पल्लीकोट स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य संस्था बन्दै

 

भुवन भुसाल , पल्लीकोट स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका लागि पूर्वतयारी कार्यक्रम आज मंगलबार सम्पन्न भएको छ । छत्रकोट गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । । पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएपछि त्यहाँबाट पोषण शिक्षा सचेतना तथा त्यससम्बन्धी आधारभूत सेवासुविधा प्राप्त हुनेछन् ।

विभिन्न १७ ओटा सूचकहरुका आधारमा पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिन्छ । खासगरी बालकुपोषण नियन्त्रण गर्ने उद्धेश्यले यो कार्यक्रम अभियानका रुपमा संचालन गरिएको छ । छत्रकोट गाउँपालिका वडा नं. ०२ का वडाअध्यक्ष एवं स्वास्थ्यचौकी व्यवस्थापन समितीका अध्यक्ष रुकबहादुर राकस्कोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष यमबहादुर राना, समिती सदस्यहरु,राजनीतीक दलका प्रतिनधि लगायतको उपस्थिती रहेको थियो ।

स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयंसेविका एवम् सरोकारवालाहरुको उपस्थितीमा सम्पन्न कार्यक्रमको सहजीकरण सुआहारा कार्यक्रम संयोजक लिल बहादुर नेपाली, फिल्ड संयोजक राजेन्द्र बि.क., स्टाफ नर्स मुना सर्तुङ्गेले गर्नुभएको थियो । कार्यक्रमको उद्धेश्य र कार्ययोजनाबारे प्रकाश पार्दै गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले बोल्नुभएको थियो ।कार्यक्रमको संचालन अ.हे.व सपना टण्डनले गर्नुभएको थियो ।

यसैबीच, समुदाय स्वास्थ्य प्राप्ताङ्क बोर्ड सीएचएसबी को समीक्षा कार्यक्रम समेत सम्पन्न भएको छ । गाउँपालिकाको समन्वय र जिल्ला सुआहारा र आईआरडीएस् को आर्थिक तथा प्राविधिक सहयोगमा पल्लीकोट स्वास्थ्य चौकीमा कार्यक्रम सम्पन्न भएको स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले जानकारी दिनुभयो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?