पुर्व उपप्रधानमन्त्री गौतमका गुरु गुल्मीका न्यौपानेको निधनमा मन छुने स्टाटस

 

भुबन भुसाल , फाल्गुन १९ गुल्मी ।  पुर्व उपप्रधानमन्त्री बामदेव गौतमका गुरुको निधनमा नेता गौतमले मार्मिक शव्द लेख्दै श्रद्दान्जली दिनुभएको छ । गुल्मी छत्रकोट गाँउपालिका वार्ड न ४ निवासी हिमलाल न्यौपानेको निधन भएको १० औं दिनमा नेता गौतमले सामाजिक संजाल मार्फत श्रद्दान्जली ब्यक्त गर्नुभएको हो ।
नेता गौतमले आफुले गुरु संग सिकेको ज्ञानकै कारण आफु यो स्थानमा रहेको भन्दै स्टाटस लेख्नु भएको छ । वहाँले लेख्नुभएको छ

“   स्वर्गीय गुरुप्रति भावपूर्ण श्रद्धाञ्जली !

ज्योतिष शास्त्रका विद्वान वि.स.२०१० सालदेखि आफ्नै घरमा गुरुकुल संचालन गरेर ज्योतिष शास्त्र सम्बन्धि सयौं व्यक्तिहरुलाई ज्योतिष शास्त्रको ज्ञान दिनुहुने गुल्मी जिल्लाको दिगाम निवासी गुरु हिमलाल न्यौपानेको सय वर्षको उमेरमा यही फागुन १० गते दिगाम स्थित आफ्नै निवासमा दिवंगत हुनुभएको दुखद खबर भर्खरै सुने । स्वर्गीय गुरु हिमलाल न्यौपाने मेरा पनि गुरु हुनुहुन्थ्यो ।

मैले पनि उहाँले संचालन गर्नुभएको गुरुकुलमा वि.स २०१३ र २०१४ सालमा ९ महिनासम्म ज्योतिष शास्त्र अध्ययन गरेको थिएँ । उहाँ मृदु भाषी कुनै न कुनै श्रममा लागि रहने अध्ययनशील र सम्मानीत व्यत्तित्वको धनी हुनुहुन्थ्यो । उहाँसंग फलित ज्योतिष शास्त्रसंग सम्बन्धित चिना देखाउन र लेखाउन तथा आफ्नो भाग्यको जानकारी प्राप्त गर्न भन्दै नेपालका धेरै क्षेत्रबाट व्यक्तिहरु भेट्न आउने गर्दथे । उहाँले विनम्रतापूर्वक सम्झाई बुझाई पठाउनु हुन्थ्यो ।

उहाँको गुरुकुल आश्रममा पढ्ने छात्रहरुले ज्योतिष शास्त्रका दुबै पक्षहरु गणित ज्योतिष शास्त्र र फलित ज्योतिष शास्त्र सम्बन्धि विषयमा पढ्नु पर्दथ्यो । त्यसको व्यवहारिक ज्ञानका रुपमा विद्यार्थीहरुले भविष्यको कुनै वर्षको पात्रो तयार गर्नुपर्दथ्यो । गुरुका सिक्न लायक, पछ्याउन लायक धेरै आचरणहरु थिए । उहाँबाट मैले विनम्रता, लगनशील र श्रमशिल हुने गुण सिकें ।

म २०१४ सालमा गुरुसंग बिदा भएर घर फर्केको ४० पछि ललितपुरको एकान्तकुना स्थित मेरो निवासमा भेट्ने अवसर पाएको थिएँ । त्यसवेला उहाँका छोराहरु शालिकराम न्यौपाने र वेदप्रकाश न्यौपाने हुनुहुन्थ्यो । आज मेरो दिमागमा ६४ वर्ष पहिले परेका छापहरु सिनेमाका रिलहरु जस्तै देखापर्दै गइरहेका छन् ।

मेरो जीवनमा मलाई मार्गदर्शन गर्ने गुरुहरु धेरै हुनुहुन्छ । उहाँहरु मध्ये मैले अत्यन्त सम्मान गर्ने गुरु हिमलाल न्यौपाने हुनुहुन्थ्यो । मैले जीवनमा अनेकौं गल्ति कमजोरी सहित नेपाली जनता र नेपाल राष्ट्रका निम्ति अत्यन्त महत्वपूर्ण योगदान पनि गरेको छु । मैले जीवनमा अत्यन्त कठिन परिस्थितिको पनि सामना गरेको छु । अनवरत मेरो गन्तव्यमा एउटा महत्वपूर्ण प्रेरणाको स्रोत गुरु हिमलाल न्यौपाने हुनुहुन्थ्यो ।

म ९ वर्षको हुँदा उहाँकै आश्रममा बसेर जे जस्ता शिक्षा आर्जन गरें त्यो मेरो चरित्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने शक्तिको एउटा स्रोत थियो । गुरु हिमलालले बाचुन्जेल सक्रिय जीवन बिताउनु भएको थियो ।

मेरा आदर्श गुरु हिमलाल न्यौपाने प्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोकमा परेका परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दछु । ”

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?