समुदायकै कारण आगलागी , सिडिओ सापको आग्रह छतबाट फोटो खिच्ने कि आगो निभाउने ?

टोपलाल अर्याल गुल्मी, ३० चैत

जिल्लाका सरोकारवालाले घरगोठमा बाहेक वनजंगलमा हुने आगलागी समुदायकै सक्रियतामा हुने गरेको गुनासो गरेका छन् ।

समुदायकै व्यक्तिहरुको विभिन्न सोचका कारण आगलागी हुने र सूचना बाहिर नदिने कारण दोषी कानुनको दायरामा आउन नसकेको प्रशासन कार्यालयसंगै सुरक्षा निकायहरुको ठहर रहेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले समुदाय भित्रबाटै जानी–जानी आगो लगाउने गरिएको बताइन् । शर्माले निजी जंगलमा लगाएको आगो फैलिएर र समुदायलेनै घाँस दाउराको लोभमा नियोजित रुपमा आगो लगाउने गरेको प्रारम्भिक सूचनाहरु आफु कहाँ आउने बताइन् । ‘आफैले आगो लगाएर अर्कै दोषी खोज्नु मुर्खता हो, समुदायनै जिम्मेवार बन्नु आगलागी नियन्त्रणको पहिलो काम हो,’उनले भनिन,‘ वनको आगो छतबाट फोटो खिचेर नियन्त्रण हुँदैन निभाउन जानुपर्छ ।’ उनले भौगोलिक जटिलता तथा जनशक्ति र स्र्रोत साधनको अभावमा आगलागी नियन्त्रणमा समस्या रहेको गुनासो गरिन् ।

 

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईले कारबाही गर्न सूचना र प्रमाण आवश्यक भएकाले नागरिकसंग सहयोगको अपेक्षा गरे ।

त्यस्तै सशस्त्र प्रहरी नायव उपरिक्षक अशोक लम्सालले समुदायको सहयोग बिना आफुहरुले मात्रै केहि गर्न नसकिने बताए । उनले अहिलेसम्म आफुहरुले आगलागी भएको क्षेत्रमा पुगेर बस्ती र खानेपानीलाई बिशेष ख्याल गरेर जोगाइरहेको लम्सालले बताए । नेपाली कांग्रेसका सभापति भुवन प्रसाद श्रेष्ठले आगलागीले पुराएको क्षतिको मुल्य नभएकाले नागरिक स्तरबाटै समस्या र समाधान दुवै भेटिने भएकाले सर्तकर्तामै जोड दिए ।

त्यस्तै माओवादी केन्द्रका नेता अशोक थापाले अहिलेसम्म आगलागीका घटनामा संलग्न व्यक्ति कारबाहीको दायरामा नआएकाले समस्या झन बल्झिएको बताए ।

जनमोर्चाका नेता हरि न्यौपानेले सामुदायीक वन उपभोक्ता समितिले कोष बनाउने मात्रै नभएर वनक्षेत्रको संरक्षणसंगै आगलागी नियन्त्रणमा चासो दिनुपर्नेमा जोड दिए । उनले वन उपभोक्ता र उपभोक्ता समिती दायित्व बिहिन भएका कारण आगलागी नियन्त्रणको बिषय सुरक्षा निकायको थाप्लोमा मात्रै थोपरिएको बताए ।

रेसुंगा नगरपालिकाका प्रवक्ता पदम अर्यालले समुदायलाई सामुदायिक बनको अपनत्व दिन नसक्नुनै आगलागीको कारण भएको बताए । रेसुंगा नगरपालिका १ का वडाध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेयले आगलागी नियन्त्रणको अल्प र दिर्घकालिन योजना आवश्यक रहेको बताए । रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले दक्ष जनशक्ति उत्पादन, तालिम र सचेतना आवश्यक रहेको बताए ।

रेसुंगा संरक्षण समिति अध्यक्ष सुरेश भुसालले तालिम प्राप्त नभएको व्यक्ति कम भएकाले आगगाली नियन्त्रणको नाममा स्थानीयको भिड मात्रै बढाए दुर्घटना हुने तर्फ सचेत रहन आग्रह गरे । अर्जुन भगवति संरक्षण समिति सचिव माधव पन्थीले उपभोक्तालाई सुरक्षा सामग्री र प्रशिक्षण आवश्यक रहेको बताए ।

 

नागरिक समाजका संयोजक पदमप्रसाद पाण्डेयले बिपद्मा प्रशासनले नागरिकसंग समन्वय र उद्धारको आब्हान दुवै गर्नुपर्नेमा जोड दिए । फागुनदेखि अहिलेसम्म गुल्मीमा दूई हजार एक सय हेक्टर वनक्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालय गुल्मीका रेन्जर बाबुराम न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?