गुल्मी: नेताले सुन्ने किसानले भाषण गर्ने , “हाम्रो उत्पादन बिकेन कस्ले लिन्छ जिम्मा” भन्ने किसानको प्रश्न

भुवन भुसाल , असार ३० गुल्मी

असार ३० गते बिहिवार जिल्ला समन्वय समिती गुल्मीको सभाहलमा अलि फरक दृष्य देख्ने मौका मिल्यो । जिल्ला समन्वय समिती अध्यक्ष देखि अधिकांस पालिका प्रमुख कुर्चिमा थपक्क बसेर भाषण सुनिरहेका थिए भने जिल्लाका सबै स्थानका किसानले आफ्ना अनुभव , आम्दानी , कृषि पेशामा देखिएका अवसर र चुनौती सुनाउदै थिए ।

किसानका कुरा

कार्यक्रममा बोल्दै इश्मा ४ का व्यवसायीक किसान ओम बहादुर कुंवरले भन्दै थिए “खाली भाषणमा गर गर भन्ने , कुरामा समृद्धि भन्ने तर किसानको उत्पादन बारिमै कुहियो , हाम्रो उत्पादनको बजार ग्यारेन्टी कस्ले गर्ने, कस्ले हो कोल्ड्स्टोर निर्माण गरिदिने ? सधै भाषण मात्रै गर्ने ?” उनको बारिमा अहिलेको बजार मूल्य अनुसार २४ लाख पर्ने लसुन बजार नपाएर थन्किएको छ त्यही आक्रोश उनी आफ्ना जनप्रतिनिधि र नेताहरुलाई सुनाउँदै थिए ।

 

इश्मा ३ दर्लामचौरका २२ बर्षिय घाँस किसान गोकर्ण नेपालीले आफ्नो सफलताको कथा सुनाउदै भन्दै थिए ” मैले गुल्मीको सबै स्थानिय तह र २३ बढी जिल्लामा घाँस बेचेर यो सिजनमा जम्मा १८ लाख कमाएँ, घाँस खेतीमा ९५ प्रतिसत नाफा छ म खुसी छु ” ।

 

 

छत्रकोट १ हुँगाका किसान भुवन खरालले किसानलाई बजारको केही समस्या नभएको प्रतिक्रिया दिए । उनले आफुसँग पैचो पसल साथमा रहेकाले बजारको ग्यारेन्टी भएको तर मूल्य अचाक्ली खस्किएकाले घाटामा जाने सुनाए । गएको बर्ष प्रतिकिलो २५० रुपैया मूल्य रहेको अकबरे खुर्सानी यो बर्ष घटेर प्रतिकिलो ८० रुपैयाँमा झरेकाले आफू पुर्ण रुपमा पेशाबाटै बिस्थापित हुनसक्ने दुखेसो पोखे ।

कार्यक्रममा १६ जना किसानहरुले आफ्ना सफलता , गुनासा, समस्या क्रमै सङ्ग सुनाउदै गर्दा केही जनप्रतिनिधी चाख मानेर सुन्दै थिए भने केही प्रतिनिधिमुलक बोल्नु पर्यो समय कम छ भन्दै किसानका कुरा सुन्न चाख दिईरहेका थिएनन् । कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारी भने यो किसानको कथाव्यथा सुन्ने कार्यक्रम भएको भन्दै सबै किसानलाई बोल्न प्रोत्साहन गरिरहेका थिए ।

किसान सम्मान कार्यक्रमको ब्यानरमै गज्जबको नारा लेखिएको थियो । “सफल कृषि व्यवसायीहरुको उद्यमी यात्रा र प्रेरणादायी कथा सुनौं र सुनाउं” यो नाराबाट नै के प्रष्ट हुन्थ्यो भने कृषि ज्ञान केन्द्रले जिल्लाका सबै निकायका बिचमा किसानका सफलताका कथा र किसानका समस्या उनिहरुकै मुखबाट सुनाउन चाहेको छ । जस्का कारण नीति निर्माण गर्ने तहमा बसेका जनप्रतिनिधिलाई आगामी कृषिका योजना बनाउन समेत सहज होस ।

कार्यक्रममा आएका अधिकांस किसानका गुनासा करिब समान थिए “हामी उत्पादन गरेर देखाउछौ , के तपाईहरु बजारको ग्यारेन्टी गर्न सक्नुहुन्छ” ? केही किसानहरुले वास्तविक किसानले सरकारी सहयोग र अनुदान पाउन सरकारी कार्यालय धाउन समस्या भएको , कागजी प्रक्रिया झन्झटिलो भएकाले झोले किसानले अनुदान सहजै पाउने तर वास्तविक किसानले कागजात र प्रक्रिया पुर्याउन नसकेकाले समस्या भएको गुनासो गरे ।

 

सधै नेताका भाषण सुनेर ताली बजाउने किसानले यो पटक जिल्ला सदरमुकाम पुगेर नेतालाइ भाषण सुनाएका छन । कार्यक्रममा गुल्मी जिल्लाका १६ जना अनुकरणीय युवा किसानलाई सम्मान गरिएको छ । सधै एउटा खादा र सामान्य प्रसंसापत्रले गरिने सम्मान यो पटक भने हृदय देखिनै गरिएको सम्मान जस्तो देखिन्थ्यो । चादिँ रङ्गको सुन्दर फ्रेममा राखिएको सम्मानपत्र र दोसल्ला ओडाएर किसानलाई गरिएको सम्मानले किसानका पनि यसरी सम्मान पाउने दिन आए भन्दै किसान खुसी भएका थिए ।

को को थिए उपस्थित ?

कार्यक्रमका अध्यक्ष एवं कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारी, प्रमुख अतिथी जिल्ला समन्वय समिती गुल्मीका प्रमुख द्वर्ण खत्री, रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थी, सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरे लगायतले किसानलाई सम्मान गरेका हुन । कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली,छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेय, गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोज कुमार थापा, इश्मा गाउँपालिका अध्यक्ष भगत खड्का, धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल, सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डे, चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केशी, मालिका गाउँपालिका अध्यक्ष देबिराम अर्याल, मदाने गाउँपालिका अध्यक्ष महेन्द्र कुंवर लगायत विभिन्न स्थानीय तह प्रमुख जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, पत्रकारको सहभागिता रहेको थियो ।

 

युवा उद्यमी तथा नव उद्यमि , रोजगारी सृजना समेत गरेका, प्रविधी मैत्री प्रणाली अपनाएका, यान्त्रिकृत, नविनतम सोच, बजार योजना, आम्दानी, स्थानीय तहबाट पेन्सन नपाएका लगायतका सूचक हेरेर किसानहरुलाई सम्मान गरेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।

कुन कुन किसानले पाए सम्मान ?

आज जिल्लाका १६ जना किसानहरुलाई सम्मान गरिएको हो । आज सम्मानित हुने किसानहरुमा छत्रकोट १ हुँगाका भुवन खराल सोही स्थानका दान बहादुर पल्ली , सोही पालिका वार्ड न ४ दिगाम चिरञ्जीवी पन्थ रहेका छन ।

त्यस्तै रुरुक्षेत्र गाउँपालिका वार्ड न ४ का कुलचन्द्र ज्ञवाली, वार्ड न ५ टाहाटिमका सन्जय ज्ञवाली, रेसुङ्गा नगरपालिका वार्ड न १० सिमिचौरका बिनोद कुंवर, वार्ड न ६ सिमाघाटका प्रेम नेपाली, रेसुङ्गा ८ कि कमला भलामी, सत्यवती गाउँपालिका ४ लिम्घाका प्रेम शाही, चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरका उत्तम खत्रीलाई प्रशंसा पत्र र दोसल्ला ओडाएर सम्मान गरियो ।

सम्मानित हुने अन्य किसानहरुमा मुसिकोट ८ मालारानीका चुमा घर्ती मगर, इश्मा ३ दर्लामचौरका गोकर्ण नेपाली, इश्मा ४ का ओम कुंवर, मदाने ३ का शोभ बहादुर घर्ती, मुसिकोट ५ आपचौरका मनोज पाण्डे, आपचौरकै सरोज बेल्बासे रहेका छन ।

किसानले नेतालाई भाषण सुनाए , सम्मान पत्रले सम्मानित भए जिल्लामा किसान पनि खास हुन भन्ने सन्देश प्रवाह भयो, किसानले ज्ञान केन्द्रलाई धन्यवाद दिए कार्यक्रम सम्पन्न भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?