कृषि ज्ञान केन्द्रको सुन्तला बगैंचा सुदृढीकरण अभियान , जनप्रतिनिधि सहित किसान सङ्ग छलफल देखि निशुल्क कृषि औजार सम्म

कृषि ज्ञान केन्द्र गुल्मीले सुन्तला बगैंचा सुदृढीकरण अभियान कार्यक्रम संचालन गरेको छ ।

छत्रकोट गाउँपालिकाका सुन्तला किसानहरु सङ्ग केन्द्रले कार्यक्रम सम्पन्न गरेको छ । कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीको उपस्थितिमा आज किसान सङ्ग अन्तर्कृया एवं कृषि औजार बितरण कार्यक्रम सम्पन्न गरेको हो ।

गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्त , उपाध्यक्ष नर्मदा भण्डारी , वडा न ३ का वडा अध्यक्ष तेजकान्त अर्याल , वडा न ४ का वडा अध्यक्ष डिलाराम न्यौपाने , कृषि ज्ञान केन्द्रका अधिकृत शिव प्रसाद बन्जाडे , प्रकाश मरासिनी ,अगुवा किसान , समुहका अध्यक्ष एवं किसानहरुको बिचमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले छत्रकोट गाउँपालिकाका सुन्तला किसानका हरेक समस्या समाधानका लागि गाउँपालिका र आफू प्रतिबद्ध भएको भन्दै गाउँपालिकामा माग गर्न आउन आव्हान गर्नुभयो ।

कार्यक्रममा बोल्दै ज्ञान केन्द्र प्रमुख भण्डारीले बिजु बिरुवामा जरा कुहिने समस्या देखिएकाले कलमी बिरुवा तर्फ किसानहरु आकर्षित हुनुपर्ने बताउनु भयो । भण्डारीले कलमी बिरुवा बनाउने तालिम र नर्सरीको लागि ज्ञान केन्द्रले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । प्रमुख भण्डारीले ज्ञान केन्द्रले आगामी कार्यक्रम बनाउदा स्थानिय तह सङ्ग समन्वय गरेर बनाउने बताउदै अर्को बर्ष के के कार्यक्रम लागू गर्दा वास्तविक किसानले लाभ पाउँछन् त्यस्ता कार्यक्रम ल्याउने बताउनुभयो ।

अगुवा किसान एवं कार्यक्रमका अध्यक्ष बिष्णु प्रसाद पन्तले अमिलो जात फलफुलमा किरा लाग्ने समस्याले बिकराल रुप लिएको भन्दै फेरोमेन ट्र्यापको नि शुल्क ब्यवस्थापनका लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा उपस्थित किसानहरुलाई कृषि ज्ञान केन्द्र गुल्मीले मरुत स्प्रेयर ३ थान , आरि २६ थान , सिकेचर १४ थान , निलोतुथो र चुना ६/६ केजि निशुल्क बितरण गरिएको छ ।

कार्यक्रममा उपस्थित किसानहरुलाई सुन्तला बगैंचा ब्यवस्थापन गर्ने तरिका , रोग किरा नियन्त्रण , हाँगा काटछाट , निलोतुथो पेष्ट बनाउने र लगाउने तरिकाको बारे प्रयोगात्मक ज्ञान समेत दिइएको थियो ।

छत्रकोट गाउपालिकाको काउले , श्रिङ्गा आसपास बाट मात्रै बार्षिक करीब २ करोडको सुन्तला निर्यात हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?