गुल्मीको पल्लिकोट स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

 

टोपलालअर्याल , गुल्मी, २७असार

छत्रकोट गाउँपालिका वडा नं. २ पल्लिकोट स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । छत्रकोट गाउँपालिका प्रमुख रामप्रसाद पाण्डेयले स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्थाको रुपमा घोषणा गरेका हुन् । पल्लीकोट स्वास्थ्य चौकी लाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्दै गाउँपालिका प्रमुख रामप्रसाद पाण्डेय पाँच बर्षभित्र गाउँपालिकालाई नै पोषणमैत्री बनाउने गरेर नीति तथा कार्यक्रम बनाइएकाले आजको कार्यक्रमले अझ उत्साह प्रदान गरेको बताए ।

सधै उत्कृष्ट पल्लीकोटको प्रसंसा गर्दै पाण्डेयले आफु नागरिको स्वास्थ्य र अर्थोपार्जनका बिषयमा निकै संवेदनशिल भएकाले थुप्रै रचनात्मक योजनाहरु कार्यान्वयन गर्दै जाने बताए । त्यस्तै गाउँपालिका उपप्रमुख सावित्रा ज्ञवालीले अरु वडामा पनि पूर्ण पोषण मैत्रीका प्रक्रिया अगाडी बढाउन आग्रह गरिन् । पूर्ण संस्थागत प्रसुती र पूर्ण कोभिड खोप पालिका घोषणा गरिसकिएको छ ।

स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यका अनुसार जिल्ला पहिलो वडाको रुपमा गुल्मी दरवार गाउँपालिका १ को बलिथुम स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको थियो । त्यो संगै धुर्कोट प्राथमिक स्वास्थ्य चौकी, वस्तु स्वास्थ्यचौकी, र बलेटक्सार स्वास्थ्यचौकी पनि पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय प्रमुख आचार्यले अभियानको घोषणा संगै चुनौति पनि थपिएकाले कार्यान्वयनमा पनि घोषणामा जस्तै कार्यगत एकता चाहिने बताए ।

कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोख्रेलले जीवनका दुई दशक बिताएको स्वास्थ्य संस्था पोषणमैत्री घोषणा गर्न पाउँदा खुसी लागेको बताए । आफुले भुमिकाका हिसावले पालिकाका सवै वडालाई प्राथमिकतामा राखेको भएपनि स्थानीयतह भन्दा अगाडीबाट नै पल्लीकोटको स्वास्थ्य क्षेत्रलाई सवल बनाउन गरिएको प्रयत्नको अहिलेसम्म उपलब्धि देखिन गरेको पोख्रेलले बताए ।

 

उनले यो अभियान पुरा गर्नपुर्व जनप्रतिनिधीहरुको पनि विशेष भुमिका रहेको बताए । पोख्रेलका अनुसार तत्कालिन समयमा गुल्मी जिल्लामै पहिलो पटक पूर्णखोप गा.वि.स,खुलादिशामुक्तगा.वि.स.,पूर्ण साक्षर गा.वि.स.,७ वटा वडालाई पूर्ण सरसफाई वडा र पछिल्लो समयमा पूर्ण संस्थागत प्रसुति वडा र १२ बर्ष माथिका नागरिकहरुलाई पूर्ण कोभिड खोप वडाको रुपमा घोषणा गरिसकिएको छ ।

 

स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्न पार गर्नुपर्ने चरणहरु

यो अभियानको घोषणा गर्न वडा स्तरमा पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति निर्माण गरेर विभिन्न चरणहरु पार गर्नुपर्छ । पोषण कर्नर स्थापना भएको हुनुपर्ने, पोषणमुलक सन्देश लेखिएको पोस्टरहरु प्रर्दशन गरिएको हुनुपर्ने, पोषण सम्बन्धि सामग्री, औषधी तथा सेवा नियमित उपलब्ध हुनुपर्छ । त्यस्तै बालबालिकाको बृद्धि अनुगमन गरिएको हुनुपर्ने, पूर्ण स्तनपान गराउने, समयमै थपखाना सुरुवात गर्ने बालबालिकाहरु ९० प्रतिशतभन्दा बढि भएमा पोषणमैत्री स्वास्थ्य सस्था घोषणा गर्न सकिने सुआहारा गुल्मीका पोषण अधिकृत लिलबहादुर नेपालीले जानकारी दिए । त्यस्तै वडाभित्र कुनै पनि बालबालिका कुपोषित नभएको सुनिश्चत हुनुपने, गर्भवति सुत्केरीहरुले पुरा मात्रामा आइरन चक्कीखाने तथा जाँच गरेको हुनुपर्ने लगायतका १७ सूचकहरु रहेको नेपालीले बताए ।

स्वास्थ्य चौकिको स्थापना

पल्लीकोट स्वास्थ्यचौकी २०५३ साल भदौ १० गते औपचारिक रुपमा स्थापना भएको थियो । स्वास्थ्यचौकीले चार वटा खोप किल्नीक र दुई वटा गाउँघर किल्नीक, १० जना महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका, १० वटा स्वास्थ्य आमा समुहको सक्रियतामा स्वास्थ्य सेवाका क्रियाकलाप अगाडी बढाएको गाउँपालिकाका स्वास्थ्य–सहसंयोजक सपना टण्डनले जानकारी दिइन् ।

पल्लीकोट स्वास्थ्यचौकीले तत्कालिन गा.वि.स. को दुई वटा कोठाबाट सेवा प्रारम्भ गरेको थियो । स्वास्थ्यचौकीले ०७३ सालबाट आफ्नै सुविधा सम्पन्न आधुनिक भवनबाट सेवा प्रबाह गरिरहेको छ ।  गाउँघर किल्नीक र खोप किल्नीक संचालनका लागि स्थानिय समुदायको सहयोगमा तीनवटा हेल्थहट निर्माण गरि संचालन गरेको छ । गतआ.व.बाट छत्रकोट गाउँपालिकाले लाकुरीडाँडामा पाल्टुङ्ग सामुदायिक स्वास्थ्य ईकाइको स्थापना गरी सेवा प्रारम्ब भएको गाउँपालिकाका स्वास्थ्य–सहसंयोजक टण्डनले बताइन् ।

पोषण सेवाका कार्यक्रम अन्तर्गत शुरुवात देखि नै ५ बर्ष मुनिका बालबालिकाहरुलाई सरकारको समय समयमा जारी प्रोटोकल बमोजिम तौल अनुगमन गर्ने र न्युन पोषण भएका बालबालिकाहरुलाई पोषण परामर्श गर्ने कार्य गरेको थियो । तौल अनुगमन तथा पोषण कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरु र महिला सामुदायिक स्वयम् सेविकाहरुलाई विभिन्न समयमा समुदाय स्तरमा पोषण सम्बन्धि तालिम संचालन गरिएको वडाध्यक्ष नरेन्द्र पल्लीले बताए ।

त्यस्तै शिशु तथा बाल्यकालिन पोषण,आयोडिन र आईरन सम्बन्धि तालिम, समुदायमा आधारित बालरोग एकिकृत व्यवस्थापन तालिम,बृहत पोषण प्याकेज तालिम लगायत पोषण सम्बन्धि विभिन्न तालिमहरु सम्पन्न गरिएको पल्लीले जानकारी दिए । त्यस्तै पुर्व वडाध्यक्ष रुक बहादुर राकसकोटीले वडामा अरु धेरै अभियानका सूचकहरु पुरा हुने चरणमा भएकाले बिस्तारै अगाडी बढाइने बताए । उनले समुदायको साथ र सक्रियताको आधारमा अभियानहरुको पूर्णता र दिगो हुने भएकाले सवैलाई आआफ्नो स्थान बाट जुटन आग्रह गरे ।

कार्यक्रममा पोषणको क्षेत्रमा महत्वपूर्ण सहयोग गर्ने सुआहारा गुल्मीका पोषण अधिकृत लिलबहादुर नेपाली, एकिकृत ग्रामीण विकास गुल्मीका राजेन्द्र विक, फिल्ड कार्यक्रर्ता पवन रजाली, पल्लीकोट स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी र महिला स्वास्थ्य स्यमसेविकाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम वडाध्यक्ष नरेन्द्र पल्लीको अध्यक्षता, गाउँपालिका प्रमुख रामप्रसाद पाण्डेयको प्रमुख आतिथ्यता, वडा सचिव कृष्ण प्रसाल भट्राईको स्वागत तथा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोख्रेल र सपना टण्डनको संचालनमा सम्पन्न भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?