हत्याको २० दिनपछि अभियुक्त सार्वजनिक

गुल्मी,  गुल्मीको रेसुंगा नगरपालिका ३ अन्र्तगत भाडगाउमा २२ वर्षीय सम्झना बोहोरा क्षेत्रीको हत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । रेसुंगा नगरपालिका ३ अन्र्तगत भाडगाउँ निवासी ४७ वर्षका लाल बहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले बिहिवार सार्वजनिक गरेको हो । उनले गत माघ २९ गते राती आफु र सम्झनाकी सासुआमा टोमकला खत्री मिलेर सम्झनाको हत्या गरेको प्रारम्भीक बयानको क्रममा प्रहरीलाई बताएका छन् ।
घरबाट वेपत्ता भएको १७ दिनमा लाल बहादुर खत्रीले बारीमा घाँस काट्न जाँदा केही गन्ध आएको भनेर प्रहरीमा खबर गरेका थिए । खोज तलासको क्रममा घर नजिकै सडेर गलेको अवस्थामा प्रहरीले सम्झनाको शव फेला पारेको थियो । शव फेला पारेकै दिन प्रहरीले हत्याको आशंकामा लाल बहादुरलाई पक्राउ गरि अनुषन्धान शुरु गरेको थियो । सम्झनाको हत्या भएको २० दिनपछि प्रहरीले हत्यारा पत्ता लगाई सार्वजनिक गरेको हो ।


प्रहरीले लाल बहादुर खत्रीको नाममा गुल्मी जिल्ला अदालतवाट सात दिनको म्याद थप गरि घटनाको बारेमा थप अनुषन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेले बताउनु भएको छ । सम्झनाको हत्या के कारणले भयो र के कारणले सासु समेत झुण्डीएर आत्महत्या गरिन भन्ने बारेमा थप कुरा प्रहरीले अनुषन्धानपछि पुन सार्वजनिक गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?