नवौँ पटक रक्तदान गरेका पाण्डेको सँकल्प : जन्मदिन र आमाको स्मृति दिवसमा रक्तदान

 

करिब एक दशकअघि पहिलोपटक रक्तदान गरेका लक्ष्मण पाण्डेले अहिले स्वास्थ्यले साथ दिएसम्म प्रत्येक तीन महिनामा रक्तदान गर्नुहुन्छ । शरीरमा प्राकृतिक रुपमा बन्ने र नष्ट भईरहने रगत अरुको ज्यान बचाउन समेत उपयोगी हुने बुझेका पाण्डेले हालसम्म नवौँपटक रक्तदान गरिसक्नुभएको छ ।

छत्रकोट गुल्मीबाट व्यवसायका लागि काठमाडौँ पुगेका बेला शुरु गरेको यो कामलाई हाल उहाँले सँकल्पकै रुपमा लिनुभएको छ ।
तीनवर्षअघि जन्मदिनको अवसरमा रक्तदान गरेकै दिनदेखि उहाँले प्रत्येक जन्मदिन र आमाको स्मृतिदिवसमा रक्तदान गर्ने सँकल्प गर्नुभएको हो ।

“आफ्नो शरीरबाट स्वत नष्ट हुने तर त्यही चीजबिना अरु कसैको जीवन बचाउन सकिन्छ भन्ने कुरा सुन्दा सामान्य लाग्छ तर यो निकै संवेदनशील र भावनात्मक विषयसँग जोडिएको पाटो हो ।” पाण्डेले भन्नुभयो   “स्वतजागृत भएको कुरा हो पुण्य भनौँ कि आत्मसन्तुष्टि । जे होस् स्वास्थ्यले साथ दिएसम्म रक्तदान गरिरहन्छु भन्ने सँकल्प नै गरेको छु ।”

रगत अभावमा बिरामीका आफन्त भौतारिएको देख्दा नमीठो अनुभव हुने पाण्डेको भनाई छ । बुटवलमा व्यवसाय गर्दै आएका लक्ष्मणले रगतको खोजीमा रहेकाहरुलाई सकभर त्यसको प्रबन्ध गर्न समन्वय गर्ने काम पनि उहाँले गरिरहनुभएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मीका संयोजक धु्रव पाण्डेले उहाँ पहिलेदेखि नै यसमा उत्सुक र सक्रिय रहेको जानकारी आफुलाई पनि भएको बताउनुभयो । समाजले रगतको टड्कारो आवश्यकता पूर्ति गर्न रक्तदानमा प्रेरणा जगाउने काम गरिरहेको संयोजक पाण्डेको भनाई छ ।
उहाँका अनुसार एकहप्ता अघिमात्र दुर्लभ मानिएको ए नेगेटिभ रगतको २ पोका गुल्मीबाट तत्काल बुटवल पठाएर एक बिरामीलाई दिएको थियो । नेपाल रेडक्रस सोसाईटीले रक्तदानको आधिकारीकतासँगै ब्लड बैँक समेत संचालन गर्दै आएकोले यससँग सम्बन्धित कामहरु रेडक्रससँगको समन्यवमा हुँदै आएका छन् ।

उपचारका क्रममा नेगेटिभ रक्तसमूहको रगतको ठूलो अभाव रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । त्यसमा पनि खासगरी ‘एबी’ नेगेटिभ झनै दुर्लभ रहेको गुल्मीदरबार स्वास्थ्य चौकीका अहेब रामकृष्ण कंडेलले बताउनुभयो । कंडेलका अनुसार नेपाल भर ‘एबी’ नेगेटिभ समूहका मानिसहरूको प्रतिशत ०.४७ मात्र छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?