पूरा गर्ने आधारसहितका हाम्रा एजेण्डा अनुमोदन गर्न छत्रकोटबासी उत्साहित छन् : एमाले नेता पाण्डेय

यही बैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ । राजनीतीक दलहरुदेखि तथा स्वतन्त्र उमेद्वार यतिबेला आफ्ना एजेण्डासहित चुनावी मैदानमा छन् । यही सन्दर्भमा आज हामी नेकपा एमालेको तर्फबाट छत्रकोट गाउँपालिका अध्यक्ष पदका उमेद्वार तथा युवा नेता रामप्रसाद पाण्डेयसँग चुनावी विषयकेन्द्रित अन्तरवार्ता गरेका छौँ । प्रस्तुत छ पाण्डेयसँग गरिएको कुराकानीको संपादित अंश:

स्थानीय सरकारको नेतृत्व गर्न अग्रसर हुनुहुन्छ, तपाइँको राजनीतीक तथा सामाजिक पृष्ठभूमिबारे संक्षेपमा बताइदिनुहोस् न ।

धन्यवाद । म २०४७ सालदेखि नै नेपालको कम्युनिष्ट आन्दोलन र अभियानमा संलग्न भएको हो, जतिबेला म उमेरले १२ वर्ष मात्र पुग्दै थिएँ । २०५१ मा आत्मबोध मा वि मानकोटको अनेरास्ववियु कमिटि अध्यक्ष हुँदै  ०५३ मा अनेरास्ववियु जिल्ला कमिटिमा पुगेँ । त्यसको एक वर्षपछि म नेकपा एमालेको संगठित सदस्य भएको हुँ । नेपाली कम्युनिष्ट आन्दोलनमा अविच्छिन्न रुपमा क्रियाशील हुँदै २०७५ सालमा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को छत्रकोट अध्यक्ष तथा जिल्ला कमिटी सदस्य बनेँ । हाल म नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा छत्रकोट सह ईन्चार्जको जिम्मेवारीमा छु ।

राजनीती र समाज एकअर्काका अभिन्न अंगका रुपमा छन्, यसर्थ सामाजिक जिम्मेवारी तथा दायित्वग्रहणको विषय मेरो बच्चैदेखिको रुचि हो भन्नुपर्यो । वास्तवमा मेरो उद्धेश्य भनेको दु:खमा परेकालाई सहयोग, ढाडस दिने र समाधानकेन्द्रित हो । म यस्ता काममा सक्रिय हुँदा लोकप्रियताको लालच कहिल्यै पलायन । म आफैले यसो गरेँ यति गरेँ भन्नुभन्दा पनि तपाइंले यही भूगोलका बासिन्दासँगबाट यसको धरातलीय यर्थाथता पाउनुभएकै छ भन्ने लाग्छ । यहाँका सडक, खानेपानी, शिक्षाको गुणस्तर सुधार लगायतका काममा सधै खटेकै पात्र हुँ ।

खासगरी विद्यार्थीहरुमा सिकाई उत्प्रेरणा जगाउन र सबैका लागि शिक्षाको पहूँच पुर्याउन सहयोग गर्ने उद्धेश्यले विद्यार्थीहरुको अध्ययनका लागि लामो समयदेखि सक्दो सहयोग पनि गरिरहेको छु ।यहाँले सामाजिक सक्रियता र आवद्धताबारे पनि जिज्ञासा राख्नुभएकाले जानकारी गराउँ, राजनैतीक सक्रियता र सामाजिक योगदानसँगै करिब एक दशक पत्रकारिता क्षेत्रको पनि नेतृत्वदायी भूमिकाका साथ जिम्मेवारीमा रहेँ । यसले खोज तथा रुपान्तरणको अभियानमा मलाई थप ऊर्जा मिलेको अनुभूति गराएको छ ।

काम सफलतापूर्वक सम्पन्न गर्न पहिला योजना स्पष्ट हुनुपर्दछ, स्थानीय सरकारको नेतृत्व गर्ने सोँचसँगै अगाडि आउँदा तपाईसँग खास के योजना छन् ?

सारांशमा भन्नुपर्दा हाम्रा योजनाको मूल उद्धेश्य भनेको जनसेवा सजिलो बनाउने हो । आमनागरिकको दैनिकीसँग जोडिएका आधारभूत आवश्यकताको परिपूर्ति सरल बनाउनु हो । त्यसर्थमा सेवा लिने ठाउँदेखि जनजिवीकासम्मलाई आधार मानेर केही प्रतिबद्धता सार्वजनिक गरेका छौँ, आधारबिना पुरा गर्न नसक्ने खालका केही प्रतिज्ञा गरेका छैनौँ । किनकि हामी भोलि पनि हामी यही ठाउँको लागि थप राम्रो गर्न लाग्नुछ । यहीँको विश्वास जीवन्त राख्नुछ । त्यसकारण पूर्वाधार विकासमा चुस्त र सेवा प्रवाहमा दुरुस्त पद्धति संथागत गर्ने मोडलमा जोड दिएका छौँ ।

यदि तपाईँ निर्वाचनमार्फत चुनिएर आउनुभयो भने समग्र छत्रकोटको प्राथमिकतामा कुनकुन विषय पर्छन् ?

शहरतर्फको बसाईसराई हाम्रो जस्ता ग्रामीण बस्ती बाक्लो भएका पालिकाहरुको साझा समस्याका रुपमा देखिएको छ । त्यसको मुख्य कारण गुणस्तरीय शिक्षा र भरपर्दो स्वास्थ्यसेवाको खोजी हो । त्यसकारण यी दुई मूख्य क्षेत्रमा तत्काल सुधारको खाँचो छ । उदाहरणका लागि सामान्य हड्डी टुटफुटको प्लाष्टर गर्न पनि पाल्पा वा तमघास पुग्नुपर्ने बाध्यता छ, यी र यस्ता सेवा तत्काल शुरु गर्छौँ भनेका छौँ । सँगै रोजगारीका लागि बाहिरीने बाध्यताको अन्त्य गर्न ऊर्जाशील जनशक्तिलाई उचित मूल्यसहितको श्रममा सामेल गरी आत्मनिर्भर पालिका बनाउने कुरा हाम्रो प्रतिबद्धतामा उल्लेख छ ।

आजको दुनिया समानताबाट पनि एक ‘स्टेप’ अगाडि समताको अभ्यासमा जुटिसकेको छ । हामी अझै पनि समानताकै लागि संघर्ष गर्नुपर्ने बडो विडम्बनापूर्ण स्थितिबाट गुज्रिरहेका छौँ । भनाइको तात्पर्य जुन क्षेत्र भूगोल र समुदाय जे कुरामा पछाडि छ, त्यसलाई माथि उठाउने गरी सेवाको वितरण न्यायोचित ढङ्गले गर्नुपर्दछ । त्यसैले भूगोल, परिस्थिती र परिवेश अनुसार प्राथमिकताका क्षेत्र निर्धारण गरेर त्यसको कार्यान्वयन आधारसहित हामी आएका छौँ ।

हरेक चुनावमा यस्तै प्रतिबद्धता आउँछन्, फेरी तपाईको प्रतिस्पर्धीका एजेण्डा पनि करिब करिब उस्तै देखिन्छन् । गत पाँच वर्षको अवधिमा सेवाप्रवाह र विकास निर्माणमा भनेजस्तो परिवर्तन आएन भन्ने जनगुनासोबीच तपाई मतदातालाई कसरी विश्वस्त पार्नुहुन्छ ?

अस्वभाविक एजेण्डाको मदतले चुनावमा जीत हात पार्न खोज्ने नियतमाथि आममानिसको आशंका रहनु स्वभाविक कुरा हो । तर मैले उमेद्वार बनेर आउँदै गर्दा उठाएका विषयमा  पुरा गर्न सकिने योजना मात्र समावेश गरेको छु । यस शिलशिलामा मैले विभिन्न क्षेत्रका विज्ञहरुसँगको समन्वयमा पाँच वर्षमा के कति काम गर्न सकिँदोरहेछ भनी सुक्ष्म अध्ययन गरेको थिएँ । त्यसका आधारमा श्रोत, जनशक्ति लगायत धेरै कुराको तथ्यगत विश्लेषण गरेर मात्र हामीले घोषणापत्र तयार पारेका छौँ ।

कुनै पनि कुरा हँचुवाको भरमा होइन तथ्यका आधारमा तय गरेका छौँ । यही तथ्यका आधारमा घरदैलो साक्षात्कार लगायत भेटघाटमा सबै मतदातालाई विश्वस्त पारिरहेका छौँ ।बरु बोल्न छुटेका धेरै काम गर्न सकियोस् तर बोलेको पुरा गर्न नसक्ने अवस्था नआओस् भन्ने कुरामा म सचेत छु ।

देशव्यापी रुपमा हेर्ने हो भने बितेका पाँच वर्ष स्थानीय सरकारका लागि पूर्वाधार र कानून निर्माणमा केही समय लाग्यो । शुन्यबाटै शुरु गर्नुपर्ने भएकोले पनि सेवा प्रवाह तथा विकासले गति लिन केही समय अवश्य लाग्यो । । तर, कोभिड महामारी लगायत अड्चनकामाझ छत्रकोटले विकासको लय समातेको छ । अपुरा अधुरा कामलाई पूर्णता दिनेगरी हामी थप परिष्कृत ढङ्गले आएका छौँ ।

चुनावी नतिजाको संभावनाबारे स्वत आउने जिज्ञासा यो चुनावमा विजयी हुन्छु भन्ने लाग्छ ? त्यसको आधार के हो ?

म र मेरो पार्टी विजयी हुने कुरामा शत प्रतिशत विश्वास छ । पार्टी मार्गदर्शन बमोजिम समृद्ध, समुन्नत र गौरव गर्न लायक छत्रकोट बनाउने योजनासहित आएका छौँ । तपाइँको अमूल्य मतको अपेक्षा राखेको छु भनेर अनुरोध गरेको छु । तपाईलाई थाहै छ, अघिल्लोपटक पनि छत्रकोट नेकपा एमाले विजयी भएको ठाउँ हो । पार्टीको विरासत कायम राख्दै छत्रकोटको सर्वाङ्गीण विकास गर्ने अभिभारा हाम्रो हो ।

पार्टीको संगठन विस्तार र हामीप्रतिको विश्वास अहिले झन् गुणात्मक रुपले अघि बढेको छ । पूर्वाधार विकास र सामाजिक रुपान्तरणको स्पष्ट खाका सहित आएका छौँ यही आधारमा मतदाताले अनुमोदन गर्नुहुन्छ भन्ने हाम्रो पूर्ण विश्वास छ ।

त्यसो भए चुनाव कति मतअन्तरले जित्नुहुन्छ ?

यो त अलि प्राविधिक खालको प्रश्न लाग्यो मलाई । ठ्याक्कै मतअन्तरको अंक त……नभनौँहोला । तर, निकै उत्साजनक मतअन्तरले विजयी हुन्छु यत्ति बुझ्नोस् ।

सतकर्ता केन्द्र, ट्रान्सपरेन्सी इन्टरनेशनल लगायतका संस्थाहरुका प्रतिवेदन हेर्ने हो भने नेपालका धेरै स्थानीय तहमा चरम नीतीगत भ्रष्ट्राचार हुने गरेको देखाउँछ । यसको नियन्त्रण कसरी गर्न सकिन्छ होला ?

यसमा मुख्य कुरा भनेकै नियतको हो । सही नियतबाट आएको जनप्रतिनीधि वा राष्ट्रसेवक कसैले पनि अनियमितता गर्दैन । यो समस्याको हल गर्न सबैभन्दा पहिला त अनुचित लाभ लिने नियतले नभई जनसेवा गर्ने फराकिलो उद्धेश्य राख्नुपर्दछ । नेतृत्व तह आफुले गैरकानुनी लाभ नलिने वा गलत कामको शुरुवात नगर्ने हो भने मात्रै पनि मातहतका निकाय धेरै सचेत हुन्छन् भन्ने लाग्छ । भ्रष्ट्राचार, अपचलन तथा अनुचित दोहन रोक्न विद्यमान कानूनको प्रभावकारी कार्यान्वयन र दण्ड तथा नसिहतको व्यवस्था स्पष्ट र शीघ्र रुपमा लागु गर्नुपर्दछ ।

यदि तपाई यस निर्वाचनमा विजेता बनेर गाउँपालिका अध्यक्षको जिम्मेवारीमा आउनुभयो भने अघोषित प्रतिपक्ष, यहाँ क्रियाशील अन्य राजनीतीक दल र सरोकारवाला निकायले कस्तो समन्वयको अपेक्षा राख्न सक्छन् ?

रोग, गरिबी पछौटेपन जस्ता समस्या यहाँका साझा समस्या हुन् । तीनको समाधान गर्न पनि साझा सहकार्य बढी फलदायी हुन्छ । जिम्मेवारीमा आएपछि म बाट कोहीकसैलाई वैचारिक, भौगोलिक लगायत कनै पनि दृष्टिले विभेद हुँदैन । सबैसँग उचित किसिमको सहकार्य हुन्छ । आवश्यकताअनुसार विज्ञ तथा जानकारहरुको राय लिने काम हुन्छ । छत्रकोटलाई समृद्ध र एक अनुकरणीय गाउँपालिका बनाउने हामी सबैको साझा दायित्व सम्झेर सबै सरोकारवाला निकायसँग समन्वय हुन्छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?