गुल्मीको कोभिड–१९ प्रयोगशाला पुन : संचालनमा

टोपलाल अर्याल गुल्मी, २९ बैशाख

गुल्मीको कोभिड–१९ प्रयोगशाला तम्घास पुन ः संचालनमा आएको छ । गत असोज १ गतेबाट संचालनमा आएको प्रयोगशाला ५ महिनामै बन्द भएको थियो ।

जिल्लामा कोभिड–१९ को दोस्रो लहर सुरु भएपनि फेरि संचालनमा ल्याइएको गुल्मी अस्पताल प्रमुख डाक्टर उत्तम पच्याले बताए । प्रयोगशाला संचालनको दिर्घकालिन योजना अझै नभए पनि तत्काल स्थानीय तहहरुकै सहयोगमा प्रयोगशालामा परिक्षण सुरु गरिएको पच्याले बताए ।

प्रयोगशाला संचालनको लागि सुरुमा प्रत्येक नगरले १५ र गाउँपालिकाले १० लाखका दरले सहयोग गर्ने निर्णय गरेका थिए । तर, पछि सहमति अनुसारको रकम नदिएपछि ५ महिना प्रयोगशालाका कर्मचारी पारिश्रमीक बिहिन भए ।

त्यसपछि गत फागुनदेखि प्रयोगशाला बन्द भएको थियो । अहिले स्थानीय तहहरुले सहमति अनुसारको रकम दिएका छन् । भने पुन संचालनको लागि प्रति नगर ३ र गाउँपालिका २ लाखका दरले सहयोग गरिरहेको जिल्ला समन्वय समिति प्रमुख एवं गुल्मी अस्पताल तम्घास व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण पराजुलीले जानकारी दिए ।

प्रयोगशाला गुल्मी अस्पताल तम्घासले संचालन गर्नेछ । स्थानीय तहले सहमति अनुसारको रकम दिएपछि प्रयोगशालामा पारिश्रमीक बिहिन भएका कर्मचारीले अब पारिश्रमीक पाउनेछन् । अब केहि दिनमा पहिले प्रयोगशालामा काम गरेका कर्मचारीहरुले कोभिड भत्ता र पारिश्रमीक उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले जानकारी दिइन् ।

अब परिक्षणको लागि रुपन्देही पुग्नु नपर्ने भएकाले परिक्षणको दायरा पनि बढाउँदै लैजाने प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् । रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले तीन वटै सरकार प्रयोगशालाका बिषयमा गम्भीर नभएसम्म प्रयोगशालाको दिर्घकालिन योजना बनाउन नसकिने बताए ।

उनले स्थानीय तहहरुले मात्रै क्षणिक रकम उठाएर संचालन गर्न कठिन हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?