मुसिकोटमा १० वर्षदेखि सामुहिक आलु खेती हुँदै , स्वादिलो आलुले उपभोक्ता दंग, हरियो मकैले किसानमा छर्यो उमंग

कमल पौडेल १८ जेठ, बागलुङ (गुल्मीको मुसिकोटबाट फर्केपछि)
गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ८ का किसानहरु आलुखेती तर्फ आकर्षित हुँदै गएका छन्। पहिले परम्परागत खेतीगरिरहेका किसानहरु विगत १० वर्ष यता व्यवसायीक आलु खेती गरिरहेका हुन्।

परम्परागत रुपमा खेति गर्दै आउनुभएकी माझखर्ककी लक्ष्मी सापकोटा सामुहिक रुपमा खेति गर्न थालेपछि सजिलो भएको बताउनुहुन्छ। सापकोटाले भन्नुभयो, “तम्घास गएर तालिम लिएपछि १० वर्ष देखि समुहमा आलु खेति गर्दै आएका छौं, समुहमा गर्दा मल राख्दा, पानी राख्दा, विउ किन्दा निकै सजिलो हुन्छ”। तुल्सी सापकोटा पनि सोहि समुहकी सदस्य हुनुहुन्छ, पुरुषहरु गाउँमा भेटिदैनन् सापकोटाले भन्नुभयो “समुहमा सवै महिला मात्रै सदस्यहरु छौं, समुहमा भएकोले काम गर्न सम्भव भएको छ, आलु बेचेर घरखर्च चलाएका छौं।”

 

गाउँबाट वस्ती पातलिँदै छ, आमाहरुको मन भने गाउँमै छ, आफै स्वरोजगार पनि बन्नुभएको छ तर बाँदरले चिन्ता थपेको छ। सरस्वती सापकोटाले भन्नुभयो “हामीलाइ सरकारले सहयोग गर्ने हो भने बाँदर लखेटिदिए हुन्थ्यो, बाँदरले साह«ै सताउन थाल्यो।”
सन्कोल की पार्वती खरेलले पनि निरन्तर आलु खेती गर्दै आउनुभएको छ, उहाँले आलु वेच्न लागेको १० वर्षभयो, अहिले पनि व्यक्तिगत रुपमै ५ क्वीन्टल विउ लगाउनुभएको छ, घरबाटै आलु बेचेर गुजरा चलिरहेको छ।

आलु तथा अलैंचि   उत्पादक कृषि महिला समुहकी सचिव समेत रहनु भएकी दिलमाया घर्ति राना ४ वर्ष देखि आलु खेति गरिरहनुभएको छ। उहाँको समुहमा १२ जना सदस्य छन् उहाँहरुले १५ क्वीन्टल विउ लगाउनुभएको छ तर उत्पादन भएको आलुको बजार भने त्यति राम्रो नभएको गुनासो उहाँको छ। उहाँले भन्नुभयो “६ महिना लगाएर घरवाटै आलु बेचेर सक्छौं, एकै पटक बेच्न पाउने हो भने आम्दानी देखिने थियो, घर खर्च महिलाहरुले नै आलु बेचेर चलाएका छौं।”

सहकारी पनि बन्यो सहयोगी

यसरी आलुको पकेट क्षेत्र बनाएर महिलाहरुलाई उद्यमी बन्न लक्ष्मीनारायण महिला कृषि सहकारीले सघाएको छ। सहकारीले समुह निर्माण गर्नेदेखि तालिम, विउ र बजार सम्मको लागि सहजिकरण गरिरहेको अध्यक्ष यमुना घिमिरेले बताउनु भयो, उहाँले भन्नुभयो “४० जनाको समुहले आलुखेतीगर्दै आएका छौं, ५ हेक्टर क्षेत्रफलमाआलु लगाउँदा कृषि ज्ञान केन्द्रले पनि सहयोग गरेको छ, यस वर्षपनि १०० क्वीन्टल आलु लगाइएको छ, ६५ क्वीन्टल विउमा सहकारीले पनि सहयोग गरेको छ।”

वडा नं. ८ भित्र ४ वटा प्लटमा अहिले आलुखेति भैरहेको हो। माझखर्क, रुक्से, वामी र सन्कोललाई आलु पकेटको रुपमा विकास गरि खेति गरिरहेको सहकारीले जनाएको छ। सहकारीका ५ सय २२ जना सदस्यमध्ये अमृतपुर आलु तथाअलैंचि उत्पादक कृषि समुहमा ४० जना सदस्य आवद्ध भई सामुहिकआलु खेति गरिरहेका छन्।

जेठमा उत्पादनहुने आलु वेमौसमको भएकोले निकै स्वादिलो हुने उपभोक्ताले बताउँछन्। बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङ का यदुमणि खरेलले भन्नुभयो “आगो पार्नेको आलु निकै स्वादीलो छ, अन्य क्षेत्रको भन्दा सस्तो पनि र स्वादीलो पनि भएकोले सोहि आलु उपभोग गर्दै आएका छौं।”

बेमौसमी मकै खेती

लक्ष्मीनारायण महिला कृषि सहकारीले आलु मात्रै होइन वेमौसमि मकै खेतीमा पनि काम गर्दै आएको छ । मुसिकोट नगरपालिका वडा नं. ७ को न्वारमा २० रोपनी क्षेत्रफलमा वेमौसमी मकै उत्पादनभएको छ। प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजनाअन्तरगत मकै जोन को सहयोगमा गत वर्षदेखि मकै पर्दशन कार्यक्रमअनुसार मकै खेति गरिएकोहो। मकैको विउ, मल र प्रविधिमा मकै जोन संगै सहकारीले पनि सहकार्य गरेको छ। अनुदानमा ५० प्रतिशत मकै जोन र २५ प्रतिशत सहकारीले सहयोग गरेको छ। रामपुर १०नामको मकै उत्पादन गरि बजारमा वितरण समेत भएको छ।

लोभ लाग्दो आलुखेती

मकै खेति गरिरहनुभएका न्वार सुदीका शेसकान्त अर्यालले भन्नभयो “हामिलाइ त पहिलो प्रयोग थियो, हरियो मकै वेच्ने कुरा तर गज्जव हुँदो रहेछ, अघिल्लो वर्षपनि राम्रै बेचियो, यो वर्षपनि हरियो मकै वेच्दा राम्रै भयो।” वडा नं. ७को न्वार सुदि क्षेत्रमा सातजना कृषकहरुको समुहमा मकै खेति गरिएको छ, नयाँ प्रयोग सहित चैत्र, बैसाख र जेठमा हरियो मकै बजारमा पठाउन पाउँदा सहकारी पनि सफलभएको छ। अध्यक्ष घिमिरेले भन्नभयो “सुरुमा त फल्ने हो कि होइन भनेर डर लागिरहेको थियो, पछि राम्रो फल्यो, प्रयोग सफल भयो, खुसि छौं, हरियो मकैबाट किसानले ५ लाख भन्दा बढी आम्दानी गर्नुभएको छ”।

मुसिकोट नगरपालिकाले पनि किसानहरुलाई प्रोत्साहन काकार्यक्रम संचालन गर्दै आएको छ। विउ, प्रविधि र मलमा सहयोग गरिरहेको नगरपालिकाले अब बजारको पनि ग्यारेन्टी गर्ने जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?