छत्रदेवको अध्यक्ष उमेद्धारीमा चन्द्रमान श्रेष्ठ कांग्रेसका मुख्य दाबेदार

 

स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै राजनीतीक दलहरुबीच सम्भावित उमेद्धारीका विषयले चर्चा पाउन थालेको छ । यसबीच अघाँखाँची काँग्रेसका पाका नेता चन्द्रमान श्रेष्ठले छत्रदेव गाउँपालिका अध्यक्षमा उमेदवारी दिने मनसाय देखाएपछि यसले जिल्लाकै राजनैतीक वृतमा नयाँ तरङ्ग पैदा गरेको छ । श्रेष्ठले अबको गाउँपालिका अध्यक्षमा उमेदवारी दिने विषयलाई यहाँका अधिकांस नेता कार्यकर्ताले स्वभाविक रुपमा लिएका छन् ।

पार्टीमा लामो समयको लगाव, योगदान त्याग र धैर्यताबाट विकसित पृष्ठभूमिका कारण पनि उनलाई स्वभाविक र मुख्य दाबेदारका रुपमा स्थापित गरिदिएको काँग्रेस नेता कार्यकर्ताहरु बताउँछन् । सामाजिक सक्रियता र राजनैतीक सदाचारीता प्रदर्शन गरेका श्रेष्ठको उमेदवारी दिने निर्णयले प्रतिपक्ष र पार्टीभित्रैका अन्य आकांक्षीहरुलाई झस्काईदिएको देखिन्छ ।

तर, लोकप्रिय नारा र ‘अस्वभाविक आश्वासन’का साथ चुनाव जितेर करिब पाँच वर्ष स्थानीय सरकारको नेतृत्व गरेको उनकै पार्टीले अपेक्षित काम गर्न नसकेका कारण गिर्दो साख जोगाउने चूनौती मुख्य छ । पाँच दशक भन्दा बढी समय राजनीतीमै सक्रिय भएकाले पार्टीभित्रैका रुपान्तरण, वैचारिक तथा सैद्धान्तिक परिवर्तनको अनुभव भएका चन्द्रमान उमेरले पाका भएपनि भौतिक क्रियाशिलता र समयसापेक्ष विचारमा युवाहरुलाई राम्रो काउण्टर गर्न सक्ने नेता हुन् ।

टिकट वितरणमा आर्थिक चलखेलतर्फ सँकेत गर्दै काँग्रेस जिल्ला कार्यसमितीका एक सदस्यले भने  “…….त्यस्तो केही नभए उहाँले उमेदवारी पाउने कुरामा कुनै द्धिविधा छैन उहाँ त अघिल्लै चुनावको स्वत दावेदार नेता हुनुहुन्छ ,”  उनले भने   “चन्द्रमान दाई अगाडि आएपछि यो पटक अन्यको विषयमा धेरै छलफलको आवश्यकता नै पर्दैन भन्ने धेरै साथीहरुबाट बुझेको छु ।”

स्थानीयस्तरमा काँग्रेसको ठूलो कार्यकर्तापङ्ति र तटस्थ मतदाताको रोजाइमा समेत अन्य आकाँक्षीभन्दा श्रेष्ठकै माहौल रहेकोले पनि उनका लागि टिकट दिनु काँग्रेसलाई बाध्यकारी जस्तै देखिन्छ । काँग्रेस श्रोत भन्छ “यदि उहाँ अडिग रहने हो भने यसपटक अरुको दावी वेकार सावित हुन्छ,” ।

को हुन् चन्द्रमान श्रेष्ठ ?

छत्रदेव ०८ अर्घातोषमा जन्मिएका चन्द्रमान वि.सं २०२३ सालमा एस्एल्सी परीक्षा पास गर्न तमघास पुगेका बेला तत्कालीन तरुणदलमा आवद्ध भएसँगै राजनीतीक यात्रा शुरु भएको थियो । वि.सं २०२५ देखि २३ वर्ष त्यसबखतको अतिरिक्त हुलाकमा एजेण्टका रुपमा काम गरेका श्रेष्ठ त्यही समय राजनीती र तत्कालीन जातीय विभेदविरुद्ध पनि लडिरहे ।

नेपालमा बहुदलीय शासनव्यवस्था शुरु भएपश्चात् पहिलो पटक गठन भएको जिल्ला विकास समितीका सदस्यसँगै नेपाली काँग्रेस अर्घाखाँचीको उपसभापति बनेका थिए । पार्टीको कार्यबाहक जिल्ला सभापति समेत भएका श्रेष्ठभन्दा जुनियर नेताहरु कैयौँपल्ट लाभको पदमा पुग्दा समेत उनी कहिल्यै आन्तरिक विद्रोह वा असहयोग गर्ने दिशामा गएनन् ।

यसले गर्दा उनी अवसरका रुपमा भन्दा जिम्मेवारीका रुपमा मात्र पद लिन चाहन्छन् भन्ने प्रष्ट सन्देश प्रवाह भयो । त्यसैले पनि यसपटक श्रेष्ठलाई टिकट दिनु सिँगो काँग्रेसमाथि नैतिक दवाव छ । हाल काँग्रेस महासमिती सदस्य रहेका उनले यसपटक पालिकाको दावी नछाड्ने सँकेतसहित केहीदिन अघि काठमाडाँै, बुटवल लगायतका ठाउँमा आफुनिकटस्थहरुसँग चुनावी तयारीबारे परामर्श समेत शुरु गरिसकेका छन् ।

अध्यक्ष निर्वाचित भए के गर्ने योजना छ ?

पार्टीले टिकट दियो र गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभयो भने विकास निर्माणबारे के कस्ता योजना बनाउनुभएको छ भनी जिज्ञासा राख्दा उनले विकास र संवृद्धि समयको माग, श्रोतसाधनको उपलब्धता र प्राथमिकताका अधारमा अगाडि बढ्नुपर्छ र त्यही हुँदै आएको छ भन्ने मत राखे । उनका अनुसार यी विषय छोटो लोकप्रियता कमाउने वा प्रचारमात्र गर्ने प्रयोजनका लागि होईनन्, यी त यथासम्भव सन्तुलित विकासको प्रयास गर्ने र निरन्तर जारी रहने कुरा हुन् ।

आधारभूत सेवासुविधा लिन नपाएकै कारण मानिसहरु दिनानुदिन शहर पस्दा गाउँ रित्तिनु र यहाँका खेतीयोग्य जमिन बाँझा देख्दा यो समस्या समाधान तत्काल गर्न सबै बस्तीमा सर्वसुलभ विजुली,घरघरमा खानेपानी र सजिलो बाटोघाटो, सर्वसुलभ गुणस्तरीय शिक्षा तथा स्वास्थ्यको पहुँच नै प्राथमिकतामा पर्ने उनको भनाइ थियो ।

माटो परीक्षण र बालीनालीको सम्भाव्यता अध्ययन बिना उत्पादन बढ्न नसक्ने भएकाले त्यसतर्फ आफ्नो ध्यान रहने पनि श्रेष्ठले बताए । सावर्जनिक सेवा प्रवाहमा राजनीतीक आस्था राखेर काम गर्ने कुराको आफु सधै पक्षपाती रहेको भन्दै श्रेष्ठले भने ।” जुनसुकै तहको सरकारले जनतालाई दिने सेवा भनेको निष्पक्ष र पारदर्शी हुनुपर्छ, त्यो वातावरण नेतृत्वले बनाउने हो । सबैको साथ र सहयोगको अपेक्षा गरेको छु ।”

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?