निर्वाचनमा आवश्यकता अनुसार गठबन्धन हुन्छ : महामन्त्री थापा

 

 

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार गठबन्धन हुने बताउनुभएको छ । बनेपास्थित नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्नेसमेत दाबी गर्नुभयो ।

 

“कुन पालिकामा कुन दलसँग गठबन्धन गर्ने भन्ने कुरा पालिका समिति, जिल्ला कार्यसमितिलगायत जिल्ला तहबाटै निक्र्योल गर्ने हो, यसो गर्दा मात्रै उपलब्धि हासिल गर्न सकिन्छ”, थापाले भन्नुभयो । केन्द्र निर्देशित गठबन्धनले स्थानीय निर्वाचनमा अपेक्षित उपलब्धि प्राप्त गर्न निकै गाह्रो हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन सरकारले तोकिएकै समयमा हुन्छ, कसैले हुन्न भन्ने हल्ला गरेर नहुने होइन, ढुक्क हुनुस् सरकार निर्वाचन गर्न तत्पर छ ।”

 

नेता थापाले टोल समितिले पार्टी बलियो हुने बताउनुभयो । उहाँले पार्टी सङ्गठनको सबैभन्दा तल्लो निकाय टोल समिति रहेकाले सबैभन्दा बलियो बनाउनुपर्ने उल्लेख गर्दै टोलटोलमा कांग्रेसको समिति बनाएर पार्टीलाई बलियो बनाउन निर्देशनसमेत दिनुभयो । “टोलटोलमा कांग्रेसलाई क्रियाशील बनाउन जरुरी छ, यसले मात्रै पार्टी बलियो हुन्छ”, उहाँले दोहो¥याउनुभयो ।

 

नेता थापाले प्रधानन्यायाधीश चोेलेन्द्रशम्सेर राणाविरुद्धको महाअभियोग स्वाभाविक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँमाथि थुप्रै आरोप छन्, न्यायालयलाई ध्वस्त पार्ने उहाँकै भूमिका हो ।” उहाँले आफू निकै अघिदेखि प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोगको पक्षमा रहेको दाबीसमेत गर्नुभयो ।

 

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले फागुन १ गतेदेखि वडास्तरमा सङ्गठन विस्तार अभियान सञ्चालन गरिरहेको छ । ७ गतेसम्म सङ्गठन विस्तार अभियानअन्तर्गत वडास्तरमा भातृ सङ्गठन विस्तार, सदस्यता वितरण तथा टोल समितिसमेत गठन गर्ने जनाइएको छ । पार्टी सङ्गठनलाई सुदृढ एवं चलायमान बनाउने अभियानअन्तर्गत नै जिल्लाका छ नगरपालिका र सात गाउँपालिकाको १३५ वडामा सङ्गठन विस्तार गरिने उपाध्यक्ष रमेशप्रसाद हुमागाईँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?