आज सोमबारे औँशी , बिहानै यसो गर्नुहोस् मिल्छ लाभैलाभ

आज सोमबार । तिथिका हिसाबले आज औँशी परेको छ । जुन दिन सोमबार र औंशी तिथि पर्दछ त्यो दिन एकाबिहानै नबोलिकन स्नान गर्नुपर्दछ भन्ने मान्यता रहेको छ । के तपाईंले पनि आज बिहान सबेरै उठेर कोहीसँग नबोलिकन नुहाउनु भयो ? यदि नुहाउनुभएको हो भने शास्त्रीय मान्यतामा यस दिन निकै फल पाउनु हुनेछ ।

कस्तो फल मिल्छ ?

नबोलिकन स्नान गर्दा मनोकांक्षा पूरा हुने शास्त्रीय मान्यता राख्ने वैदिक सनातन धर्मावलम्बीहरुले बिहानै उठ्नेबित्तिकै सबैसँग नबोलिकन पहिले स्नान गर्ने गर्दछन् । आजको सोमबारे औँशी यस वर्षको दोस्रो सोमबारे औँशी हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिका पुर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम वर्षमा दुईदेखि तीन पटकसम्म सोमबारे औँशी पर्ने गरेको बताउनुहुन्छ ।

 

सोमबारे औँशी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको गौतमको भनाइ छ । औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँशी परेका दिन माता, पिता हुने, र नहुने सबैलाई बिहानै स्नान गर्न मिल्ने शास्त्रमा उल्लेख छ । यस अलावा प्रत्येक महिनामा आउने औँशीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक परम्परा रही आएको छ ।

 

माता, पिता नहुनेले भने औँशी पर्वका दिन श्राद्ध, तर्पण, दानलगायत गरी मनाउँछन् । यसका लागि पनि सोमबार परेको औँशी विशेष रुपमा मानिने गरेको प्राडा. गौतमको भनाइ छ । यो पर्व स्नान या भनौ दान दिनका लागि शुभ मानिन्छ । यस दिनमा स्नानको लागि मात्र विभिन्न तिर्थस्थलमा टाढा टाढाबाट भक्तजन पुग्ने गर्दछन् ।

 

‘सोमबारे औंशी’ को दिनको तिथि प्राप्त गर्न ठूलो संयोग या भाग्य चाहिने मान्यता राख्नेहरु पनि छन् । महाभारतका पात्रहरुले पनि आफ्नो जीवनकालमा सोमबारे औंशीको तिथि प्राप्त गर्न नसकेको बताइन्छ । पौराणिक कालमा सोमबारे औंशी अत्यन्त कम पर्दथ्यो तर सुस्तरी कलीयुगको शुरुवातसँगै धर्तीमा यो तिथि बढ्न थालेको मानिन्छ । खासमा कलीयुगमा भक्तजनलाई मोक्ष प्रदान गर्न र धर्मका लागि अधिक अवसर दिने हेतुले चन्द्रमानमा धेरै यस्ता औंशीहरु परेको बताइन्छ ।

 

सोमबारलाई चन्द्रमाको दिन पनि भनिन्छ । चन्द्रमा मनको प्रतीक र सूर्य मस्तिष्कको प्रतीक मानिन्छ । अनि सोमबारलाई शिवजीको दिन पनि मानिन्छ । त्यसैले यो दिन धर्म र अध्यात्ममा विश्वास गर्नेहरुका लागि अनेकन कारणले पवित्र मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?