जनप्रतिनीधिमा ‘गाडीमोह’, जाँदाजाँदै छत्रकोटमा ५६ लाखको नयाँ गाडी खरिद

पाँच वर्षे कार्यकाल सकिनै लाग्दा गुल्मीको छत्रकोटका जनप्रतिनीधिले प्रयोग गर्ने गरी नयाँ गाडी खरिद गरिएको छ । गाउँपालिकाले गत पौष १० को गाउँसभा बैठकबाटै निर्णय गराएर उक्त नयाँ गाडी ‘स्कोर्पियो एस्फाइभ’ खरिद गरेको हो ।

गत फागुन पहिलो हप्ता खरिद गरिएको गाडीको मूल्य ५६ लाख भन्दा बढी छ । हाल गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्त उपचारको लागि काठमाडौंमा रहेकाले नयाँ गाडी प्राय उपाध्यक्ष नर्मदा भण्डारीले प्रयोग गर्दै आएका आउनुभएको छ ।

प्रमुख प्रशासकीय अधिकृत कृष्ण पन्थीका अनुसार अहिले पालिकाको स्वामित्वमा अध्यक्षले प्रयोग गर्दै आएको, नयाँ खरिद स्कोर्पियो र मोटरसाइकल गरी कुल २१ ओटा सवारीसाधन संचालनमा छन्। हालै गरिएको खरिद स्थानीय चुनावमा जारी गरिएको घोषणापत्र विपरीत भएको देखिन्छ ।

स्थानीय निर्वाचन २०७४ को नेकपा एमालेको घोषणापत्रमा “सर्वसुलभ एम्बुलेन्स तथा यातायातमा सर्वसाधारणको सरल र सहज पहूँच पुर्याईने” उल्लेख छ । एम्बुलेन्सको दयनीय अवस्थाका बाबजुत घोषित नीती र प्राथमिकता विपरीत नयाँ गाडी खरिद गरिनुले छत्रकोटका जनप्रतिनिधीमा ‘गाडीमोह’ प्रष्ट देखिएको भन्दै स्थानीय बासिन्दा रुष्ट बनेका छन् ।

गाउँपालिका श्रोतले भने प्राथमिकता र आवश्यकताकै आधारमा गाउँसभा कै निर्णयअनुसार नयाँ गाडी खरिद गरिएको बताउँछ ।
नेपाली कांग्रेस गुल्मीका उपसभापति तथा छत्रकोटका छायाँ सरकार प्रमुख अनन्त पौडेल भने यो निर्णमा आपत्ति जनाउँदै खरिदमा मात्रै रुचि राखिनुले आशंका पैदा भएको बताउनुहुन्छ ।

“यो त सरासर आवश्यकता एकातिर काम अर्कोतिर भईहाल्यो नि, यहाँका नागरिकको सेवासुविधा, विपन्नलाई राहत, कोभिड प्रभावितलाई राहत तथा रोजगारी दिनुपर्ने बेलामा नयाँ गाडी खरिद गर्नु उपयुक्त होईन ।” उहाँले भन्नुभयो, “यहाँ थुप्रै मोटरसाइकल पनि छन्, अरु पालिकाको देखेर भन्दा पनि आफ्नो श्रोत र आवश्यकता अनुसार चल्नुपर्ने हो, त्यो भएको छैन । चुनावमा दुरुपयोग गर्ने नियतले गाडी किन्नु पनि राम्रो कुरा हो ?”

‘बुढो’ एम्बुलेन्सको बिजोग

छत्रकोट गाउँपालिका मातहत श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र गुल्मीमा एउटा एम्बुलेन्स संचालनमा छ । तर, उक्त एम्बुलेन्सको अवस्था नाजुक अवस्थामा पुगिसकेको छ । सन् २००७ मा बनेको उक्त एम्बुलेन्स शुरुका दुई वर्ष नेपालका लागि भारतीय दुतावासमा चल्यो । त्यसपछि निरन्तर त्यहाँ चलाईको छ, जबकि प्राविधिक हिसाबले समेत अब त्यही अवस्थामा चलाईरहनु जोखिमपूर्ण देखिन्छ ।

महिन्द्रा कम्पनीका अनुसार एम्बुलेन्स निरन्तर प्रयोगको बढीमा १० वर्षसम्म मर्मतसम्भार पछि चलाउन सकिन्छ तर, १२ वर्षपछि भने सुरक्षा जोखिमकै कारण विरामी बोक्न हुँदैन । यसर्थमा श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रले संचालन गर्दै आएको लु १ झ २७५ नम्बरको सो एम्बुलेन्स विगतदेखिनै भगवान भरोषे चलिरहेको देखिन्छ ।

एम्बुलेन्सको यो अवस्था जानेबुझेका जनप्रतिनिधीले आफ्नो प्रयोजनका लागि नयाँ गाडी किन्न देखाएको चाँसोका अगाडि आमजनताको मुख्य सरोकार जोडिएको एम्बुलेन्सप्रतिको बेवास्ताले छत्रकोटका जनप्रतिनीधीमाथि सुविधाभोगी र गैरजिम्मेवार बनेको आरोप समेत लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?