मालिका गाउँपालिकामा गठबन्धनको भागबण्डा मिल्यो

सन्तोष महतारा
गुल्मी, २२ चैत / गुल्मीकाे मालिका गाउँपालिकामा सत्तारूढ गठबन्धन दलको भागबण्डा मिलेको छ । जिल्लामा पहिलोपटक मालिका गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीकाे भागबण्डा मिलेको हो ।

मालिका गाउँपालिकामा अध्यक्षसहित २ वडाध्यक्ष नेकपा माओवादी केन्द्रकाे भागमा परेको छ । साथै नेपाली काँग्रेसकाे भागमा उपाध्यक्षसहित ६ वडाध्यक्ष परेको नेपाली काँग्रेस मालिका गाउँपालिकाका सभापति उपेन्द्र अर्यालले जानकारी दिए ।

गठबन्धनकाे चुनावी घाेषणा कार्यक्रमकाे पूर्व सन्ध्यामा मालिका गाउँपालिकाकाे अर्खबाङ्गमा गरिएको पत्रकार सम्मेलनमा भागबन्डा मिलेको गठबन्धन दलले जनाएका छन् ।

 

 

पत्रकार सम्मेलनका क्रममा गठबन्धन दलबाट अध्यक्ष पदका उमेदवार बनेका नेकपा माओवादी केन्द्र मालिका गाउँ कमिटी अध्यक्ष देविराम अर्यालले आफूहरूले अत्याधिक मतले जित्ने बताएका छन् । नेकपा एमालेसँग २ हजार भन्दा बढीको मतअन्तरले आफूहरूले सबै वडा र पालिका जित्ने अर्यालले बताए ।

 

नेकपा माओवादी केन्द्रकाे भागमा गाउँपालिकाकाे वडा नम्बर ३ र वडा नम्बर ८ परेको हो । बाँकी वडाहरु नेपाली काँग्रेसकाे भागमा परेको हो । नेकपा एकीकृत समाजवादीकाे भागमा भने वडासदस्यहरु परेका छन् ।

 

नेपाली काँग्रेसले पालिकाकाे उपाध्यक्ष पदको उमेदवार भने अझै टुङ्गाएकाे छैन । गठबन्धन दलले लिखित रुपमा भागबन्डाकाे सम्झौता गरेपछि गठबन्धनकाे चुनाबी घाेषणा कार्यक्रम अर्खबाङ्गमा आयोजना गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?