आकांक्षी स्वभाविक रुपमा हुँ, तर पार्टीले गर्ने निर्णय नै स्वागतयोग्य हुन्छ : एमाले वडा कमिटि सचिव पन्थ

समाज र राजनीती एकअर्काका अन्तरसम्बन्धित विषय हुन् । भनिन्छ, राजनीतीअनुसार समाज निर्देशित र समाजअनुसार राजनीती परिष्कृत हुन्छ । यही कारणपनि सामाजिक रुपमा सक्रिय पात्रहरु नै राजनीतीसँग जोडिएका हुन्छन् । आजको अंकमा हामी सामाजिक सक्रियतासँगै राजनीतीमा आबद्ध छत्रकोट गुल्मीका प्रकाश पन्थसँग संक्षिप्त कुरा गरेका छौँ ।

नेपाल कम्युनिष्ट पार्टी एमाले छत्रकोट गाउँकमिटि वडा नं ०४का सचिव प्रकाश पन्थ लामो समयदेखि विभिन्न संघसंस्थामा आवद्धतासँगै केही संस्थाको नेतृत्व तहमा समेत हुनुहुन्छ । खासगरी सडक र बिजुलीका क्षेत्रमा उहाँले गरेको योगदानप्रति अधिकांश दिगामेहरु खुलेर प्रशंसा गर्छन् ।

स्थानीयस्तरमा युवाहरुलाई संगठित गरी उहाँसम्मिलित युवाहरुको पहलमा स्थापना भएको क्लबले त्यहाँको खानेपानी आपूर्ति तथा लागत समेत घटाउन सकेको सफलता पनि पन्थसँगै जोडिएको छ । दिगाम कुँडारचौरमा हालै स्थापना भएको स्वर्गीय कोशल पोख्रेल खेलमैदान निमार्णदेखि सहकारीमार्फत किसानलाई सहयोग गर्ने विषयहरुमा गरेको योगदानले पन्थको समाजिक छवि थप बनाएको देखिन्छ । हाल दिगामको आदर्श मा.वि.का शिक्षक अभिभावक संघको अध्यक्ष समेत रहेका पन्थसँग देशदर्शन टीभीका अमर पन्थले गर्नुभएको कुराकानीको संपादित अंश :

तपाई नेकपा एमाले वडाकमिटि सचिवको भूमिकामा रहेर काम गरिरहँदा हाल यहाँ पार्टीको अवस्था कस्तो छ ?

धन्यवाद, यहाँलाई जानकारी नै छ, ईतिहासका सबै कालखण्डमा दिगाम आसपास एमालेको राजनैतिक संगठन तथा प्रभाव निकै दरिलो र गर्वलायक छ, हाल पनि त्यस्तै हो, थप राम्रो बन्दै गईरहेको छ जनमुखी काम भएका छन् यसलाई जनविश्वास बढ्दो छ भनेर बुझौँ ।

पार्टीपङ्तिलाई थप शसक्त एवं क्रियाशील बनाउन तपाईंहरुले हाल के कस्ता गतिविधीहरु संचालन गर्दै आउनुभएको छ ?

केही समय पहिला हाम्रो पार्टी नेकपा एमालेको केन्द्रीय महाधिवेशन भयो, सोहीबमोजिम जिल्ला तथा स्थानीय तहसम्म नयाँ कार्यसमितीहरु चयन भए,यसले पार्टीपङ्तिलाइ नै एउटा नयाँ ऊर्जा दिएको छ । र, स्थानीय निर्वाचन पनि नजिकिँदै गरेको सन्दर्भमा हामीले पार्टीका भ्रातृ संगठन, जनवर्गीय संगठन तथा टोल कमिटिहरु गठन गरिरहेका र्छौ । सँगसँगै सांठनिक प्रशिक्षण, कार्यक्रर्ता भेटघाट, कमिटिहरुको थप सक्रियता लगायतका विषयमा निरन्तर परामर्श पनि गरिरहेका छौँ । यसर्थमा भन्दा हामी प्रचारात्मक कार्यक्रमको थालनी गर्ने चरणसम्म आइपुगेका छौँ । यी गतिविधी स्वत रुपमा सघन बनाउँदै लैजान्छौँ ।

तपाइंले भनेका यी गतिविधीहरुबाट सांगठनिक रुपमा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

तपाइँले बुझ्नुभएकै छ अहिलेको एमाले भनेको केन्द्रदेखिनै सैद्धान्तिक नीतीगत तथा सांगठानिक हिसाबले झनै एकढिक्का भएको सशक्त र जुझारु एमाले हो, स्थानीय स्तरमा पनि सबै कार्यक्रर्ताहरुको योगदान र समन्वयले गर्दा सन्तुष्ट नहुने कुनै कुरा छैन । यहाँले कार्यक्रर्तामाझ बुझ्न सक्नुहुन्छ सिंगो पार्टीपङ्ति उच्च मनोवलका साथ लागिरहेको अवस्था छ ।

कुनैपनि संगठनका क्रियाकलाप नतिजामुखी बनाउन सचिवको भूमिका धेरै महत्वपूर्ण हुन्छ, तपाईको अनुभवल के देखाउँछ ?

पदीय दायित्व र जिम्मेवारी अनुसार सबैको भूमिका आ आफ्नो हुन्छ, त्यसमा सचिवले भएगरेका निर्णय कार्यान्वयन तहमा बढी समन्वय गर्नुपर्ने र सूचना आदनप्रदानमा समेत बढी खटनुपर्छ, तसर्थ पनि भूमिका धेरै महत्वपूर्ण हुन्छ, भन्न खोज्नुभएको होला ।

राजनीती र समाज एकआपसमा स्वत जोडिएर आउने विषय रहेछन्,यहाँको सामाजिक, राजनैतिक सक्रियता र योगदानबारे संक्षेपमा बताइदिनुहोस् न ?

युवाहरुबीच ऐक्यबद्धताको खाँचो छ भन्ने कुरा मैले विद्यार्थी जीवनमै बुझेको हूँ । त्यसलाई मूर्तरुप दिन गाउँका साथीभाईलाइ सगठित गरी क्लब बनाउने केही सामाजिक काम गर्ने मेरो बच्चैदेखिको रुचि हो । त्यही शिलशिलामा म वि.सं.२०५४ सालमा अनेरास्ववियुमा आवद्ध भएँ । त्यसपछि ०५६ पछि बुटवल वाणिज्य क्याम्पसमा पनि अनेरास्ववियुकै राजनीतीमा सक्रिय रहेँ ।

त्यससँग सम्बन्धित विभिन्न जिम्मेवारीमा रहँदै वि.संं २०६४ को पहिलो संविधानसभा निर्वाचनताका राष्टिय युवा संघको तत्कालीन गा.वि.स अध्यक्ष तथा चुनावप्रचारप्रसार ईलाका ईन्चार्ज भए । हालै सम्पन्न नेकपा एमालेको प्रथम वडा अधिवेशनबाट वडाकमिटि सचिवको जिम्मेवारीमा आएको हूँ ।

अहिले म यहाँको प्रतिष्ठित सामुदायिक विद्यालय आदर्श मा.वि को शिक्षक अभिभावक संघको अध्यक्षको जिम्मेवारीमा समेत रहेर काम गरिरहेको छु । साथै सहकारी, दुग्ध डेरी, तथा युवा क्लवमा पनि आबद्ध नै छू ।

सामुदायिक विद्यालय, सेवामुखी सहकारी तथा युवासम्मिलीत क्लव लगायत संस्थाको नेतृत्व गरिरहँदा राजनीतीक रुपमा थप जिम्मेवारी लिन कत्तिको उत्सुक हुनुहुन्छ ?

मेरो बुझाईमा राजनीतीमा एउटा कोणबाट अवसर र त्यही कुरालाई अर्को कोणबाट जिम्मेवारी एवम् दायित्वका रुपमा लिनुपर्दछ । भन्न खाजेको अवसरको खोजी गर्दैगर्दा दायित्ववहनलाई नै छायाँमा पर्न त भएन भन्ने कुरा हो । थप जिम्मेवारीको लागि उत्सुक त स्वभाविक रुपमा छू नि तर जसरी पनि, मलाइ यो वा त्यो भन्ने दावा मेरो हिजो पनि थिएन र हाल पनि छैन ।

मतलव एमालेको वहालवाला वडाकमिटी सचिव भएको नाताले आगामी स्थानीय चूनावमा तपाईँ वडाअध्यक्षको आकांक्षी हुनु स्वभाविक पनि होला, त्यसमा तपाइँको दावी कुन हदसम्म रहन्छ ?

मैले अघि पनि भनेँ, थप जिम्मेवारीको लागि उत्सुक त स्वभाविक रुपमा छू । तपाइँले भनेजस्तै मैले वडाअध्यक्षको रुपमा आकांक्षा राख्नुपनि स्वभाविक हो भन्ने लाग्छ । त्यो योगदानका हिसाबले अधिकारकै विषय पनि हो सँगसँगै, पार्टीले जिम्मेवारी तोकेर दिएको व्यक्तिलाई पूर्ण समर्थन गरी विजय गराउन भूमिका खेल्नु मेरो राजनीतीक र नैतिक कर्तव्य पनि हो । तसर्थ, आकांक्षी हो तर दावीको हद जसरी पनि भन्ने तहको होइन त्यो प्रवृति पनि उपर्युक्त होईन भनौँ ।

अन्त्यमा राजनैतिक तथा सामाजिक ऐक्यबद्धताका लागि समग्र दिगामबासीप्रति तपाईँको भन्नु के छ ?

सोंच, विचार, सिद्धान्तमा फरकफरक भएपनि अन्तत हामी यही समुदायका मानव हौँ, छिमेकी हौँ । यस ठाउँको विकासका लागि जसले जहाँबाट जे गर्न सकिन्छ, सक्दो कोसिश गरौँ । आफुले आत्मसम्मान खोज्दै गर्दा अरुलाइ पनि सम्मान गर्ने परीपाटीको विस्तार गर्न सकियो भने यदाकदा समाजमा देखिने मतभेदबाट मुक्त हुन सकिन्छ । यसका लागि सबै आआफ्नो ठाउँबाट जुटौँ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?