रेडियो श्रृङ्गेश्वर आजदेखि छैठौँ वर्षमा प्रवेश

 

 

रेडियो श्रृङ्गेश्वरले आज स्थापनाको छैठौँ वर्षगाँठ मनाउंदै छ । यस अवसरमा रेडियोले दिउँसो विविध कार्यक्रमहरु आयोजना गरेको छ । लोक रेडियो प्रा.लिद्वारा संचालित रेडियो श्रृङ्गेश्वरले २०७३ को महाशिवरात्री अर्थात आजकै दिनदेखि प्रसारण आरम्भ गरेको थियो । गुल्मीको रुरुक्षेत्र –४ बलेटक्सारमा प्रधान कार्यालय रहेको रेडियो श्रृङ्गेश्वरको छत्रकोट –३ भाालुपानीमा प्रसारणकेन्द्र रहेको छ ।

 

एफएम प्रविधिको १०४.४ मे.मा गुल्मी, अर्घाखांची, पाल्पा, बागलुङ, स्याङ्जा, प्युठान लगायत लुम्बिनी प्रदेशका सबै जिल्लाका साथै गण्डकी र कर्णाली प्रदेशका केही जिल्लामा सुन्न सकिन्छ । साथै इन्टरनेट माध्यमबाट  संसारभर रेडियो श्रृङ्गेश्वरको पहुँच छ । दैनिक १८ घण्टा प्रसारण गरिरहेको रेडियोले स्थानीय सरोकारका विषयवस्तुमा आधारित सामग्री प्रसारण गरिरहेको छ ।

वार्षिकोत्सवको अवसरमा संचालक समितीका अध्यक्ष धातानन्द भुसाल र स्टेशन म्यानेजर ईश्वरी प्रसाद बस्यालले विज्ञप्तिमार्फत श्रोता,विज्ञापनदाता लगायत सबैप्रति आभार व्यक्त गर्नुभएको छ । ‘बोल्दै बोलाउँदै, सुन्दै सुनाउँदै’ भन्ने नाराका साथ गुन्जिरहेको यस रेडियोका समाचारमुलक प्रस्तुतिका साथै, सुुसेली, हजुबाका कुरा, गन्थन, बौद्धिक महासंग्राम लगायतका कार्यक्रम श्रोतामाझ निकै लोकप्रिय छन्।

 

“समाचारमा तटस्थता, निष्पक्षता र विषयवस्तुको पारदर्शितालाई रेडियोले प्रधान विषय ठानेको छ सत्य निष्पक्ष र तथ्यगत सामग्री प्रसारणकै कारण हामी श्रोता माझ चिनिएका छौँ ” स्टेशन म्यानेजर ईश्वरी प्रसाद बस्यालले भन्नुभयो । “आगामी दिनमा थप परिकृष्त रुपमा अघि बढ्छौं ।”  समय सापेक्ष ईन्टरनेट प्रविधिको प्रसारणमा व्यापकता र क्षमतावृद्धि अबको योजना रहेको म्यानेजर बस्यालको भनाई छ ।

 

“वर्षौँ रेडियो पत्रकारिता गरेका मेधावी सहकर्मीहरूको निरन्तर प्रयास र जुझारु संस्थापकहरूको टिमवर्कका कारण रेडियो श्रृङ्गेश्वर आजको अवस्थामा आउन सफल भएको छ” अध्यक्ष धातानन्द भुसालले भन्नुभयो “संचार दायित्वमार्फत समाज रुपान्तरणमा हाम्रो क्रियाशिलता थप वृद्धि हुँदै जानेमा विश्वस्त छौं ।” कोभिड महामारी तथा विपद्का समयमा समग्र रेडियो जगतले निर्वाह गरेको भूमिकाका कारण रेडियोको आवश्यकता र औचित्यता थप पुष्टि भएको छ ।

 

रेडियोका सहायक स्टेशन म्यानेजर तथा समाचार प्रमुख भुवन भुसालका अनुसार निर्वाचनका समयमा पालना गर्नुपर्ने आचारसंहिता र जिम्मेवारीबोधका सन्दर्भमा सबै संचारमाध्यम चनाखो हुन जरूरी छ, “विश्वसनीयता कायम राख्दै लोकप्रियता वृद्धि गर्नु चुनौतीपूर्ण तर अपरिहार्य विषय ठानेका छौं ।”

 

वार्षिकोत्सवको अवसरमा दिउसो एक औपचारिक शुभकामना आदानप्रदान कार्यक्रम समेत हुँदैछ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?