अब्बल बन्दै गुल्मी अस्पतालको प्रयोगशाला , ३५ प्रकारका विशिष्टिकृत परिक्षण सुविधाहरु थपिए

टोपलाल अर्याल
गुल्मी, ११ चैत

गुल्मी अस्पतालले प्रयोगशालाको सेवालाई सुदृढिकरण गर्दै विशिष्टिकृत परिक्षण सुविधाहरु संचालनमा ल्याएको छ । प्रयोगशाला आधुनिक चिकित्साशास्त्रको मेरुदण्ड हो । गुल्मी अस्पतालबाट थाइराइडको एन्टीबडी परिक्षण, विभिन्न भिटामिनको मात्रा परिक्षण, टयुमर मार्कर परिक्षण, मधुमेहमा गरिने परिक्षण, हर्मोनहरुको परिक्षण, रगत जमेको वा नजमेको पत्ता लगाउन गरिने परिक्षण सुरु गरिएको गुल्मी अस्पतालका ल्याब इन्जार्ज लक्ष्मण पन्थीले जानकारी दिए ।

त्यस्तै अस्पतालले मुटु रोग तथा कलेजो रोग पत्ता लगाउन गरिने बिशेष परिक्षण, रत्तअल्पताको प्रकार छुट्याउने लगायतका ३५ प्रकारका नायँ परिक्षणको सुविधा थपेको छ । साथै निश्चित समयको लागि ब्लड बैंकमा रगत सञ्चय गरेर राख्न सक्ने सुविधा समेत उपलब्ध रहेको पन्थीले बताए । विरामीको बढ्दो चापसंगै गुल्मी अस्पताललाई आफ्नो सेवा व्यावस्थपानमा साधन, श्रोत, पूर्वाधार र जनशक्तिको चुनौति रहेको छ । उनले सवै अप्ठ्याराकाबिच पनि अस्पतालले सेवाको गुणस्तरीयता कमि हुन नदिएको बताए ।

गुल्मी अस्पताल प्रयोगशालाले प्राविधिक, प्रविधि र प्रवन्धनको सही सम्योजन गर्दै प्रयोगशालाको आधुनिकीकरण र गुणस्तरीयतामा विशेष जोड दिइएको छ । प्रयोगशाला परीक्षणमा सम्भव भए सम्म म्यानुयल विधिको प्रयोगलाई निरुत्साहित गर्दै स्वचालित विधिको उपयोगमा ल्याइएको छ । ‘कुनैपनि स्वास्थ्य प्रयोशालाबाट जारी गरिएको रिपोर्ट सही, तथ्यगत, विश्वसनीय र सान्दर्भिक हुनु अत्यन्त जरुरी छ ।

प्रयोगशालाले गुणस्तरलाई ग्यारेन्टी गर्न सक्ने प्रणालीको विकास एवं अनुशरण गरेको हुनुपर्दछ,’पन्थीले भने,‘बिरामीको ज्यान जाने वा बच्ने भन्ने परिक्षण रिर्पोटमा भरपर्छ ।’ प्रयोगशालालाई राष्ट्रिय वाह्य गुणस्तर मूल्याङ्कन योजनामा आवद्धता गरिएको छ ।

 

प्रयोगशाला रिर्पोटको गुणस्तर अतिउत्तम

गुल्मी अस्पतालमा प्रयोगशालाको गुणस्तर सुनिश्चितता प्रयोजनार्थ प्रयोगशालामा आन्तरिक गुणस्तर नियन्त्रण अभ्यासको विकास गरिएको छ । गुल्मी अस्पतालले प्रयोगशाला सेवाको गुणस्तर सुनिश्चितताका सम्बन्धमा गुणस्तर मापन गर्दा अतिउत्तम नतिजा हासिल गरेको छ । गुणस्तर नियन्त्रण प्रयोजनार्थ राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशाला ल्भ्त्तब्क् शाखाबाट वितरण गरिएको ४९ लटको क्वालिटी कन्ट्रोल स्याम्पल परिक्षण गर्दा रिर्पोटको गुणस्तर अतिउत्तम आएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए ।

प्रयोगशालाले नमुना संकलन, परीक्षण, भण्डारण, परीक्षण विधि र ढुवानी लगायत प्रकृयाको लागि राष्ट्रियस्तरमा निर्धारण गरिएको कार्य सञ्चालन निर्देशिका समय सापेक्ष तथा प्रयोगशाला सापेक्ष अद्यावधिक गरी सो अनुरुप कार्य गर्ने गराउने गरेको पच्याले जानकारी दिए ।

 

दैनिक सरदर तीन सयलाई सेवा

जिल्ला अस्पतालबाट दैनिक सरदर तीन सय जनाले विभिन्न सेवा लिने गरेका छन् । पहिले दैनिक सरदर डेढ सयले सेवा पाउँथे । सरकारले स्वास्थ्य बिमा संचालन गरेपछि सेवा लिनेको संख्या दोब्बर भएको अस्पतालका प्रमुख डाक्टर पच्याले बताए । गत फागुन महिनामा तीन हजार नौ सय ७८ महिला र दुई हजार चार सय २४ पुरुषले अस्पतालबाट विभिन्न प्रकारका सेवा लिएका छन् ।

 

जसमा सवैभन्दा बढि २९ देखि ५९ बर्ष उमेर समुहका नागरिक छन् । २९ देखि ५९ बर्ष उमेर समुह मध्ये दुई हजार छ सय ४० महिला र एक हजार ७१ जना पुरुष रहेको गुल्मी अस्पतालका मेडिकल रेर्कडर बाबुराम पोख्रेलले जानकारी दिए । स्वास्थ्य विमाबाट चार हजार दुई सय, ओसिएमसिबाट सात र सामाजिक सेवा एकाईबाट ३१ ले पूर्ण छुट र ५६ जनाले आंशिक छुट पाएको पोख्रेलले बताए ।

 

फागुन महिनाका ७९ प्रसुती मध्ये २४ वटा जटिल शल्यक्रिया मार्फत भएका छन् । त्यस्तै १३ पुरुष र चार महिला गरेर १७ जनाको पोष्टमार्टम गरिएको छ । मेडिकल रेर्कडर पोख्रेलका अनुसार गुल्मी अस्पतालका अनुसार फागुन महिनामा मात्रै दुई हजार एक सय ७८ जनाले प्रयोगशालाबाट विभिन्न परिक्षण गराएका छन् । गत बर्ष ७७ हजार दुई सय ७६ जनाले प्रयोगशाला सेवा लिएका छन् । आर्थिक बर्ष ०७६÷०७७ मा ३४ हजार ४४ ले सेवा लिएका थिए ।

 

भिड कम गर्न टोकन प्रणाली

सेवाग्राहीको भिड कम गर्न गुल्मी अस्पतालमा ‘टोकन प्रणाली’ शुरु भएको छ । स्वास्थ्य बिमा लागु भएपछि अस्पतालमा दैनिक सरदर तीन सय जना स्वास्थ्य सेवा लिने गरेका छन् । साँघुरो भवनबाट सेवा प्रबाह गर्नुपर्ने र सेवाग्राहीको भिड बढेकाले पाँच लाखको लागतमा मेसिन खरिद गरेर ‘टोकन प्रणाली’ शुरु भएको हो । टोकन प्रणालीको शुरुवात गर्दै अस्पतालका नवनियुक्त अध्यक्ष भरत पाण्डेयले अस्पतालको बहिरंग बिभागमा आएका बिरामीले टिकट काट्न लामो समयसम्म लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्न टोकन प्रणाली शुरु गरीएको बताए । पाण्डेयले सपथ लिएकै दिनबाट ‘टोकन प्रणाली’ शुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?