रुरुक्षेत्र गाउँपालिकाले मनायो एक सय एघारौं अन्तराष्ट्रिय महिला श्रमिक दिवस

माधव ज्ञवाली ,फाल्गुन २४ गुल्मी

“महिलाको सुरक्षा ,सम्मान र रोजगार: समृद्ध नेपालको आधार “भन्ने नारा सहित रुरुक्षेत्र गाउँपालिका गुल्मीले एक सय एघारौं अन्तराष्ट्रिय महिला श्रमिक दिवस आज एक कार्यक्रमको बिचमा मनाएको छ।

ज्ञवा बलेटक्सार मावि रुरुक्षेत्र ४ को प्राङ्गणमा गाउँपालिका द्वारा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मिदेवी पन्थको अध्यक्ष्ाता रहेको थियो भने लुम्बिनी प्रदेश सभाका सभासद कमलराज श्रेष्ठको प्रमुख आतिथ्यता,रुरुक्षेत्र गाउँपालिका अध्यक्ष निलकण्ठ गौतम र जिल्ला समन्वय समिति गुल्मीका उपप्रमुख तुल्सी श्रेष्ठको विशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

 

कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुदै कार्यपालिका सदस्य अन्जु कंडेल केसीले संविधानले महिलाका हक अधिकार सुनिश्चित गरिदिएता पनि अझै पनि महिलाले पुर्ण रुपले आफ्ना अधिकारको उपयोग गर्न नपाइरहेको बताउनुभयो,अब महिला आफ्नो हक अधिकार उपयोग गर्न आफै सचेत हुनुपर्ने पनि उहाँको भनाई रहेको थियो।कार्यक्रममा उपस्थित विभिन्न आमा समुहका प्रमुख ,महिला संजालका प्रमुख एवं प्रतिनिधिहरुले पनि आजको कार्यक्रममा आफ्ना भनाईहरु राख्दै गाउँपालिकाले यसपल्ट सिमित संख्यामा मात्र महिलाहरुलाई उपस्थित गराएर कार्यक्रम गरेकोमा असन्तुष्टि व्यक्त गरेका थिए। पालिका भित्रका प्रत्येक वडाहरुमा प्रत्येक बर्ष यस् दिवसका अवसरमा सचेतना मुलक छुट्टाछुट्टै कार्यक्रमहरु गाउँपालिकाले आयोजना गर्नुपर्ने उनिहरुको माग गरेको थियो।

रुरुक्षेत्र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत एवम् कार्यक्रमका विशेष अतिथि चेतनाथ गिरिले गाउँपालिकाको उदेश्य पालिका भित्रका महिलाहरुलाई विभेद गरेर सिमित सङ्ख्यामा मात्र उपस्थिति गराउनु नभएको र विगतका बर्षहरुमा यो दिवस केवल भाषणमा मात्र सिमित भएको प्रष्ट पार्दै यस बर्ष प्रतिनिधि मुलक तरिकाले महिलाको उपस्थित गराई सम्पन्न कार्यक्रमबाट सिकेका कुरा,उठेका तथा उठाइएको कुराहरू कार्यक्रममा उपस्थित प्रतिनिधि हरु मार्फत पालिका भित्रका सबै टोलटोलमा पुर्याएर सचेतता फैलाउने उदेश्य रहेको बताउनुभयो ।

 

पालिकाले आजको कार्यक्रम सम्बन्धि कार्यपत्र पनि प्रस्तुत गरेको थियो। कार्यपत्र प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवि पन्थले देशलाई सुखी र समृद्द बनाउने जिम्मेवारी अब महिलाको काधमा आएको बताउँदै अब महिलाहरुले घरायसी काममा मात्र ध्यान दिन नहुने र त्यसलाई ब्यवस्थापन गर्दै संविधानले सुनिश्चित गरिदिएका हक अधिकारको प्रयोग गर्नुपर्ने बताउनुभयो । आफू एक महिला जनप्रतिनिधि भएको हैसियतले कुनै पनि महिलाहरुको शिर झुक्ने काम नगर्ने र महिला हरुको हक हितको लागि सधै लागि पर्ने प्रतिबद्धता पनि प्रकट गर्नुभएको थियो।

कार्यक्रमका विशिस्ट अतिथी एवं गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमले एक सय एघारौं महिला दिवसको सबैलाई शुभकामना दिनुहुदै जहाँ अन्याय हुन्छ त्यहाँ संघर्ष हुने र जहाँ संघर्ष हुन्छ त्यहाँ न्याय प्राप्ति हुने बताउनुभयो ।उहाँले पनि संविधानले प्रस्ट पारिदिएका महिला सम्बन्धि हकहरुको प्राप्तिको लागि महिला आफै लड्न सक्नुपर्ने बताउनुभयो ।उहाँले सधै सरकारले मात्र गर्दियोस भन्ने मनोभावना त्याग्दै आमा समूह,महिला।संजाल लगायत महिलाले नेतृत्व गरेका संघ संस्थाहरुले पनि महिलाहरुको हक अधिकारका लागि अग्रसर भएर काम गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभाका सभासद कमल राज श्रेष्ठले जब सम्म महिला हरुलाई पछि पार्ने खालका संस्कृति एवं संस्कार हरु नेपाली समाजबाट हट्न सक्दैनन् तबसम्म संविधानमा जति नीति नियम तथा कानुन निर्माण गरे पनि त्यो ब्यवहारमा उतार्न निकै कठिन हुने बताउनुभयो । उहाँले नेपाली समाज अझैसम्म पनि विभिन्न प्रकारका रुढीबादी संस्कारमा अल्झिरहेको र जसकारण महिला सम्बन्धि विभिन्न हिंसा,भेदभाव तथा तिरस्कार भइरएको बताउनुभयो ।जति भौतिकवादी भएपनी त्यस्ता संस्कारलाई अत्मसाथ गरियो भने समाजमा महिला संबंधी हिंसा कायमै रहने उहाँको भनाई रहेको थियो। समाजमा देखिने त्यस्ता लैङ्िगक हिंसाहरुलाई सूत्रबद्ध गर्दै समाधान गर्नुपर्ने उहाँको भनाई रहेको छ।

कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु ,वडा सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,विभिन्न आमासमुहका प्रतिनिधिहरु ,स्वास्थ्य स्वयं सेविकाहौ,राजनीतिक दलका प्रतिनिधिहरु, विद्यालयका प्र.अ,विद्यार्थी ,सुरक्षाकर्मी ,पत्रकार लगायतको उपस्थिति रहेको थियो।

विभिन्न विद्यालयका विद्यार्थीहरुले महिला हिंसा संबंधी कविता,रचना,मन्तव्य एवं नृत्य पनि प्रस्तुत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?