मधुको उपचारमा गुल्मी प्रहरीको एक लाख बढि सहयोग

दुवै मृगौला फेल भएपछि सहयोगको याचना

टोपलाल अर्याल
गुल्मी, ५ फागुन

दुवै मृगौला फेल भएपछि मधुको शारिरीकसंगै परिवारको मानसिक पीडामा गुल्मी प्रहरीले मलहम लगाएको छ । ट्राफिक प्रहरीमा कार्यरत गुल्मीको इस्मा गाउँपालिका ४ दोहली ढाँडका २२ बर्षीय मधु खत्री अहिले अस्पतालको शैयामा छन् । उनको उपचारमा गुल्मी प्रहरीले एक लाख छ हजार दुई सय ७० रुपैयाँ सहयोग गरेको हो ।

बिहिबार जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईले मधुको आमा पुनकला खत्रीलाई रकम हस्तान्तरण गरेका छन् । उनले स्वास्थ्य लाभको कामना गर्दै मधु र परिवारको पीडामा आफुहरु पनि संगै भएको महसुस गराउन सहयोग गरेको बताए ।

जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय र मातहतका सवै युनिटहरुमा कार्यरत प्रहरी कर्मचारीबाट स्वतस्फूर्त संकलित रकम हस्तान्तरण गरिएको भट्टराईले बताए । ‘साथ र सहयोग बिपद् र दुखमा हो । हामी पनि प्रहरी संगठनभित्रको सदस्य मधुको दुखले पीडा महसुस भएको छ,’उनले भने,‘उनको स्वास्थ्य लाभको कामनासहित सहयोग गरेका छौ ।

त्यस्तै मधुको उपचारमा सशस्त्र प्रहरी नायक उपरिक्षक अशोक कुमार लम्सालले नगद पाँच हजार सहयोग गरेका छन् । एउटा राष्ट्रसेवक कर्मचारी आर्थिक अभावको कारण उपचारको लागि छटपटिएको पीडामा सानो सहयोग गरेको लम्सालले बताए ।

सहयोग रकम बुझ्दै मधुकी आमा पुनकला खत्रीले गुल्मी प्रहरीका कारण ठुलो राहतको सास फेर्न पाएको बताइन् । मधुको मृगौला फेल भएका सात महिना सुरु भए । जसका कारण बुवा ५८ बर्षीय प्रेम बहादुर खत्री मृगौला दिने योजनामा छन् । उपचारमा करिव १५ लाख लाग्ने अस्पतालले जनाएको छ । परिवारसंग गाउँको रुखो बारी बाहेक केहि छैन् । छोराको भविष्य र आर्थिक समस्याको कारण परिवार संकटमा परेको छ ।

मधु राष्ट्रसेवाको सपना बोकेर ट्राफिक प्रहरीमा प्रवेश भर्खरै दुई बर्ष पुगेका छन् । गत असारमा बिहे गरेका थिए । काँधमा देश र परिवारको कर्तव्य । त्योसंगै हुर्किदै गरेको जोडी र माया । दम्पतीसंग उमेर र परिस्थीति अनुसारका कैयन योजना थिए होलान । दैव निष्ठुरी बन्यो । उनलाई बिहे गरेकै दुई महिनामा ठुलो स्वास्थ्य समस्या देखियो ।

खत्री काठमाण्डौ स्थित वग्गीखानामा कार्यरत थिए । पिसाबमा केहि समस्या आएपछि परिक्षण गर्दा दुवै मृगौला फेल भएको पत्ता लाग्यो । शरिर मात्रै कम्जोर भएन । सपनामा समेत चोट प¥यो । तर, सामना नगर्नुको अर्को बिकल्प देखिएन ।

सामान्य परिवारका खत्री । जसलाई जटिल स्वास्थ्य समस्या देखियो । मधुका दुवै मृगौला फेल भएपछि परिवार पीडाले बिक्षिप्त भएको छ । उनले केहि उपचार प्रहरी अस्पतालमा गरे । तर, अबका उपचार आफैले गर्नुपर्ने छ । अस्पतालले प्रत्यारोपण गर्ने बेलासम्म करिव १५ लाखको जोहो गर्न आग्रह गरेको खत्रीले बताए । राष्ट्रसेवकको पनि उपचार सरकारले गर्दैन ।

उनको घरखेत गरे पनि १५ लाख पुग्दैन् । मधुले प्रहरी युनिटहरु र केहि साथीसंगीहरुले अभियान संचालन गरिरहेकाले सवैलाई सक्दो सहयोग गर्न आग्रह गरे । ‘अहिले मैले देखेको सपनाभन्दा बाँच्ने कुरा ठुलो रह्यो । सरकारले केहि गर्दैन रे इष्टमित्रहरुको आर्शिवाद र सहयोग पाए बाँच्ने हो,’उनले भने,‘गुन फर्काउन सकौला वा नसकौला कृपया सहयोग गर्नुहोला ।

’ मधु खत्रीको राष्ट्रिय बाणिज्य बैंकको खाता नं ३१००१००००१२८८१०४ मा सहयोग गर्न सकिने छ । सम्पर्क नम्बर ९८४०५८४९१० मा सम्पर्क गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?