हिमालय आधारभूत विद्यालयको ६२ औँ बार्षिकोत्सव सम्पन्न


हुमाकान्त पोखरेल, गुल्मी चैत्र १६ ।

धुर्कोट गाउँपालिका–५ वस्तुमा रहेको हिमालय आधारभूत विद्यालयको ६२ औ बार्षिकोत्सव सम्पन्न भएको छ । आइतबार सम्पन्न कार्यक्रममा विद्यालयले पुर्व शिक्षक, पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु, शिक्षक अभिभावक संघका अध्यक्षहरु, चन्दादाता, विद्यालयलाई आर्थिक वा जिन्सी प्रदान गर्ने व्यक्ति तथा संघ–संस्थाहरुलाई सम्मान गरेको थियो ।

त्यस्तै निवृत्त शिक्षकहरु तुल्सिराम भण्डारी र शेषनारायण भण्डारीलाई विदाई गरिएको छ । मायाको चिनो, दोसल्ला र सम्मान पत्रसहित शिक्षकहरुलाई विदाई गरिएको हो । कार्यक्रमकै अवसरमा विद्यालयका पूर्व विद्यार्थी एवम् नेकपा एमालेका जिल्ला नेता नरेशकुमार भण्डारीले आफुलाई अक्षर चिनाउने शिक्षकलाई सम्मान गरेका छन् । सोही विद्यालयका पुर्व शिक्षक समेत रहेका डिलाराम भण्डारीलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सीता कुमारी खरेलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । साथै उनले व्यवस्थापन समितिको निर्णयअनुसार विद्यालयले विभिन्न प्रकारका सदस्यता आह्वान गरेको पनि जानकारी गराइन् । जसअन्तरगत दुई देखि पाचँ हजारसम्म दिनेलाई साधारण सदस्य, पाचँ हजार एक सयदेखि १० हजार सम्म दिनेलाई आजिवन सदस्य र प्रमाणपत्र, १० हजार एक सयदेखि २५ हजारसम्म दिनेलाई विशिष्ट सदस्य र फ्रेमसहित प्रमाणपत्र प्रदान गरिने प्रध्यानाध्यापक खरेलले बताइन् । त्यस्तै २५ हजार एक सयदेखि ५० हजारसम्म दिनेलाई अतिविशिष्ट सदस्यता (एसेस्कर सदस्य) प्रदान गरिने छ । उनीहरुको फोटो विद्यालयमा राखिने र फ्रेमसहितको प्रमाणपत्र दिने तथा ५० हजारदेखि बढी रकम दिनेलाई दम्पत्तिको फोटा विद्यालयमा राख्ने र फ्रेमसहितको प्रमाण पत्र प्रदान गर्ने विद्यालयले जनाएको छ । अहिलेसम्म तीनजना अतिविशिष्ट सदस्य, सातजना विशिष्ट सदस्य र १६ जना आजिवन सदस्य भएका छन् । उनीहरुलाई बार्षिकोत्सवको अवसरमा सम्मान समेत गरिएको शिक्षक नारायण पाण्डेले जानकारी दिए ।

बार्षिकोत्सव कार्यक्रममा गाउँपालिका अध्यक्ष भुपाल पोखरेल, उपाध्यक्ष शिव केसी, वडाध्यक्ष ढुण्डिराज भण्डारी, नेपाल शिक्षक महासंघ लुम्बिनी प्रदेश अध्यक्ष प्रेम नारायण भण्डारी, नेकपा एमालेका नेता नरेशकुमार भण्डारी, नेपाली काङ्ग्रेसका नेता महेन्द्र भण्डारी लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवराज कुवरको अध्यक्षता, गाउँपालिका अध्यक्ष पोखरेलको प्रमुख आतिथ्यता, शिक्षिका रेखा भुसालको स्वागत मन्तव्य तथा शिक्षक पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?