अब जथाभावी फोटो खिच्नेलाई दुई वर्ष जेल र बीस हजार जरिवाना हुने

सार्वजनिक स्थलमा जथाभावी फाटो खिच्ने बानी छ भने तत्काल रोक्नुहोस्, किनकि कसैले उजुर दिएमा जेलसम्मको सजाय हुन सक्छ । यदि कसैले आफ्नो अनुमतिबिना फोटो खिचेको भनी प्रमाणसहित उजुरी दिएमा दुई वर्षसम्म कैद वा बीस हजार सम्म जरिवाना हुन सक्ने कानुन बनेको हो ।

मुलुकी अपराध ( संहिता) ऐन २०७४ ले गोपनीयताविरुद्धको कामलाई कसुर घोषणा गर्दै कडा कारवाहीको व्यवस्था गरेको छ । ऐनमा अर्काको कुरा सुन्ने, रेकर्ड गर्ने र फोटो खिच्नेलाई २ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवानाको सजाय तोकिएको छ ।
नेपालको संविधानले सबै नागरिकलाई गोपनीयताको हकको ग्यारेन्टी गरेको छ ।

 

अर्थात व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्रसम्बन्धी विषयको गोपनीयता कानुनअनुसार बाहेक कसैले अतिक्रमण गर्न पाइने छैन ।कानुनले अब अनुमतिविना कसैको फोटो खिच्न पनि निषेध गरेको छ । कसैको फोटो खिच्न वा अरु फोटो जोड्न पनि कानुनले प्रतिबन्ध लगाएको छ । यस्तो कसुर गरेमा १ वर्ष कैद वा १० हजार जरिवाना गरिएको छ ।सार्वजनिक स्थानको फोटो खिच्दा कसैको फोटो देखिएमा भने कानुन नलाग्ने ऐनमा उल्लेख छ ।

फेसबुकमा विभिन्न नेता, सेलिब्रेटीहरुको टाउको अर्कै फोटोमा जोडेर कार्टुन बनाइने गरेको त हामीले देखेकै हौं । अब त्यस्तो कसुर गर्नेलाई २ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था गरिएको छ । अपराध संहिताको दफा २९५ (३) मा लेखिएको छ ‘कसैले एकको तस्वीरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृत रुपको तस्वीर बनाउन वा प्रकाशन गर्नुहुँदैन ।’

अरुलाई हैरान पार्ने नियतले फोटोको दुरुपयोग गरेमा ३ वर्षसम्म कैद वा ३० हजार जरिवाना वा दुबै सजाय हुने व्यवस्था गरिएको छ । ‘कसैले कुनै व्यक्तिको तस्वीर निजको अनुमतिविना अरुलाई दिन वा बिक्री गर्न वा निजलाई झिझ्याउन वा सताउने हैरान पार्ने वा निजबाट अनुचित फाइदा लिने वा तस्वीरको व्यापारिक प्रयोग गरी फाइदा लिने नियतले प्रकाशन गर्न, प्रचार वा खरिद बिक्री गर्न हुँदैन ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?