आमासँग असई,छोरीसँग प्रहरी जवान भेटिएपछि…


प्रेम सुनार

 

गुल्मी । यतिबेला देशभर कोरोना महामारी छ । दुई जिल्ला बाहेक देशभरका अधिकांश स्थानमा निषेद्याज्ञा छ । जनता आ– आफ्नो घरमा छन् भने सुरक्षाकर्मीहरु सुरक्षामा खटेका छन् । तर,गुल्मीका दुई जना सुरक्षाकर्मी भने जनताको सुरक्षामा भन्दा अनावश्यक तथा अनैतिक क्रियाकलापका कारण जनताबाटै कुटिएका छन् ।

 

घरयासी झगडा मिलाउन पुगेका एक जना प्रहरी सहायक निरीक्षक (असई ) र उनीसंगै पुगेका एकजना प्रहरी जवान केहि दिन अघि गुल्मीको एक गाउँमा स्थानीद्वारा बन्धक बनाइएको खबर हालै बाहिरिएको छ । यो जेठ ७ गते राति गुल्मीको ईस्मा गाउँपालिका वडा नम्वर–१ मल्दी गाउँको एक दलित परिवारमा भएको घटना हो।

 

 

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार त्यसराति हस्तीचौर प्रहरी चौकीका प्रमुख असई बिष्णु गाह र प्रहरी जवान बिरेन्द्र केसी त्यस दलित परिवारमा छोरा मानिस नभएको बेला त्यस घरकी आमासँग अलग–अलग स्थानमासंगै फेला परेका हुन । त्यसरात खानपिन गरि आमासँग बंगालो (गोठ ) मा असई गाह र छोरीसँग घरको मूल ओछ्यानमा प्रहरी जवान भेटिएका थिए ।

त्यसअघि पनि असई गाह ती महिलाको घरमा आउने जाने गरेको र रक्षक नै भक्षक भएको भन्दै स्थानीबासी जुटेर असई र ति महिलासँगै रहेको गोठको कोठामा ताला मारेर रातभर थुनेका थिए भने छोरीसँग घर भित्र बसेका प्रहरी जवान केसीलाई स्थानीयले निर्घात कुट्दै रातभर खाँबोमा बाँधेर राखेका थिए।

 

सो घटनाका सम्वन्धमा जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेसंग सम्पर्क राख्दा उनले त्यसको अघिल्लो दिन ती आमा पर्ने महिलाले बुहारी अर्कै केटासँग अवैध सम्वन्ध राखेको आरोप लगाउँदै हस्तीचौर प्रहरी चौकीका असई गाहालाई बोलाएर गएको बताए ।

 

छलफलमा आई उसै दिन चौकीमा फर्केको र फेरी तिनै महिलाले छलफल मिल्न नसकेको भन्दै बोलाएर अर्को दिन गएको तर, अवैध सम्वन्ध नराखेको डिएसपी पाण्डेको दावी छ । उनले प्रहरी जवान केसीलाई निर्घात कुटपिट गर्नेहरु मध्ये ३ जनालाई पक्राउ गरिएको जानकारी दिए । ‘त्यस रात घरको मूल ओछ्यानमा बसेर सिपाही –( प्रहरी जवान ) रक्सी पिउँदै छोरीसँगग बसेका थिए ।

 

‘असई साव बंगालोमा आमासंग बस्नु भएको थियो।’ छिमेकी महिला हसनु नेपालीले भनिन–‘ असई साव र ती महिला सुतेको बंगालोमा बाहिरबाट बन्द गरेर राखेका हौं , उता घर भित्र छोरीसँग रहेका सिपाहीलाई दुई–तीन पटक बाहिर निस्कनुस सर भनेर भन्दा पनि नमानेर भाग्न खोजे पछि केटाहरुले समात्ने क्रमा हातपात कुटपिट पनि गरेर खाँबोमा बाधेर राखेका हौं । ’

 

आफूलाई असईसँग आरोप लागेपछि बुहारीलाई पनि आरोप

स्थानीयवासीले आफूहरु अन्यायमा परेको गुनासो गरेका छन् । ती छिमेकी महिला नेपाली भन्छिन –‘असई साव यसपाली मात्रै होइन धेरैपटक ती महिलाको घरमा आएर चार पाँच दिनसम्म बस्ने,रक्सी पिउने गर्दै आउनु भएको थियो । जसका कारण बुहारीले सहन नसकेर झै–झगडा चल्न सुरु भएको थियो । बुहारीले असईसँग बस्ने गरेको आरोप लगाएपछि सासु चाँहिले तँ पनि फलानोसँग लागेकी छस् भनेर आरोप लगाउँदै प्रहरीलाई बोलाइन् ।’

 

उनले थपिन् ‘हस्तीचौर प्रहरी चौकीबाट चार जना प्रहरी आएका थिए । दुई जना उसै दिन आएर फर्किए । तर , असई साव र सिपाही त्यही घरमा बसेका थिए । प्रहरी जस्ता मान्छे एक दिन होइन,दुई दिन होइन सधै ती महिलाको घरमा आउने बस्ने गरेपछि हामी दुई चारजना छिमेकी मात्र होइन , सय डेढ सय जना जम्मा भयौं र बाँध्ने–थुन्ने गरेका हौं।’

 

त्यस घरकी आमा भनिएकी ती महिलाको श्रीमान सात आठ वर्षदेखि विदेशमा बेपत्ता भएको बताइएको छ । स्थानीय अर्की महिला निरु राउतले भनिन् –‘आमासँग असई साव बंगालोमा सुतेको भेटेपछि हामीले ढोका थुन्यौं । छोरीसँग सिपाही घरको मूल ओछ्यानमा देखेपछि दुई–तिन फेर बाहिर निस्कनुस् सर भन्यौं , नमाने पछि हामीहरुले थुन्न कुट्न बाध्य भएका हौं।’

 

छिमेकी महिलाहरुले सासु र असई बीचको सम्बन्धका कारण उनकी निर्दोष बुहारी अन्यायमा परेको बताए । असई गाह दुई चार दिनको विदा समेत उनै महिलाको घरमा आएर बिताउने गरेको छिमेकीहरुको भनाई छ। उनीहरु आमा छोरी र बुहारी समेतको प्रतिकृया लिन खोज्दा तिनै जना प्रहरीले लगेर गएको स्थानीयले बताए । इस्मा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक विमला खत्री संग सम्पर्क राख्दा उनले स्थानीयले खबर गरे पछि आफू अर्को दिन त्यस घरमा गएर ढोका खोलेर असईलाई बाहिर निकालेको र बाँधेर राखिएका प्रहरी जवानको डोरी आफुले फुकाएर पठाएको बताइन् ।

 

उनले असई सहित प्रहरी जवान त्यसरी महिला भएको घरमा धेरै पटक आउने बस्ने गरेको स्थानीयले बताएको जानकारी दिइन् । उनले भनिन–‘ ठुलो गल्ती प्रहरीको छ तर प्रहरी जवानलाई कुट्न र बाँध्नु चााँही नहुने त्यसमा चााँही स्थानीयको पनि गल्ती छ ।’ स्थानीय अगुवा समाज सेवीहरुले त्यस्ता प्रहरीलाई कार्बाही गर्नुको साटो प्रहरीका ठुला मान्छेहरुले बचाउने चलखेल गरेको आरोप लगाए ।

 

यस आरोपका सम्वन्धमा डिएसपी पाण्डे भन्छन–‘अवैध सम्वन्ध राखेको र मदिरा सेवन गरेको उनीहरुले होईन तर पनि उनीहरुको कृयाक्लाव प्रहरी आचरण अनुसारको छैन । हामी विभागिय कारबाही गर्नेछौं र कुटपिटमा संलग्नहरुलाई पनि कानून अनुसार कारबाही हुन्छ ।’ स्थानीय समाजसेवीहरुले भने ती दुबै जना प्रहरीलाई कारवाहीही हुनुपर्ने माग गर्दै यदि नगरिए आफूहरु गाउँवासी उठेर प्रहरी कार्यालय मै दबाब दिने चेतावानी दिएका छन् ।

ग्लोबल आवाज बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?