खजुरामा भेटिएको बम चार घण्टापछि निस्क्रिय

 

खजुरा । बाँकेको खजुरा बजारमा भेटिएको प्रेसर कुकर बम डिस्पोज गरिएको छ । मंगलबार बिहान भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय बनाएको हो । सेनाले करिब चार घण्टापछि डिस्पोज गर्न सफल भएको छ ।

 

मंगलबार बिहान करिब ७ बजेको समयमा स्थानीयले चोकमा शंकास्पद देखेपछि प्रहरीलाई खबर गरेका थिए । घट्नास्थलमा प्रहरीले हेर्दा शंकास्पद देखिएपछि खजुरा क्षेत्र सिल गरेर बम निस्क्रिय बनाइएको बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

 

मनकामना चोकमा रहेको राष्ट्रिय झण्डामुनि इट्टाले लुकाएर राखिएको अवस्थामा उक्त बम भेटिएको थियो । बम भेटिएपछि खजुरा क्षेत्र त्रसिल बनेको थियो । प्रेसर कुकर बमबाहिर नो एम सिसि लेखिएको पर्चा टाँसेको देखिएको स्थानीयले बताए । चार घण्टापछि बिहान ११ बजे मात्रै उक्त बम निस्क्रिय बनाइएको हो ।

 

फागुन १६ गते एम सिसीका बिरुद्ध नेपाल बन्द गराएको समूहले उक्त बम राखेको आशंका गरिएको छ । बम राखिएको मनकामना चोकमा गत पुष २७ गते पृथ्वी जयन्तीका दिन राप्रपाका नेता कार्यकताले उक्त चोकलाई पृथ्वी चोकको नामाकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?