आगामी बजेटमा कृषिलाई पहिलो प्राथमिकता : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९÷८० को बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिने बताउनुभएको छ ।

सोमबार(आज) बिहान रुकुम सदरमुकाममा पत्रकार महासंघ शाखा कार्यालयले आयोजना गरेको कार्यक्रममा सहभागी मन्त्री शर्माले अर्थ मन्त्रालय बजेट निर्माणमा केन्द्रित हुन थालेको भन्दै कृषिलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाइने जानकारी दिनुभएको हो ।

 

कुल बैदेशिक व्यापारमा माघ मसान्तसम्म निर्यातको हिस्सा १० प्रतिशत नाघेको जनाउँदै उहाँले आगामी आबदेखि प्रत्येक वर्ष निर्यातको हिस्सा १० प्रतिशतका दरले बढाउँदै लैजाने लक्ष्य राखिने बताउनुभयो । प्रमुख सहरसँग ग्रामिण क्षेत्रको दूरी घटाउने गरी पूर्वाधार विकास गर्नेतर्फ पनि बजेटले ध्यान दिने उहाँले बताउनुभयो ।

 

जनतामा आधारित विकास मोडललाई समेत बजेटमार्फत कार्यान्वयन गर्ने उहाँले बताएउनभयो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, सुन–चाँदी, खानेतेल, प्लास्टिक, डण्डी तथा डण्डीजन्य वस्तु, ढुवानीमा प्रयोग हुने पानीजहाज तथा कन्टेनरको भाँडादरलगायतको मूल्य शृङ्खलामा भएको वृद्धिले नेपालमा समेत मूल्यवृद्धिमा चाप परिरहेको उहाँले बताउनुभयो । यदपि, मूल्यवृद्धि वार्षिक लक्ष्यको वाञ्छित सीमाभित्रै रहेकाले अत्तालिनुपर्ने स्थिति नरहेको उहाँको भनाइ थियो ।

 

शोधानान्तर घाटालाई बिस्तारै सुधार गर्दैै लगेको तथा तरलता अभाव केही दिनभित्रै समाधानउन्मुख भएकाले अर्थतन्त्र विस्तारै लयमा आउने विश्वास दिलाउनुभयो । अहिले अबैध डिजिटल कारोबारका कारण दैनिक ५० करोड रुपैयाँसम्म नेपाली मुद्रा बाहिरिन थालेको भन्दै उहाँले यस्ता गतिविधि रोक्न सबै संयन्त्र परिचालन गरेको बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?