छत्रकोटमा एमाले कांग्रेसबीच आरोपप्रत्यारोप: हामीमाथि अवरोध भयो, मतदाता धम्क्याईयो

गुल्मीको छत्रकोटमा चुनावी प्रचारको विषयलाई लिएर नेकपा एमाले र नेपाली कांग्रेसबीच आरोपप्रत्यारोप चुलिएको छ । नेपाली कांग्रेसले बिहान एक विज्ञप्ति निकालेर पालिकाको वडा नं ५ मा नेकपा एमालेले स्थानीय महिलाहरुलाई धम्क्याउने र प्रलोभनसमेत देखाई मत प्रभावित पार्न खोजेको आरोप लगाएको थियो ।
उसले एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदका उमेद्वार रामप्रसाद पाण्डेयसहितको टोलीलाई रातीको समयमा निर्वाचन आचारसंहिता विपरीतका गतिवीधी गरेका कारण उज्यालोमा गर्नुपर्ने भन्दा उल्टै एमालेले धम्की दिएको बताएको छ ।

छत्रकोट गाउँकार्यसमितिका सभापति धातानन्द भुसालद्धारा जारी विज्ञप्तिमा मतदातालाई धम्की दिने कार्यप्रति भत्र्सना गरिएको उल्लेख छ ।

उता नेकपा एमाले छत्रकोटले आफ्ना उमेद्वारमाथि भएको अवरोध तथा अभद्र व्यवहार भएको आरोपसहित आपत्ति जनाएको छ । हिजो साँझ छत्रकोट गाउँपालिकाको वडा नं. ५ स्थित अर्जेङ्बासमा आफन्तजनसँग व्यक्तिगत भेटघाटमा रेहका गाउँपालिका अध्यक्ष पदका उमेद्वार रामप्रसाद पाण्डेयमाथि नेपाली कांग्रेसको समुहद्धारा भएको बेतुकको अवरोध तथा अभद्र व्यवहार निन्दनीय भएको एमालेले बताएको छ ।

पार्टीको छत्रकोट गाउँकमिटि अध्यक्ष पिताम्बर अर्यालले हस्ताक्षर गरेको विज्ञप्तिमा आफ्नो पार्टीका उमेद्वार रामप्रसाद पाण्डेयलाई धम्क्याइएको र आक्रमणको प्रयास गरेको तर आज (आईतबार) कांग्रेस आफैले त्यसको कुप्रचार गरी विज्ञप्ति निकालेकोप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।

२ जनामात्र पैदल यात्रामा गई आफन्तजनसँग भेटघाट गरेको विषयलाई कुण्ठा प्रदर्शन गरी अवरोध गर्न खोज्ने र आफ्नै गलत प्रवृति ढाकछोप गर्न विज्ञप्तिबाजी गर्नु खेदजनक भएको एमालेको भनाई छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?