बलेटक्सार चौतारा रिंगरोडको लागि बहु बर्षे योजना स्वीकृत

 

माधव ज्ञवाली, गुल्मी । बलेटक्सार चौतारा रिंगरोडका लागि बहु बर्षे योजना स्वीकृत भएको छ। नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी अध्यक्ष एवं पुर्व मन्त्री सुदर्शन बराल साथै रिङरोडका योजनाकार तथा नेपाल सरकारका पुर्व मुख्य सचिब लीलामणि पौडेलको पहलमा ३ करोड ६९ लाख ७६ हजार ६ सय ९७ रुपैयाँ बराबरको बजेट स्वीकृत भएको हो।

 

प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयबाट सो रकम बिनियोजन भएको हो। युवा नेता एवं नेकपा माओवादी केन्द्र रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीका अनुसार अब बलेटक्सार रिङरोड अन्तर्गत बलेटक्सार देखि चौतारा जाने चोक र रानिबास धोविघाट खण्डमा समानान्तर ढङ्गले निर्माण कार्य संचालन हुनेछ।

 

उनी भन्छन् ,” यस् क्षेत्रका बासिन्दालाई यो भन्दा पहिले सपना पटकपटक देखाइयो तर विगत लामो समयदेखि धुलो र हिलोबाट यस् क्षेत्रका स्थानीय सङ्गै यात्रीहरु आक्रान्त बनिरहे, तर अब जनतालाई देखाइएको सपना हामी पूरा गर्छौं,नेकपा माओवादी पूरा गर्छ।” यसभन्दा पहिले पनि यसै रिङरोडको लागि २ करोड ९० लाखको योजना परिसकेको र काम निरन्तर भइरहेको उनले बताए । बीचमा ठेकेदारको लापरबाहीले गर्दा काममा केही अबरोध भएपनि लापरबाही गर्ने ठेकेदारलाई तह लगाएर काम पुनः सुचारु भइरहेको पनि उनले बताए ।

 

ज्ञवाली गत ०७४ को स्थानीय तहको चुनावमा नेकपा माओवादीबाट रुरुक्षेत्र गाउँपालिकाको अध्यक्ष पदमा एमालेसङ्ग प्रतिस्पर्धा गरेका थिए,तर बाजी भने मार्न सकेका थिएनन् । अध्यक्ष पदमा असफल भएका ज्ञवाली पछि सुदर्शन बराल मन्त्री भएपछि उनका स्वकीय सचिबमा नियुक्ति भएका थिए। पराजित भएपनि उनले स्वकीय सचिब भएदेखी नै यस् क्षेत्रमा निरन्तर विकासका आयोजनाहरु ल्याइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?