बिनाकाम लुखुर लुखुर सडकमा डुल्दा यसरी परिन्छ प्रहरीको फन्दामा

जनार्दन घिमिरे
गुल्मी, २६ वैशाख – के तपाँई बिना काम सडकमा लुखुर लुखुर अनावश्यक रुपमा डुलीरहनु भएको त छैन ? ख्याल गर्नु होला है ! अत्यावश्यक काम बाहेक यसरी लुखुर लुखुर हिड्ने बानी छ भने आजैदेखि छोड्नु होला । नभए तपाँई पनि बैशाखको टण्टलापुर घाममा घामको तातोतातो रापसँगै पसिना पुछ्दै चौरमा बस्नु नपर्ला भन्न सकिदैन ।

घटना आईतबार अपरान्ह तिरको हो । गुल्मीको सदरमुकाम तम्घास स्थीत चिदिचौरमा सामाजिक दुरि कायम गरि टक्लाक टुक्लुक बसिरहेका युवादेखि वृद्ध उमेरसम्मका व्यक्तिहरु देख्दा जो कोहीले पनि सहजै अनुमान गर्न सक्दथ्यो पक्कै पनि भारतबाट आफ्नो घर फर्केका हरु सवारी साधनको पर्खामा बसेका होलान भनेर सहजै जो कसैले पनि अनुमान लगाउन सक्थ्यो । मनमा कौतुहल जाग्यो र नजिकै गएर सुरक्षाकर्मीलाई सोध्दा उनीहरु भारतवाट आएका नभई सदरमुकाम तम्घास बजारमा बिनाकाम सडकमा डुलीरहेका व्यक्तिहरु रहेछन् ।

एकै छिन अगाडि सुनसान सडकमा मस्तसँग गफ चुट्दै हिडेका र कामको बाहाना बनाएर निषेधाज्ञाको कुनै वास्ता नगरि सडकमा भौतारी रहेकालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले चिदिचौरमा आईतबार केही समय भएपनि चौरमा राम्रैसँग घाम तपायो । प्रहरीले उनीहरुलाई घाम मात्र तपाएन उनीहरुलाई आईन्दा यसरी सडकमा बिना काम लुखुरलुखुर डुल्न हुँदो रहेनछ भनेर एउटा गतिलो पाठ समेत सिकायो ।

केही बेर अघि मस्की मस्की गफ चुट्दै हात्तिको चाल जस्तै गर्बसाथ हिडेकाहरुको यसरी चौरको बिचमा कैदी बन्दी जस्तै लाजले मुन्टो झुकाएर बस्नु पर्दा धेरैलाई लाज समेत लागेको थियो । बिनाकाम बाहिर निस्कदा यसरी प्रहरीको फन्दामा परिन्छ र कार्वाही खानुपर्छ भन्ने उनीहरुले यसरी कल्पनासम्म गरेका थिएनन् । ‘म मिस्त्री हुँ, सामान लिन जान भनेर निस्केको थिए मलाई पनि छोप्यो’ नाम प्रकाशित नगर्ने शर्तमा ति व्यक्तिले गुनासो गर्दै थिए । ‘हाम्रो फोटो नखिच्नु है दाइ ?’ चौरमा बसिरहेकी ती युवतीले लाजले मुन्टो निहुराउँदै भन्दैै थिईन ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईले यस्तो विषम परिस्थितिमा निषेधाज्ञाको उलंघन गरि यसरी अनावश्यक रुपमा घरबाहिर ननिस्कन आग्रह गर्दै उनीहरुलाई सम्झाउँदै थिए । ‘पहिलो पटक आज हामी हजुरहरुलाई पाठ सिकाएर सम्झाएर पठाउँदै छौ यदि भोली पनि केही यसैगरि अनावश्यक रुपमा बजारमा लुखुरलुखुर डुल्दै गरेको भेटिएमा हामी हजुरहरुलाई थप कार्वाही गर्न बाध्य हुनेछौंं’ सम्झाउने क्रममा उनले भन्दै थिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले आईतबारदेखि यसरी अनावश्यक रुपमा सडकमा हिड्ने मानिसलाई कार्वाही गर्न शुरु गरेको छ । प्रहरीको शुरु गरेको यो अभियान सामाजिक सञ्जालमा पोष्ट भएपछि आम नागरिकहरुले यस कार्यलाई सकारात्मक रुपमा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?