिउँले थिचिएर राम्ररी पलाउन नपाएका सिख्रै छन बोट । भुइमा हरियो भन्ने केही छैन चिसोले खाएर ।
जङ्गलको एउटा पुरै पाखा भरी भेडा र बाख्रा छन् गोठाला जम्मा २ भाइ , ७० बर्षिय सत् गुरुङ्ग , र ५६ बर्षिय रस गुरुङ्ग ।।

“रस गुरुङ्ग” कस्तो रसिलो नाम तर उनको नाम र शरिरको अवस्था पुरै फरक छ , रस बुवाको शरीर हेर्दा लाग्छ कहि पनि रस छैन हिउले खाएर ।
उनका दाइ सत् गुरुङ्गको पनि अवस्था अझै अचम्म लाग्दो छ , जन्मिए देखि उनले कहिल्यै लगाएनन पुरै शरीर ढाक्ने कपडा , बेरिएको कछाड , शरिरमा एउटा भोटो र पछौरी , अनि तान्दै गरेको भुसा , उनले आज सम्म रुकुम छोडेर अर्को जिल्लामा पाइला सम्म पारेका छैनन् , उनलाइ पुरै सन्सार यस्तै लाग्छ , यति सम्मकी उनले रेडियो अरु कसैको देखेका मात्र छन अझै अचम्म लाग्दो त उनलाइ आफ्नै देशको प्रधानमन्त्रीको नाम सम्म थाहा छैन ।

यो जङ्गलमा भेडा र बाख्रा मात्र होइन स्याल, चितुवा , पाटे बाघ र भालु पनि हुन्छन , यी वृद्ध २ भाइ लाई भेडाको पेट भर्ने र जङ्गली जनाबर बाट भेडा बाख्रा बचाउने जिम्मेवारी छ । बर्षमा करिब ३५ /४० वटा भेडा बाख्रा त आखै अगाडि बाट बाघले लतारेर लैजान्छ । दिनभरी भेडा र बाख्रा जिम्मा गुरुङ्ग दुई भाइको रात भरी भने यसको जिम्मा भोटे कुकुरले लिन्छन ।

जङ्गलमा आफ्नै ज्यानको पनि सुरक्षा गर्नुछ गुरुङ्ग २ भाइले त्यसैले त जति बेला पनि भिरेर हिड्छन एक एक वटा ठुला ठुला खुकुरी ।

धेरै जसो जङ्गलमै भेडा र बाख्रा ब्याउछन अनि काखमा बोकेरै लैजान्छन गुरुङ्गले भेडा र बाख्राको पाठापाठी तर आज भने ब्याएनछन भेडा बाख्रा ।

जङ्गलमा करिब ३५० वटा जति भेडा बाख्रा छन , एउटै भेडाको मूल्य ८ हजार देखि १४ हजार सम्म पर्छ , बजारको समस्या पनि केही छैन जङ्गलमै व्यापारी खरिदका लागि आउछन ।
रस गुरुङ्ग त कतार र मलेसिया पनि पुगेर आए , पैसा त्यहाँ पनि राम्रै थियो तर यहाँ दुख होला तर मनको आनन्द पनि छ रस गुरुङ्गलाइ ।
। यी गुरुङ्ग २ भाइको घर यो जङ्गल बाट करिब एक दिनको दुरिमा पर्छ अहिले दुई भाइ नै भेडी गोठमा बस्छन , खानामा ढेडो र सुकाएको साग बाहेक अरु केही हुदैन यो जङ्गलमा ।
भेडा चराउने ठाउँ मौसम अनुसार फरक हुन्छ , बर्खा अवधिमा भेडा यो भन्दा पनि माथी लेखको चुहुरे भन्ने ठाउँमा चराउछन जब हिउद सुरु भयो भेडा अलिकती तल रघुमा चरिरहेका छन , यो बर्ष हिउदे पानी परेको छैन नत्र यो बेला भेडा अझै तल झरी सक्थे , हिउँ पर्दा यहाँ करिब २ मान्छे भन्दा धेरै बाक्लो हिउँ पर्छ ।

बिस्तृतमा यो भिडियोमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?