प्रमुख जिल्ला अधिकारी बृद्धा आश्रममा , सामुहिक भोज र कम्बल वितरण

टोपलाल अर्याल
गुल्मी, २५ माघ

गुल्मीको प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले शनिबार बिहानै रुद्रवेणीको बृद्धा आश्रममा पुगिन ।
सुरक्षाकर्मी र संचारकर्मीसहित आश्रम पुगेकी प्रमुख जिल्ला अधिकारीलाई देखेर सुरुमा बृद्धबृद्धा छक्क परे । शर्माले आफुलाई प्रमुख जिल्ला अधिकारी भनेर चिनाइन ।

आमाहरुले प्रमुख जिल्ला अधिकारी भनेर बुझेनन्, सिडियो भनेपछि खुसीले सम्मान गरे । उनले आमाहरुको गाह्रो अप्ठ्यारो सोध्न थालिन । कसैले पनि परिवारलाई दोष दिएनन् । सवैले अब आश्रमनै बैकुण्ठ भएको प्रतिक्रिया दिए । आश्रमकी ८३ बर्षीया तुसला पाण्डेयले पहिलो पटक महिला सिडियो देखेपछि आश्चर्य व्यक्त गरिन् । ‘छोरीहरु पनि सिडियो हुने रैछन, मलाई त आफ्नै छोरीले आमा भनेजस्तै भयो बाबु,’उनले भनिन,‘अब हामीहरुलाई पनि केहि न केहि गर्छिन् होला ।’

शनिबार बिदाको मौका छोपेर आश्रम पुगेकी प्रमुख जिल्ला अधिकारी शर्माले आमाहरुलाई सामुहिक भोजन र कम्बल वितरण गरिन् । सत्यवति गाउँपालिका १ अस्लेवाको रुद्रवेणीमा रहेको राम मन्दिर तारकेश्वर प्रमानन्द सन्यास आश्रमका ४८ बृद्धबृद्धाहरुलाई सामुहिक भोजन गराएकी थिइन् । साथै जिल्ला बिपद् व्यावस्थापन समितिको तर्फबाट आश्रमलाई १० थान कम्बल प्रदान गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी शर्माले बिदाको दिन भगवान जस्ता बृद्ध बुबाआमाहरुका गुनासा सुन्ने र संगै भोजन गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरिन् । उनले आश्रममा रहेका बृद्धबृद्धाहरुको स्वास्थ्य अवस्था, परिवारसंगको सम्बन्ध र आश्रमका समस्याको बारेमा पनि अन्तरक्रिया गरेकी थिइन् । शर्माले आश्रमको अवस्था, भेटघाट र छलफलपछि आफुलाई पनि आमाहरुको स्याहार सुसार गर्ने व्यक्तिहरुको अभाव महसुस गरेको प्रतिक्रिया दिइन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?