“बिकासका निम्ती महिलाहरु नेतृत्व तहमा आउन जरुरी छ,”ः अध्यक्ष थापा

 

बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले बिकासका निम्ती महिलाहरु नेतृत्व तहमा आउन जरुरी रहेको बताएकी छिन् ।

बडिगाड गाउँपालिकामा आज भएको महिला स–शक्तिकरण कार्यक्रममा प्रमुख अतिथि रहेकी अध्यक्ष थापाले महिलाहरुलाई नेतृत्व तहमा आउन आग्रह गर्दै आगामी स्थानीय तह निर्वाचनमा महिलाहरु पनि वडाध्यक्ष,उपाध्यक्ष तथा अध्यक्ष जस्ता नेतृत्व तहमा प्रतिष्प्रधामा आउनुपर्ने बिचार ब्यक्त गरिन् ।

 

 

भर्खरै निर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गर्ने उद्धेश्यले अन्तर पार्टी महिला सञ्जाल बागलुङले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै  उनले  महिलाहरु आर्थिक रुपमा सक्षम भएमात्रै उनीहरुको सर्वाङ्गीण विकास हुने भएकाले बडिगाड गाउँपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाई आर्थिक उपार्जनसगं जोड्न विभिन्न सीपमूलक तथा व्यवसायिक तालिमहरु सञ्चालन गर्ने बताइन् ।

 

 

उक्त कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य तथा नेपाल महिला सघं अध्यक्ष शकुन्तला शर्माले महिला नेतृत्व तथा क्षमता अभिवृद्धि सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

त्यस्तै अधिवक्ता ममता शर्माले मुलुकी अपराध सहिंता २०७४ का विषयमा र अधिवक्ता लक्ष्मी बास्कोटाले योजना तर्जुमा तथा छनौट प्रक्रिया सम्बन्धमा सहभागीहरुलाई प्रशिक्षण दिएकी थिइन् ।

 

 

कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरु तथा विभिन्न पार्टीको प्रतिनिधित्व गर्दै महिला नेतृहरु सहभागी भएका थिए ।

 

 

सोही अवसरमा सञ्जालले बागलुङ जिल्लामै पहिलो महिला पालिका अध्यक्षको रुपमा निर्वाचित भएको भन्दै बडिगाड गाउँपालिका अध्यक्ष गण्डाकी थापा अधिकारीलाई सम्मान समेत गरिएको थियो ।

 

 

कार्यक्रममा बडिगाड गाउँपालिका उपाध्यक्ष भिमसेन वन, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी लगायतको विशेष आतिथ्यता रहेको थियो ।

 

 

अन्तरपार्टी महिला सञ्जाल बागलुङका सभापति कुसुम बुढाको अध्यक्षता,सदस्य लक्ष्मी बोहोराको स्वागत मन्तव्य एवम् सचिव पिङ्गला जिसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?