बम्घाको सिङ्गो गाउँ नै आलुखेतीमा

हुमाकान्त पोखरेल , गुल्मी, ०७ चैतः रुरुक्षेत्र गाउँपालिका– ५ बम्घा टाहाटिमका मेघराज गिरीले १० रोपनी जग्गामा आलु लगाएका छन् । आलु खेती उनको पुख्र्यौली पेशा हो । गत बर्ष उनले ६० क्विन्टल आलु बिक्रि गरे । जसबाट ढेड लाखभन्दा बढी रकम आम्दानी भयो । ‘उत्पादन भएको आलु पैँचो पसल, बुटबल र तराइका जिल्लाहरुमा बिक्रि हुन्छ ।’ उनले भने, ‘यो बर्ष उत्पादन घटेर ४५ क्विन्टल जति हुने अनुमान छ ।’

टाहाटिमको जग्गा पनि आलुको लागि उपयुक्त भएकोले पुख्र्यौली पेशालाई निरन्तरता दिएको उनी बताउछन् । अहिलेको मौसममा आलु लगाए पनि अन्य मौसममा सिजनअनुसारका तरकारी उनले लगाउछन् । तरकारी खेतीबाट पनि उनले बार्षिक ५० हजार आम्दानी गर्छन् ।

त्यस्तै उनले गाइपालन व्यवसाय पनि गरेका छन् । जसबाट परिवारलाई पुग्ने आम्दानी गाउँमै भएको उनी बताउछन् । ‘अहिले आलु, त्यसपछि तरकारी र बाह्ै महिना दुध विक्रिबाट आम्दानी भइरहेको छ ।’ उनले भने, ‘आफ्नै गाउँमा स्वरोजगार भएको छु ।’ अहिले आलु खेतीको लागि स्मार्ट कृषि गाउँआलु खेती कार्यक्रम संचालन भएको छ । जसबाट बीउ तथा मेसिनमा अनुदान पाउँदा उनमा हौसला बढेको छ ।

सोही ठाउँकै राधिका गिरी पनि पहिलेदेखि नै आलु खेतीमा सक्रिय छिन् । पाँच रोपनी जग्गामा आलु लगाएकी उनले गतबर्ष मात्रै १५ क्विन्टल बिक्रि गरिन् । उत्पादन भएको आलु पैँचो पसलमा प्रतिकिलो २० देखि ३७ रुपैँयासम्ममा बिक्रि गर्छिन । अन्य समयमा सोही जग्गामा सिमि, टमाटर, काउली लगायतका सिजनअनुसारका तरकारी लगाउछिन । जसबाट घरखर्च चलाउन सहयोग पुगको उनको भनाई छ ।

‘आलु र तरकारीले घरखर्च चलेको छ ।’ उनले भनिन्, ‘अहिले खनेको आलु सबै बीउको लागि प्रयोग हुन्छ ।’ गतबर्ष आलुको बीउ प्रतिकिलो १८० रुपैँया परेकोमा अहिले स्मार्ट कृषि गाउँ लागु भएपछि अनुदानले गर्दा ७० देखि ८० रुपैँयामा बीउ प्राप्त गरेको उनले बताइन् ।

मुल्य र डढेलोको समस्या

मेघराज र राधिका त आलु खेती गर्ने उदाहरणीय पात्र मात्रै हुन । उनीहरुजस्तै बम्घाको सिङ्गो गाउँ नै आलु खेतीमा सक्रिय छ । बम्घामा आलु खेतीको लागि उपयुक्त जग्गा रहेकोले पनि किसानहरु आलु खेतीतर्फ आकर्षित भएका हुन् । स्मार्ट कृषि गाउँअन्तरगत ६० परिवार व्यवसायीक आलु खेतीमै जोडिएका छन् । जसबाट उनीहरु मनग्य आम्दानीतर्फ उन्मुख भएको स्मार्ट कृषि गाउँका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिए ।

मुल्य र डढेलोको समस्या

व्यवसायीक आलु खेती गर्ने कृषकहरुमा आलुको मुख्य र डढेलोको समस्या छ । अनुदानले गर्दा आलुको बीउ कम मुल्यमा पाइएपनि खर्च अनुसारको उत्पादित आलुको मुल्य नपरेको कार्यक्रमका सचिव एवम् कृषक मेघराज गिरीले बताए । ‘बजारमा एक सय रुपैँयासम्म आलुको मुल्य पर्छ ।’ उनले भने, ‘यहाँबाट औषतमा ३० रुपैँया प्रतिकिलोमा बिक्रि हुन्छ, बीचको मुल्य व्यापारिको हातमा पर्छ ।’ त्यसका साथै डढेलोले आलुको उत्पादन घटेकोले सहयोग गरिदिन कार्यालयलाई अनुरोध गरे ।

कुल ६० परिवारका ४०० जना लाभाम्बित

रुरुक्षेत्रगाउँपालिकाको बम्घाबाट गतबर्ष मात्रै कुल ९८ मेक्ट्रिक टन आलु बिक्रि भएको छ । गतबर्षबाटै बम्घामा ६० लाखको लागतमा ‘स्मार्ट कृषिगाउँ बम्घा टाहाटिम आलु र तरकारी पकेट समुह’ कार्यक्रम लागु भएको छ । यस कार्यक्रममा ६० परिवारका चार सय नगारिक लाभाम्बित छन् । जसमा गतबर्ष लुम्बिनी प्रदेश सरकारको ५० लाख र पालिकाको १० लाखमा आलु र तरकारी खेतीसम्बन्धि विभिन्न काम भएका छन् । यो बर्ष पनि कृषि ज्ञान केन्द्रमार्फत प्रदेश सरकारको ३७ लाख ५० हजार र पालिकाको ११ लाख २५ हजार बिनियोजन भएको छ । बिनियोजित रकमबाट किसानलाई बीउ, मेसिन, औजार, बीषादी लगायतका सामग्रीमा ८५ प्रतिशतसम्म अनुदान दिइने कृषि ज्ञान केन्द्र, गुल्मीका कृषि अधिकृत हरी आचार्यले जानकारी दिए । त्यसका साथै बिक्रि नभएको आलु संकलनका लागि संकलन केन्द्र पनि बनाइएको छ । जहाँ अहिले खनेको आलु असारसम्म भण्डारण गर्न सकिन्छ ।

‘बीउमात्रै उत्पादन गर्नु’

कृषि अधिकृत आचार्यले किसानलाई आलुको बीउ मात्रै उत्पादन गर्न आग्रह गरिएको बताए । ‘खयनको रुपमा आफुलाई आवश्यक मात्रै उत्पादन गर्नुहुन्छ ।’ उनले भने, ‘बीउको लागि उत्पादित आलु ज्ञान केन्द्रले तोकेको मुल्यमा बिक्रि हुन्छ ।’ गतबर्ष सोही ठाउँबाटै ५५ क्विन्टल बीउ खरिद गरेको उनले सुनाए । डढेलोको बिषदीको लागि यो बर्ष कार्यक्रममा समेटिएको उनले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?