अब घोषणापत्र र भाषणको प्रशंसा गर्ने कालखण्ड सकियो, पछि हट्नेगरी अघि आएको होईन : पाण्डे

 

स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै विभिन्न पदका लागि आकांक्षीहरु खुल्ने क्रम तीव्र बन्दै गएको छ । देशका विभिन्न ठाउँमा
राजनीतीक दलका नेता तथा कार्यक्रर्तासँगै स्वतन्त्र तवरले चुनावी मैदान उत्रनेको संख्या पनि यसपटक बाक्लो देखिएको छ । निर्वाचन आयोगले बैशाख ११ र १२ गते उमेदवारी दर्ता गर्नेगरी हालै चुनावी कार्यतालिका प्रकाशित गरेपछि राजनीतीक सरगर्मी ह्वात्तै बढेको देखिन्छ ।

स्थानीय तह निर्वाचन आगामी २०७९ बैशाख ३० मा देशभर एकैसाथ हुँदैछ । यसबीच अर्घाखाँचीको छत्रदेवका एक युवाले त्यहाँको ०८ नं वडाको वडाअध्यक्ष पदमा भिड्ने घोषणा गरेपछि त्यसले अर्घाखाँचीकै राजनीतीक वृत्तमा चर्चा छाएको छ । छत्रदेव ०८ का सचिन पाण्डेले गत बिहीबार त्यस वडाको अध्यक्ष पदमा उमेद्वारी दिने घोषणा गरेका थिए ।

को हुन् सचिन पाण्डे ?

पाण्डे नेपाली कांग्रस आबद्ध युवा हन् । हाल उनी नेपाल तरुणदल अर्घाखाँची काठमाडौ संपर्क समितिका सहसचिव समेत हुन् । विभिन्न सामाजिक संघसंस्थासँगको आबद्धता र समन्वयमा गरेका समाजसेवी गतिविधीका कारण उनी लोकप्रिय मानिन्छन् ।

विशेषगरी कोभिड महामारीका बेला अर्घाखाँचीका स्वास्थ्य संस्थामा अक्सिजन र स्वास्थ्य सामग्रीको जोहो गर्न उनले खेलेको भूमिकालाई अधिकांस स्थानीयले दिएको ढाडसका कारण उनमा नेतृत्वको आकांक्षा पलाएको कतिपयको बुझाई छ ।

कोभिडकालमा ज्यान जोखिममा राखेर गरेको दौडाहाले उनलाई सामाजिक सरोकारका अन्य पक्षसँग पनि नजिक गराएको देखिन्छ । उपचारको अभावमा अस्पतालमा छट्पटिएका बिरामीलाई आर्थिक सहायतादेखि चक्रपथ सरसफाई अभियानसम्म पाण्डे सक्रिय रुपमा खटेका व्यक्ति हुन् । अर्घाखाँचीको छत्रदेव ०८ भिरामुनिमा जन्मेका २८ वर्षीय सचिन हाल काडमाडांैमा व्यवसाय गर्दै आएका छन् ।

उनको आकांक्षमा के भन्छन् स्थानीय ?

वडाअध्यक्ष पदमा उमेद्वारी दिने घोषणा गरेपछि स्थानीय तवरमा उनीप्रति हौसला प्रकट गर्नेको संख्या नै बढी छ । उनको फेसबुक स्ट्याटसमा प्राप्त प्रतिक्रियालाई आधार मान्ने हो भने दलीय रुपमा नभई व्यक्तिगत रुपमा उनीप्रति ठूलै जमात सकरात्मक छ भन्न सकिन्छ ।

सँगसँगै ती प्रतिक्रियाहरु दलीय वर्तमान गतिविधी र जनमानसमा विखण्डन ल्याउने प्रवृतिका विरुद्ध समेत प्रकट भएका छन् ।

पाण्डेको उक्त पोष्टमा केहीले त “राजनीतीक दलको आश्रय लिएर नआउनुहोला, व्यक्तिगत रुपमा हो भने मेरो मात्रै होईन केही भोट थपिदिन समेत सहयोगी भूमिका रहनेछ” भनी कमेण्ट गरेका छन् । त्यसबाट राजनीतीक दलप्रतिको वितृष्णा छर्लङ्ग हुन्छ ।

उनले टिकट पाउने निश्चित हो ? कुन अवस्थामा कसका भोट कति प्रभावित हुन्छन् ?

सचिनले अहिले वडाअध्यक्ष पदमा उमेद्वारी दिने बताएका हुन्, तर टिकट पाईसकेका होईनन् । अर्कोतर्फ पार्टीले टिकट नदिए उनी स्वतन्त्र उमेदवारी दिन तयार हुन् कि हैनन् ? यो प्रश्नमा पाण्डेले निकै कुटनीतीक जवाफ दिए, उनले भने “अहिले म मेरो स्वभाव, सामाजिक योगदान र सेवाको भावना बोकेरै आकांक्षी हूँ भन्ने सन्देश दिएको हो । पार्टीमा आबद्ध भईसकेपछि विधि र प्रक्रियाबमोजिमको निर्णय आत्मसात गर्नु कर्तव्य समेत हुन जान्छ । अहिले त्यो प्रक्रिया बल्ल शुरु हुँदैछ, यसर्थमा पनि अहिले नै जसरी पनि भन्ने पक्षमा हैन तर, सबैको सुझाव र प्रतिक्रिया हेर्दा म पछाडि हट्दिन यही बुझ्नुस् ।

मेरो उमेद्वारी न कसैको उक्साहट प्रेरित छ, न त कसैप्रति निषेधको भावना नै । अब घोषणापत्र र भाषणको प्रशंसा गर्ने कालखण्ड सकियो भन्नेलाग्छ ।तसर्थ मेरो उमेदवारीमा सामाजिक सेवाको फराकिलो व्यवस्थित रुप मिश्रित आकांक्षा प्रवल छ ।”  उनको यो भनाइले स्वतन्त्रमै भएपनि भिड्न तयार रहेको देखाउँछ ।

यदि, त्यसो भयो भने पार्टीगत रुपमा कसलाई के हुन्छ त्यो अहिले ठ्याक्कै भन्न सकिने अवस्था छैन किनकि अन्य उमेदवारको भौगोलिक उपस्थिती तालमेल लगायतका निर्णायक कुराहरु सतहमा आइसकेका छैनन् ।

पाण्डे हठात् अघि बढ्नुमा नेतृत्वको ग्रीन सिग्लन पाईसकेका छन् त ? यस प्रश्नको उत्तरका लागि पनि केही समय धैर्य गर्न उनले आग्रह गरे । तसर्थ स्वतन्त्र रुपमा आउने परिस्थिती बन्यो भने तीनै पार्टीका भोटमा समानुपातिक रुपले कटौती हुने स्थानीय एक कांग्रेस नेता स्वीकार गर्छन् । तर, त्यो परिस्थिती बनेमा तुलनात्मक रुपले कम क्षति हुनेमा कम्युनिष्ट श्रोत भने विश्वस्त देखिन्छ । जे होस् युवापङ्क्तिका भोटमा सचिन ‘हावी’ हुन सक्छन् भन्ने आँकलन चाँहि आमरुपमा बलियो छ ।

गत स्थानीय तह निर्वाचन २०७४ को आँकडा हेर्ने हो भने कांग्रेसका उमेदवार राजकुमार श्रेष्ठ ८८७ मतसहित आठ नं वडामा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका नेत्रलाल पाण्डेले ६२९ र तत्कालीन माओवादी केन्द्रका उमेदवार मेहर बहादुर कुवँरले १७० मत पाएका थिए, त्यस्तै राप्रपाका भविश्वर वि क को १५ मत आएको थियो । यसबीचमा एमालको विभाजन तथा माओवादी केन्द्रबीचको दल अदलबदलले कस्तो असर पर्छ त्यो हेर्न केही दिन कुर्नैपर्ने देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?