अवसर र चुनौतीको तराजुमा युगले मागेका ‘चन्द्रमान’

अर्घाखाँचीको छत्रदेव गाउँपालिका अध्यक्ष पदका लागि नेपाली कांग्रेसले चन्द्रमान श्रेष्ठलाई उमेद्वार बनाउने निर्णय गरेसँगै संभावित चुनावी परिणामसम्मका चर्चा शुरु भइसकेका छन् । बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि थुप्रै आकांक्षीमध्येबाट श्रेष्ठ सर्वसम्मत छानिएको नेपाली कांग्रेस अर्घाखाँचीले बताएको छ ।

पार्टीमा लामो समयको लगाव, योगदान त्याग र धैर्यताबाट विकसित पृष्ठभूमिका कारण पनि उनलाई यसपटक टिकट दिनु कांग्रेसका लागि नैतिक दवाव थियो ।पाँच दशक भन्दा बढी समय राजनीतीमै सक्रिय भएकाले पार्टीभित्रैका रुपान्तरण, वैचारिक तथा सैद्धान्तिक परिवर्तनको अनुभव भएका चन्द्रमान उमेरले पाका भएपनि भौतिक क्रियाशिलता र समयसापेक्ष विचारमा युवाहरुलाई राम्रो काउण्टर गर्न सक्ने नेता हुन् ।

“दलगत प्रणालीमा कुनै पनि किसिमको अतिबाद हावी हुनुहुँदैन, त्यसमाथि स्थानीय निर्वाचन भएको कारण असल व्यक्तित्व प्रदर्शन गरीआएको सक्षम व्यक्ति छनौट हुनु स्वभाविक हो,”  कांग्रेस जिल्ला कार्यसमितीका एक सदस्यले भने  “उहाँ त्यस्ता धेरै विशेषता भएका अवसर मात्रै खोजिरहने प्रवृति नभएको पात्र हुनुहुन्छ, त्यसैले यो जिम्मेवारी दिने निर्णय गरेका हौँ । “

टिकट हात पार्न निकै लामो समय चलेको रस्साकस्सीपछि श्रेष्ठले टिकट पाएका छन् । हुनत, बहुदल स्थापनादेखिको इतिहासमा छत्रदेव कांग्रेसको उर्वर ठाउँ हो तर, बितेको पाँच वर्ष स्थानीय सरकारको नेतृत्व गरेको कांग्रेसले काममा भन्दा प्रचारमा ध्यान दिएकोले जनमुखी काम नभएको गुनासोका माझ यो चुनावमा कडा प्रतिस्पर्धा हुने देखिन्छ । गत पाँच वर्षका गतिविधीले छत्रदेवमा जोखिम आँकलन गरेको कांग्रेसले नतिजा आफ्नो पोल्टामा पार्नकै लागि पनि “चन्द्रमान कार्ड” प्रयोग गरेको कतिपयको बुझाई छ ।

स्थानीयस्तरमा काँग्रेसको ठूलो कार्यकर्तापङ्ति र तटस्थ मतदाताको रोजाइमा समेत अन्य उमेद्वारभन्दा श्रेष्ठकै माहौल रहेकोले जीत निश्चित रहेको कांग्रेस श्रोतको दावी छ ।

चन्द्रमानका लागि नयाँ अवसर

गत स्थानीय चुनाव २०७४ मा अन्तिम समयमा परिस्थितीजन्य घटनाक्रमका कारण अध्यक्षको टिकट गुमाएका श्रेष्ठलाइ अहिले टिकट थमाइनुका पछाडिको मुख्य कारण जित्ने पात्रको खोजी गर्नु हो ।  त्यसर्थ, यसपटक उनलाई युगले अर्थात समयले मैदानमा ल्याएको भन्न सकिन्छ ।

श्रेष्ठ नैतिक रुपमा स्पष्ट र व्यवहारिक हिसाबले पारदर्शी तथा शालीन स्वभावका कारण उनको प्रचार गर्न कांग्रेसलाई तुलनात्मक रुपमा सहज छ । जिल्ला विकास समितीका सदस्यसँगै नेपाली काँग्रेस अर्घाखाँचीको उपसभापति बनेका श्रेष्ठ जातीय विभेदविरुद्ध खरो लडाइँ लडेका पात्र हुन् ।

विधिको शासन स्थापित गर्नु, स्थानीय तहमा हुने नितीगत अनियमितता विस्थापित गर्नु, र आधारभूत सेवासुविधा सरल र सहज बनाउने नयाँ अवसर चन्द्रमानका अगाडि आउने छ ।

यदि निर्वाचनमा विजयी भए त्यसतर्फ पहलकदमी लिएर नारामा सिमीत नमुना छत्रदेवलाई यर्थाथै नमुना बनाउने अवसर पनि उनका अघिल्तिर पैदा भएको छ ।

अवसरसँगै छन् चुनौतीका चाङ्

छत्रदेवको नेतृत्व गर्न आउने जो सुकैका अघि अवसरसँगै चूनौतीका चाङ् पनि थुप्रै छन् । नारामा नमुना भनिएपनि काम भन्दा प्रचार प्राथमिकतामा परेकोले साँच्चिकै काम गर्नुपर्ने अवस्था छ ।

सतहमा सबै भइसके जसरी प्रचार गरिएको छ तर, सामान्य कार्यालय व्यवस्थापन देखि पालिकाभित्रका साधारण अभिलेखसमेत अस्तव्यस्त छन् । आधारभूत तथ्याङ्कसमेत नभएको भद्रगोलको स्थितीबाट सुधार शुरु गर्नुपर्ने छ ।

वडातहमा भएका ‘मनोमानीपूर्ण निर्णय’ को साक्षी बस्न छोडेर त्यसलाई नियन्त्रण गर्नु अर्को चुनौती छ । नीतीगत अपचलन र ‘अनुचित’ खरिद आतंक रोक्ने चूनौती प्रधान विषय बन्ने देखिन्छ ।

चूनौतीलाई अवसरका रुपमा प्रयोग गर्न सके छत्रदेवलाई पनि नारामा मात्र नभई मानककै आधारमा नमुना बनाउन सकिन्छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?