इस्मामा ठुलो परिमाणमा मदिरा नष्ट

टोपलाल अर्याल गुल्मी, १३ बैशाख

गुल्मीको इस्मा गाउँपालिकाले प्रतिबन्धित नष्ट गरेको छ । बजार अनुगमनको क्रममा गत साउनदेखि फागुनसम्म बरामद गरिएका मदिरा नष्ट गरिएको गाउँपालिकाले जनाएको छ ।

 

प्रतिबन्धित पलाष्टिक जन्य मदिरा (मौसम रेड, कर्णाली गोल्ड, लिची, जुनकिरी, जलजला, किसान, शालिमार, स्पेशल सोफी) गरेर १ सय ५५ कार्टुन नष्ट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तिले जनाकारी दिए । त्यस्तै इजाजत बिना राखिएको ४ कार्टुन बियर, बर्फि सिसा, बर्फि डायमण्ड र सिसा ब्ल्याक गरेर ९ कार्टुन नष्ट गरिएको छ ।

घरेलु मदिरा २ सय ८० लिटर, मदिरा बनाउने कच्चा पदार्थ ४ सय ५० किलो नष्ट गरिएको प्रमुख प्रशासकीय अधिकृत घर्तिले बताए । सवै मदिराको खरिद मुल्य करिब ४ लाख रहेको छ । मदिराको कारण गाउँमा घरेलु हिंसाका साथै हत्या, आत्महत्या, बलात्कार लगायत अपराधका घटनामा बृद्धि भएपछि गाउँपालिकाले ०७५ सालबाट कार्यबिधी निर्माण गरेर मदिरा नियन्त्रण अभियान थालेको थियो । गाउँपालिकामा इजाजत बिना मदिरा बिक्री बितरणमा रोक लगाइएको छ ।

 

घरेलु तथा प्लाष्टिकजन्य सवै मदिरालाई उत्पादन, सेवन र बिक्री वितरणमा रोक लगाइएको गाउँपालिकाका उपप्रमुख बिमला खत्रीले जानकारी दिइन । त्यस्तै बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मदिरा सेवन र बिक्री वितरण गर्न पाइदैन् । कार्यबिधी उल्ङघन गरे उत्पादन तथा बिक्री वितरण गरे ५ हजार र सेवन गरे पहिलो पटक १ हजार जरिवाना गरिने उपप्रमुख खत्रीले बताइन् ।

 

गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय, प्रहरी, राजनैतिक दल, घरेलु तथा साना उद्योग कार्यालय, स्थानीय व्यापारी र पत्रकारको रोहबरमा मदिरा नष्ट गरेको छ । गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले आफुहरुको अभियानले मदिरा कारण हुने पारिवारीक बिचलन, अपराध, सामुदायीक न्यूनिकरण गर्न केहि हदसम्म आफुहरु सफल भएको बताए । उनले उपप्रमुखले मदिरा नियन्त्रणको नेतृत्व गरे पनि सबैको सल्लाह र सुझावमा अभियान अगाडी बढाएकोले व्यक्ति बिशेषलाई तारगेट गराउन नहुनेमा जोड दिए ।

 

नेपाली कांग्रेस इस्मा गाउँपालिका सभापति चन्द्र बहादुर महतले जनप्रतिनिधी स्वयमनै गैरजिम्मेवार र स्थानीय सरकार पक्षकै दलका नेताहरुको असहयोगका कारण गाउँपालिकाले मदिरा नियन्त्रणमा सोचे अनुसारको काम गर्न नसकेको बताए । उनले अहिलेसम्म मदिरा नियन्त्रणमा गरिएका सवै प्रयत्न समुदाय र नागरिकका लागि सकारात्म भएकाले आफुहरुको पूर्ण साथ रहेको प्रतिक्रिया दिए ।

 

त्यस्तै नेकपाका नेता नारायण पैयानीले जिल्लाका सवै स्थानीय तह र प्रशासन कार्यालयको मदिरा नियन्त्रणमा एकमत नभएका कारण इस्मामा चुनौति रहेको बताए । ‘जनप्रतिनिधीलाई दलगत दवाव आउने बिषय स्वभाविक हो,’उनले भने,‘मदिराले समाजमा पारेको प्रभावको बारेमा बिश्लेषण सवैले गरेर सहयोग गर्नुपर्छ ।’ घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख लक्ष्मण घिमिरेले मदिरा र अनुगमनको बिषयमा जिल्लाका अरु स्थानीय तहले इस्माबाट सिक्नुपर्ने बताए ।

कुनै न कुनै दलबाट निर्वाचित जनप्रतिनिधीलाई अनुगमन र मदिरा नियन्त्रण गर्न चुनौती हुँदाहुँदै पनि उपप्रमुखनै अग्रभागमा खटिनु महत्वपूर्ण र सिकाईको बिषय भएको घिमिरे बताए । उनले सवै स्थानीय तहसंग अनुगमन र उपभोक्ता सचेतनाको लागि आफुहरु सहजीकरण गर्न तत्पर भएको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?