अर्घातोषमा नेकपा एमाले र माओवादी केन्द्रका कार्यक्रर्ताबीच झडप, २ जना घाइते

बैशाख १६, अर्घाखाँची –     छत्रदेव ०८ अर्घातोषमा खानेपानीको सामान्य विषयले शुरु भएको विवादले उग्र रुप लिँदा नेकपा एमाले र माओवादी केन्द्रका कार्यक्रर्ताबीच झडप भएको छ । गएराती साढे आठ बजे भएको घटनामा अर्घातोष स्वास्थ्य चौकीका प्रमुख विष्णु पौडेल र एमाले वडा सदस्य पदका उमेद्वार हुमप्रसाद श्रेष्ठ घाइते भएका छन् । शुरुवाती कारण अन्य देखिएपनि राजनीतीक टकरावकै कारण मुठभेड भएको स्थानीयले बताएका छन् ।

पौडेल माओवादी केन्द्र निकट हुन् । उनको मुख र टाउकोमा चोट लागेको छ । पौडेललाई राती नै उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क पुर्याईएको छ । पुरानो रिसीवीका कारण पौडेलमाथि नियोजित रुपमा एमाले वडा सदस्य पदका उमेद्वार हुमप्रसाद श्रेष्ठ लगायतको जत्थाले आक्रमण गरेको उनको पारिवारीक श्रोतको भनाई छ ।

झडपमा एमाले वडा सदस्य पदका उमेद्वार हुमप्रसाद श्रेष्ठ पनि घाइते भएका छन् ।  छत्रदेव ०८ को गैराटोलमा चुनावी अभियानकै क्रममा पौडेलले श्रेष्ठलाई ढुङ्गा हानेका एमालेको दावी छ ।  श्रेष्ठको मुखमा चोट लागेको छ । झडप अर्घातोष प्रहरी चौकीनजिकै भएको हो ।

 

झडपपछि दुवै पक्षले एकअर्काविरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । पौडेलको तर्फबाट ज्यान मार्ने उद्योग गरेको आरोपसहित निवेदन दर्ता भएको छ भने, नेकपा एमालेका गाउँपालिका अध्यक्ष पदका उमेद्वार दीपक पन्थीको तर्फबाट आफ्नो समुहमाथि चौकी परिसरमै आक्रमण गरेको भनी कारबाही निवेदन दर्ता भएको छ ।

चौकीमा रहेका सबै जनशक्ति विवाद मिलाउन निस्केको बेला पन्थीसहितको टिम कार्यालय आएकोले त्यसबखत भएको घटनाबारे अनुसन्धान भइरहेको प्रहरी चौकी अर्घातोषका प्रहरी नायव निरीक्षक मान बहादुर ज्ञवालीले बताए । पौडेल र श्रेष्ठसमुहबीच झडप भएको स्थान प्रहरी चौकीबाट करिब १०० मिटरको दूरीमा रहेको छ ।

 

चौकीमा जम्मा ६ जना प्रहरी भएकोले पनि शुरुकै विवाद मिलाउन र थप दुर्घटना रोक्न सबै जनशक्ति खटिएको प्रहरी नायव निरीक्षक मान बहादुर ज्ञवालीको भनाई छ । “हामी थप ठूलो दुर्घटना नहोस् भनी त्यहाँ निस्किएका थियौँ, त्यही बेला गाउँपालिका अध्यक्ष पदका उमेद्वार ज्यूहरुको (पन्थी  )समुह आएको रहेछ त्यहाँपनि तनाव उत्पन्न भएको थाहा पाउनासाथ हामी खटियौँ । उनले भने केहीबेरपछि दुवैतर्फका कारबाही निवेदन परेका हुन् ।

छत्रदेवको उक्त वडामा कांग्रेस र माआवादी केन्द्रले आउँदो चुनावका लागि तालमेल गरेका छन् भने घाइते पौडेलकी श्रीमती सावित्रा पौडेल वडा सदस्य पदका लागि उमेद्वार रहेकी छन् ।

विवाद समाधानका लागि अहिले सर्वपक्षीय बैठक बस्ने पहल भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?