गुल्मीका मृगौला पीडितलाई पाँच लाख सहयोग

 

हुमाकान्त पोखरेल, गुल्मी। गुल्मीमा मृगौलापीडितलाई पाँच लाख सहयोग गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका –२ पिपलधारा डुङ्ग्रिबासस्थित मृगौलापीडित १९ बर्षिया प्रतिमा थापालाई पाँच लाख ५५५ सहयोग गरिएको हो ।

‘पिपलधारा चौतारी सम्पर्क समिति’ को पहलमा ३० दिने ‘प्रतिमा बचाउ अभियान’ सुरु गरेको थियो । सोही अभियानमा जोडिएर देश तथा विदेशमा बस्ने पिपलधारा एवम् अन्य क्षेत्रमा बसोबास गर्ने नागरिकले सहयोग गरेका थिए ।

 

त्यसरी संकलन भएको रकम शुक्रबार काठमाडौंमा हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष अमृत कुमार केसीले जानकारी दिए । संस्थाका संस्थापक अध्यक्ष एवम् सल्लाहकार कमल जिसी, सल्लाहकार रविन महत, प्रकाश थापा लगायतको समुहले पीडित र उनका बुबा राम बहादुर थापालाई चेक हस्तान्तरण गरेको हो ।

 

प्रतिमाको मृगौला फेल भएपछि आर्थिक अभावमा परिवारले उपचार गराउन सकेको थिएन । संस्थाले रकम संकलन गरेसँगै उनको उपचार हुने भएको छ । शिक्षण अस्पतालमा उनको डायलोसिसको लागि प्रक्रिया अगाडी बढेकोले मृगौला प्रत्यारोपणको मिति छिट्टै तय हुने संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष केसीले ‘प्रतिमा बचाउ अभियान’ मा जोडिएर सहयोग गर्ने सबैलाई संस्थाको तर्फबाट धन्यवाद् दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?