गुल्मीमा एकीकृत नमुना बस्ती , ५० विपन्न परिवारका नयाँ घर बन्दै

 

 

हुमाकान्त पोखरेल÷गुल्मी – निर्वाचनमा भोट माग्न आउदा अनेक थरीका आश्वासन दिन्थे, तर विश्वास नै लाग्ने थिएन ।’ मदाने गाउँपालिका –३ सिर्सेनीकी पुतली विकले भनिन्, ‘अहिले घर बनेको छ, नेता र सरकारप्रति भरोसा बढेको छ ।

 

’ विक सिर्सेनीको लम्पन पहिरोबाट पीडित हुन् । पहिलेदेखि नै पहिरो जाने र ०७२ को भुकम्पले झन बढी क्षति हुँदा घरमा बस्न सक्ने स्थिति थिएन । तैपनी जसोतसो गुजारा चलाएकी उनको घर जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थान तथा स्थानीय पूर्वाधार गुल्मीमार्फत निःशुल्क रुपमा बन्यो । त्यसपछि उनी ढुक्कसँग निदाउन पाएकी छिन् । ‘माथि (लम्पन) पहिरोको डर थियो, रातिमा निदाउनै सकिने थिएन ।’ उनले भनिन्, ‘अब त बाँच्ने आशा पलाएको छ ।’

 

सोही ठाउँकै मेघ बहादुर विकको परिवार पनि ढिलोमा असार मसान्तसम्म नयाँ घरमा बसाइ सर्छन । उनी पनि लम्पनकै पहिलो पीडित हुन् । पुतलीको घर बनाएर सकिएपनि मेघ बहादुरको घर बने अझै पुरा भएको छैन । घर बनाएबापत तीन लाख रकम बुझ्ने उनले अहिलेसम्म दुई लाख लिइसकेका छन् । ‘दुई लाखमा तालो पुर्नेसम्मको काम भयो ।’ उनले भने, ‘अर्को किस्ताको रकमले घर छाउने हो ।’ पहिले आफुहरुलाई राम्रो घरमा बस्ने आशा नलागेपनि सरकारले पुरा गर्न लागेकोमा धन्यवाद् दिए । सिर्सेनीमा लम्पन पहिलोबाट पीडित १९ घरलाई खन्युखर्कमा बस्ती स्थानान्तरण गर्न लागिएको छ ।

 

धुर्कोट गाउँपालिका –७ वाग्लाको कोत नजिकैको बस्ती तलबाट मोटरबाटो खन्दा सिंगो बस्ती जोखिममा प¥यो । पहिरोले तीन घर लग्यो पनि । जोखिमलाई मध्यनजर गर्दै जनप्रतिनिधिहरुको पहलमा जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थान तथा स्थानीय पूर्वाधार गुल्मीमार्फत घर तथा जिल्ला आयोजना कार्यान्वयन इकाई पाल्पामार्फत पूर्वाधारको काम हुनेगरी बस्ती स्थानान्तरणको काम अगाडी बढ्यो । बडाचौरमा स्थानान्तरण गर्न थालिएको एकीकृत बस्तीको अहिले अहिले करिब ८० प्रतिशत काम सम्पन्न भएको छ ।

 

एकीकृत बस्ती निर्माण उपभोक्ता समिति अध्यक्ष एवम् लाभग्राही जालपा विकले ढिलोमा असार मसान्तसम्म आफुहरु नयाँ घरमा बसाई सर्ने जानकारी दिइन् । ‘धमाधम घर बनाउने कार्य अगाडी बढेको छ, ढिलोमा असार मसान्तसम्म काम सक्छौ ।’ उनले भनिन्, ‘नयाँ घरमा बस्ने कुराले खुसि छाएको छ ।’ वाग्लाको बडाचौरमा ०७५ सालमा ३६ लाखमा २३ रोपनी जग्गा खरिद गरिएको थियो । उक्त जग्गा अहिले १८ जनाको नाममा छ भने घर सम्पन्न भइसकेपछि व्यक्ति–व्यक्तिको नाममा बनाउने प्रक्रिया सुरु हुनेछ ।

पूर्वाधारमा अढाइ करोड

एकीकृत नमुना बस्तीको लागि पूर्वाधार निर्माणको काम पनि भइरहेको छ । बस्तीमा पुग्नको लागि पक्की मोटरबाटो, मेसिनरी वाल, नाली, गेट, खानेपानीका ट्याङ्कि, घडेरी सम्माउने लगायका काम पूर्वाधारको बजेटअन्तरगत निर्माण हुँदैछन् । वाग्ला र सिर्सेनीको खन्यूखर्क र बडाचौर गरी जिल्लाका तीन स्थानमा एकीकृत नमुना बस्ती निर्माण हुँदैछन् ।

 

उक्त बस्तीको लागि प्रति परिवार चार लाखको दरले पूर्वाधारको लागि बजेट खर्च भइरहेको छ । वाग्लाको बडाचौरमा ८२ लाख ६९ हजार ३८४, सिर्सेनी खन्यूखर्कमा ७६ लाख तथा सिर्सेनीकै काफलपाटामा ४४ लाख रकम पूर्वाधारको लागि बिनियोजन भएको छ । तीन ठाउँमा पूर्वाधारमा मात्रै दुई करोड दुई लाख ६९ हजार ३८४ रकमको काम भइरहेको छ ।

शौचालय नहुँदा समस्या

सरकारले प्रति घर निर्माणको लागि तीन÷तीन लाखका दरले लाभग्राहीलाई वितरण गर्छ । तर एकीकृत बस्तीमा निर्माण हुँदै गरेका घरमा शौचालयको डिजाइन नै नहुँदा भने समस्या परेको छ । कतिपय ठाउँमा तीन लाख रकममा शिर्षक विभाजन गरेर शौचालय बनाउन लगाइएको छ भने कतिपयमा शौचालय आफै बनाउन भनिएको छ ।

 

वाग्लाका वडासदस्य ढुण्डिराज घिमिरेका अनुसार राज्यले शौचालय बनाउने रकम थप गरिदिनुपर्ने बताए । डिजाइनमा शौचालय नभएको र आफैले खर्च गरेर बनाउन सक्ने स्थिति नरहेकोले केही रकम थप गरिदिनुपर्ने उनको भनाई छ । शौचालय बनाउनको लागि धुर्कोट गाउँपलिकाले सिमेन्ट र पाइप दिने भनेपनि त्यो पनि अपुग हुने उनले बताए । खन्युखर्कको बस्ती निर्माण उपभोक्ता समिति अध्यक्ष विष्णु बहादुर विकले सुरुमा घर बनाउन तीन लाख भनेको तर पछि त्यही रकमलाई टुक्राएर दुई लाख ७५ हजार घर निर्माण र २५ हजारमा शौचालय बनाउने गरी आफुहरुलाई कार्यालयले जानकारी गराएको बताए ।

कुल ५० घर बन्दै

आगामी असार मसान्तसम्म जिल्लाका ५० विपन्न परिवारको लागि नयाँ घर बन्दै छन् । वाग्लाको बडाचौरमा १८, सिर्सेनीको काफलपाटामा १३ र खन्युखर्कमा १९ घर निर्माणाधिन छन् । सबै घरको दोस्रो किस्तासम्म प्रदान गरिएको छ भने अब तेस्रो किस्ता दिन बाँकी छ । पहिलो किस्तामा ५० हजार तथा दोस्रो किस्तामा एक लाख ५० हजार गरी दुई लाख लाभग्राहीले लिइसकेका छन् भने अब तेस्रो किस्तास्वरुप एक लाख दिन बाँकी छ ।

 

जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थान तथा स्थानीय पूर्वाधार गुल्मीका निमित्त कार्यालय प्रमुख यज्ञ प्रसाद रिजालका अनुसार लाभग्राहीले शौचालय बनाएपछि र घर छाएपछि वा छाउनको लागि तयारी अवस्थामा राखेपछि तेस्रो किस्ता प्रदान गरिनेछ । सरकारको मापदण्डअनुसार घर निर्माण गरेकोले शौचालयको लागि छुट्टै रकम नआउने र सोही रकमबाटै शौचालय बनाउनुपर्ने उनको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?