गुल्मी अस्पतालमा संरचना थपिदा बिरामीलाई सहज

 

 

हुमाकान्त पोखरेल, गुल्मी । गुल्मी जिल्ला अस्पतालमा संरचना थप हुँदा बिरामीलाई सहज भएको छ । बिरामीको लागि प्रतिक्षालय, टोकन प्रणाली, अनलाईन प्रणाली लगायतका संरचनाले बिरामी एवम् सेवाग्राहीलाई सहज भएको हो ।

‘पहिले–पहिले त अस्पतालको गल्लिमा कोचिएर बस्नुपथ्र्यो ।’ मंगलबार अस्पतालमा सेवा लिन गएका रेसुङ्गा नगरपालिका – ४ का गोपाल प्रसाद गौतमले भने, ‘अहिले घाम–पानीमा पनि बाहिर आनन्दसँग बस्न पाइएको छ ।’ आफु महिनाको कम्तिमा दुई पटक अस्पताल आउने गरेकोमा पछिल्लो अढाई महिनायता प्रतिक्षालयमा बस्न पाएको बताउछन् ।

अर्घाखाँचीको मालारानी मरेङबाट सेवा लिएन आएकी खिमकला आचार्यले पनि पछिल्लो केही महिनायता अस्पतालमा सुधार भएको प्रतिक्रिया दिइन् । टोकन प्रणाली लागु गरेपछि पहुँचवाला व्यक्तिले अरुको पालो नमिच्ने उनले बताइन् । ‘प्रतिक्षालय र टोकन प्रणालीले धेरै आनन्द महसुस भएको छ ।’ उनले भनिन्, ‘बाहिर बसेर टिभि हेरेपछि उपचारको पालो नआउदा पनि दिन कटेको पत्तै हुँदैन ।’ रेसुङ्गा नगरपालिका २ कि तुलसा खनालले पनि टोकन प्रणाली लागु भएदेखि धेरै सहज भएको बताइन् । आफन्त नभएका बिरामी वा बृद्ध–बृद्धाका लागि टोकन प्रणालीले सजिलो भएको उनको भनाई छ । दिउँसोमा ड्युटि गर्ने सुरक्षाकर्मीले पनि कहिलेकाँही टोकन काटेर दिदाँ झनै सहज भएको उनले बताइन् ।

 

गुल्मी अस्पतालमा अध्यक्ष भरत पाण्डेयले पदभार ग्रहण गरेकै दिन टोकन प्रणालीको सुरुवात गरेका थिए । चैत ६ गतेबाट सुरु भएको टोकन प्रणालीको कुल लागत चार लाख ९८ हजार ३३० रहेको छ । सबै बिरामीको पालो टोकन नम्बरका आधारमा निर्धारण हुने भएकोले पहुँचका आधारमा उपचार गराउने प्रणालीमा कमि आएको छ ।

अस्पतालमा गत वैशाखबाट सेवाग्राहीका लागि प्रतिक्षालय कक्षको निर्माण गरिएको छ । अस्पतालको बाहिर खाली जग्गामा निर्माण गरिएको प्रतिक्षालयको लागत तीन लाख ४० हजार ६५ रहेको अस्पतालका जिन्सी शाखा प्रमुख भिम खनालले जानकारी दिए । प्रतिक्षालयमा एकपटकमा टिभि हेर्दै ६० जनासम्म बस्न मिल्छ । प्रतिक्षालय निर्माण भएसँगै अस्पतालको गल्लिमा बिरामीहरु कोचिएर बस्नुपर्ने बाध्यतामा कमी आएको छ । अस्पतालमा स्वास्थ्य बीमा र सामाजिक सेवा इकाईको छुट्टै कक्ष निर्माण भएको छ । बिरामीले टिकट काट्ने ठाउँनजिकै उक्त सेवा संचालन गरिएकोले बिरामीलाई बिमा कार्ड लिन जान समेत सहज भएको छ । उक्त कक्षको लागत तीन लाख ६५ हजार चार रहेको न्यौपानेले बताए ।

अस्पतालमा कोजेन्ट सफ्टवयरबाट सेवा प्रवाह

अस्पतालमा कोजेन्ट सफ्टवयरबाट सेवा प्रवाह भएको छ । गुल्मी अस्पतालमा पछिल्लो समय ल्याब सेवाको पनि विस्तार गरिएको छ । अस्पतालमा थाइराइड, ट्युमर मार्कर अर्थात क्यान्सर, मधुमेह विशेष परीक्षण, बाथरोग, रक्त अल्पत्ता, टिभि, कलेजो र मुटुको जाँच एवम् हैजासम्बन्धी परीक्षण सेवा सचालन आएको हो । लुम्बिनी प्रदेशका ५० शैयाका अस्पतामध्ये धेरै ल्याबका सुविधा भएको गुल्मी अस्पताल प्रशासनले जनाएको छ ।

दरबन्दी रिक्त हुँदा काममा समस्या

गुल्मी अस्पतालमा कुल ५९ दरबन्दी छन् । जसमध्ये अहिले १८ जनामात्रै छन् । कार्यरतमध्ये दरबन्दी करारमा ११, छात्रवृत्ती करारमा पाँच र कार्यक्रम करारमा तीन जना रहेका छन् । अस्पतालमा ४१ जनाको दरबन्दी रिक्त रहेको छ । अहिले चार जना अध्ययन बिदामा छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर उत्तम पच्याका अनुसार आवश्यक सङ्ख्यामा डाक्टर एवम् स्वास्थ्यकर्मीहरु नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । ‘दिनहुँ शल्यिक्रिया भइरहेका छन् तर अझैपनि विशेषज्ञ सेवा दिन सकेका छैनौ ।’ पच्याले भने ।

११ महिनामा ६१ हजार सेवाग्राही

अस्पतालमा ११ महिनामा ६१ हजारले सेवा लिएका छन् । अस्पतालमा गत साउनदेखि जेठसम्म ६१ हजार १७० ले सेवा लिएका हुन् । साउनमा चार हजार ९९८, भदौमा पाँच हजार ४९२, असौजमा पाँच हजार ४८५, कात्तिकमा चार हजार ९४४, मंसिरमा पाँच हजार ९०, पौषमा पाँच हजार २३३ जनाले सेवा लिएका छन् । त्यस्तै माघमा चार हजार ५६१, फागुनमा छ हजार ४०३, चैतमा छ हजार ६९८, वैशाखमा पाँच हजार ३० र जेठमा छ हजार ७३६ जनाले सेवा लिएको अस्पतालका मेडिकल रेकर्ड सुपरभाइजर बाबुराम पोख्रेलले जानकारी दिए ।

स्वास्थ्य अधिकार प्रत्याभूतिको लागि लागिपरेका छौ ः पाण्डेय

अस्पताल विकास समिति अध्यक्ष भरत पाण्डेयले अस्पतालको सेवा सुधार उन्मुख रहेको बताए । आफ्नो कार्यकालमा जसरी पनि केही विशेषज्ञ डाक्टरहरु ल्याउने र आइसियु सेवा संचालन गर्ने पाण्डेले बताए । ‘जनशक्ति ल्याउनको लागि प्रदेश सरकारसँग समन्वय भइरहेको छ ।’ उनले भने, ‘संविधानमा उल्लेख गरिएका नागरिकको स्वास्थ्य अधिकार प्रत्याभूतिको लागि लागिपरेका छौँ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?