वेपत्ता विमान खोजीमा पोखराबाट सेनाको हेलिकोप्टर जाँदै ( प्रेस बिज्ञप्ती सहित )

काठमाडौं, जेठ १५ गते । पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी) कल साइनको ट्विनअटर विमान मुस्ताङको लेते भन्ने स्थानमा ठोक्किएको आशङ्का गरिएको छ । यसको औपचारिक पुष्टि भने हुन सकेको छैन । स्थानीय नरसिंह शेरचनले लेते र घासा क्षेत्रको बीचबाट आवाज आएको भन्ने जानकारी दिनुभयो ।

हाम्रा गण्डकी प्रदेश संयोजक रमेश पौडेलका अनुसार, खोजी कार्यका लागि जोमसोम विमानस्थलबाट लेते र घासा क्षेत्रतर्फ गएको फिस्टेल एयरको हेलिकोप्टर बीचबाटै फर्केको छ । मौसम खराब भएकाले खोजी गर्न नसकेपछि पुनः जोमसोम विमान स्थलमै फर्केको जानकारी प्रदेश कार्यालय पोखराका प्रहरी सहायक निरीक्षक जीबलाल सुवेदीले दिनुभयो ।

यसैबीच, खोजी कार्यका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पोखरामा अवतरण गरेर त्यहाँबाट सेनाका प्रमुख बाबुराम श्रेष्ठको नेतृत्वको टोली लेलेतर्फ प्रस्थान गरेको छ । मुस्ताङका अधिकाँश स्थानमा छिटो छिटो मौसम परिवर्तन हुने गर्दछ ।

आइतबार बिहान ९ः५५ बजे उडेको जहाज सम्पर्कविहीन भएको विमान मुस्ताङको लेतेमा ठोक्किएको हुनसक्ने जानकारी प्राप्त भएको छ । पोखरा विमानस्थलका अनुसार घोरेपानी भन्ने ठाउँसम्म पुग्दा सम्पर्क कायमै थियो । त्यसपछि सम्पर्कविहीन बनेको थियो ।

यात्रु १९ र चालक दलका सदस्य तीनसहित जम्मा २२ जना सो जहाजमा रहेको जानकारी प्राप्त भएको छ । जसमा ६ विदेशी, १३ जना नेपाली र तीन जना चालकदलका सदस्यसहित २२ जना लिएर उडेको थियो । पोखरा विमानस्थलबाट तारा एयर र समिट एयरका जहाज सँगसँगै उडेका थिए । तारा एयरको जहाज जोमसोम विमानस्थल नै नपुगी फर्केको भनाइ स्थानीयबासीको छ । विमानमा खराबी आएर वा मौसमका कारण जहाज अवतरण हुन नसकेको खुल्न सकेको छैन ।

आहिलेसम्म सम्पर्कविहीन जहाजको खोजीकार्य सुरु गरिएको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । आइतबार बिहानैदेखि मौसममा बदली हुँदा देशैभर वर्षा भएको थियो ।

 

 

गोरखा पत्र अनलाईनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?