गुल्मीदरबारमा कुरीति -कुसंस्कार विरुद्ध सरकार -सहकारी साझेदारी कार्यक्रम

भुवन भुसाल , असार २७ गुल्मी

गुल्मीको गुल्मीदरबार गाउँपालिकामा समाजमा विद्यमान कुरीति – कुसंस्कार विरुद्ध सरकार सहकारी साझेदारी कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीको आयोजना र गुल्मीदरबार गाउपालिकाको समन्वयमा पालिकामा आज सर्वपक्षीय व्यक्तिहरुको सहभागितामा कार्यक्रम गरेको हो ।

कस्ले के भने ?

कार्यक्रममा प्रमुख अतिथी रहनुभएका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले कार्यक्रममा सहभागी वडा अध्यक्षहरुले उठाएका नागरिकता संग सम्बन्धित समस्याको समधानका उपाय पहिल्याईदिदै बिषय प्रवेश गर्नुभयो । जुन जुन रिति , सस्कारहरु गलत छन ती नै कुरीति र कुसंस्कार भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

 

सुधारका निम्ति आफैबाट सुरु गर्नुपर्छ प्रजिअ : पौडेल

प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो “नेपालको हकमा लैङ्गिक विभेद , जातीय विभेद , आफ्नै समुदाय भित्रका छोईछिटो प्रथा , बोक्सी प्रथा , छाउपडी , दाईजो, कुमारी प्रथा, कमैया , हलिया , कमलरी , धामी झाक्री, बहुबिवाह प्रथाले जरा गाडेर बसेको छ यस्लाई हटाउन हामी सबै लाग्न आवस्यक छ ” । वहाँले हाल बिस्तारित हुँदै गएको अर्को एउटा नयाँ बिकृती पनि प्रथाको रुपमा बिकास भएको बताउनुभयो ।

आम नागरिकले आधिकारिक व्यक्तिले भनेको नसुनी दलालहरुले भनिदिएको कुरा पत्याउन तर्फ लाग्ने गरेको दृष्टान्त सुनाउनुभयो । गुल्मी जिल्लामा पासपोर्टको फारम निशुल्क भरिने कार्यक्रम लाई देशैभर प्रचार गरिएपनी नागरिकले कुरै नपत्याएर दलाललाई धेरै रकम तिरेर फारम भर्ने गरेको अनुभव समेत सुनाउभयो ।

पौडेलले कुरीति कुसंस्कार हटाउन घरघरमा छलफल गर्ने, शिक्षालाई अझै सुधार गरेर वास्तवमै प्रभावकारी हुने शिक्षाको व्यवस्था गर्नुपर्ने बताउनुभयो । सुधारका निम्ति आफैबाट सुरु गर्नुपर्ने र व्यवहारमै परिवर्तन ल्याउनुपर्ने बताउनुभयो ।

हातेमालो गरेर अगाडि बढ्न आवस्यक छ : अध्यक्ष थापा

कार्यक्रममा बोल्दै गुल्मीदरबार गाउँपालिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी सरोज कुमार थापाले केवल पालिकाले मात्रै चाहेर कुरीति र कु संस्कारको अन्त्य गर्न संभव नभएको बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो ” केवल पालिकाले मात्रै चाहेर हरेक कुरीति र कुसंस्कारको विरुद्ध लडाइँ सफल हुदैन , यस्को निम्ति प्रत्येक नागरिक , संघ सस्था हातेमालो गरेर अगाडि बढ्न आवस्यक छ , पालिकाको तर्फबाट गर्नुपर्ने हरेक काम गर्न गुल्मीदरबार तयार छ ” ।

कुनै पनि आपराधिक गतिविधिमा म लचिलो हुन्न : प्रहरी प्रमुख दाहाल

 

कार्यक्रममा तथ्यांकगत, कानुनी, र देशमा भएका पछिल्ला दृष्टान्त राख्दै गुल्मी जिल्ला प्रहरी प्रमुख , प्रहरी उपरिक्षक भिम दाहालले गुल्मी जिल्लामा पछिल्लो समय भए गरेका अपराधको बारेमा प्रस्तुतिगत जानकारी राख्नुभयो । प्रहरी प्रमुख दाहालले समाजमा हुने अपराध , त्यस्का चरण र अपराध हुनुका कारण एवं न्युनिकरणका उपायबारे समेत बताउनुभयो । जिल्लामा पछिल्लो समय आत्महत्या, करणी , बाल यौन दुराचार लगायतका घटना तुलनात्मक रुपमा धेरै भएको बताउनुभयो ।

कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै प्रहरी उपरिक्षक दाहालले भन्नुभयो ” जिल्लामा हुने कुनै पनि आपराधिक गतिविधिमा म लचिलो भएन र हुन्न तपाइहरु सबैले सकेसम्म अपराध हुनै नदिन र अपराध भैहालेमा अनुसन्धानमा सघाउ पुर्याउन अनुरोध गर्दछु” ।

 

 

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरे, पालिका उपाध्यक्ष तारा थापा ढेंगा, सबैजसो जनप्रतिनिधि , युवा क्लब , आमा समुहका अध्यक्ष पदाधिकारी लगायतको सहभागीता थियो ।

कार्यक्रमको संचालन पालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?