जिल्ला समन्वय समिती गुल्मीमा कसैको पुग्दैन बहुमत


हुमाकान्त पोखरेल
गुल्मी,  गुल्मीको जिल्ला समन्वय समितिमा कसैको पनि स्पष्ट बहुमत आएको छैन । समन्वय समितिको लागि गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष र नगरपालिकाका प्रमुख÷उप–प्रमुखले मतदान गर्न पाउने व्यवस्था छ । गुल्मीमा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह छन् । १२ पालिकाको मतभार सङ्ख्या २४ छ । समन्वय समिति गठन गर्नको लागि कम्तिमा १३ मत आवश्यक छ । जसमा एमाले र काँग्रेसको समान १०÷१० एवम् माओवादी केन्द्रको चार मत रहेको छ । यसरी गुल्मीमा समन्वय समति गठन गर्न कम्तिमा दुई दलको गठबन्धन गर्न आवश्यक देखिएको छ ।

काँग्रेसले रेसुङ्गा नगरपालिकामा प्रमुख÷उप–प्रमुख, गुल्मीदरबार र इस्मा गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्ष दुवै पद जितेको छ । त्यस्तै कालिगण्डकी र मदाने गाउँपालिकामा अध्यक्ष एवम् चन्द्रकोट र मालिका गाउँपालिकामा उपाध्यक्ष जितेको छ । एमालेले मुसिकोट नगरपालिकामा प्रमुख÷उप–प्रमुख, छत्रकोट र सत्यवती गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्ष दुवै पद जितेको छ । त्यस्तै एमालेले मदाने, रुरुक्षेत्र, धुर्कोट र कालिगण्डकी गाउँपालिकाको उपाध्यक्ष जितेको छ । माओवादी केन्द्रले धुर्कोट, मालिका, रुरुक्षेत्र र चन्द्रकोट गाउँपालिकाको अध्यक्ष जितेको छ । तर कालिगगण्की गाउँपालिकामा एमाले–माओवादी तालमेलबाट सूर्य चिन्हबाट माओवादी केन्द्रकी उम्मेदवार उपाध्यक्षमा विजयी भएकी थिइन् ।

 

नेपाली काँग्रेसले पार्टीको तर्फबाट चन्द्रकोट गाउँपालिकाका निवर्तमान अध्यक्ष दोर्ण खत्रीलाई समन्वय समिति प्रमुख बनाउने निर्णय गरेको छ । जसका लागि खत्री चन्द्रकोट –३ बाट ५९१ मतसहित वडासदस्यमा विजयी भएका छन् । तर खत्री समन्वय समिति प्रमुख बन्नको लागि काँग्रेससँग स्पष्ट बहुमत छैन । त्यसकारण जिल्ला समन्वय समितिमा माओवादी केन्द्र निर्णायक देखिएको छ ।

 

काँग्रेसको निर्णयलाई सत्तागठबन्धनले पनि स्विकारेको छ । तर निर्वाचन जितेका पालिकाहरुमा कार्यपालिका सदस्यहरुको टुंगो नलाग्दासम्म समन्वय समितिमा क–कसको तालमेल हुन्छ भन्ने यकिन छैन । ०७४ सालको निर्वाचनबाट जिल्ला समन्वय समितिमा एमाले निर्विरोध निर्वाचित भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?