गुल्मीको एक विद्यालयका ३५ विद्यार्थी एकैपटक बिरामी, स्वास्थ्यकर्मीको टोली जाँदै

 

 

सन्तोष महतारा,गुल्मी । गुल्मीमा एक विद्यालयका ३५ जना विद्यार्थीमा एकैचोटी स्वास्थ्यमा समस्या देखिएको छ ।

 

जिल्लाको मदाने गाउँपालिका स्थित अग्लुङ्ग माध्यमिक विद्यालयमा अध्ययनरत ३५ जना विद्यार्थीमा एकैपटक स्वास्थ्य समस्या देखिएको वडाध्यक्ष सुशील चन्दले बताए ।

 

उक्त विद्यालयको कक्षा ६ देखि १० सम्म अध्ययनरत ३५ विद्यार्थीमा चिच्याउने, बेहोस हुने, उफ्रने र काम्ने लगायतका समस्या देखिएका छन् । उनीहरु २ महिना अघि पनि यस्तै लक्षणसहित बिरामी परेका थिए ।

 

अहिले भने लामो समयसम्म यी लक्षणसहित विद्यार्थीमा समस्या देखिएको विद्यालयले जनाएको छ । बिरामी हुनेमा छात्र र छात्रा दुवै छन् । बिरामी हुनुको कारण अझै खुल्न सकेको छैन ।

 

गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले विद्यार्थीमा स्वास्थ्य समस्या देखिएपछि शुक्रबार स्वास्थ्यकर्मीको टोली पठाउने बताएका छन् ।

 

केही दिन सबै विद्यार्थीको प्रत्यक्ष सम्पर्कमा रहने गरेर उपचार गर्नको लागि जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीको टोली पठाउने प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका हुन् ।

 

उक्त विद्यालयमा ५ वर्षअघि पनि करिब ४० जना विद्यार्थीमा एकैपटक लामो समयसम्म यस्तै स्वास्थ्य समस्या देखिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?