“एजेन्डामै नभएको विषयलाई लिएर रुरुक्षेत्रमा कार्यपालिका बैठक बहिस्कार”

भाद्र ०७ गुल्मी ।

रुरुक्षेत्र गाउँपालिकामा वडा अध्यक्ष सहित कार्यपालिका सदस्यहरुले पालिकाको नियमित कार्यपालिका वैठक बहिस्कार गरेका छन् । वैठकमा छलफलका लागि नै नराखिएको एजेन्डालाई लिएर वडा न.५ का वडा अध्यक्ष बाहेक अन्य वडाका वडा अध्यक्ष एवं कार्यपालिका सदस्यहरूले वैठक बहिष्कार गरेका हुन् ।

छलफलमै नराखिएको शिक्षा समिति गठनको कुरालाई लिएर वैठक बहिस्कार गरेको वडा न.५ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता हरिप्रसाद ज्ञवालीले पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् । उनका अनुसार छलफलका लागि ल्याउँदै नल्याएको एजेन्डामाथि आजकै वैठकमा छलफल हुनुपर्ने भन्दै कार्यपालिका सदस्यहरूले वैठक बहिस्कार गरेका हुन् ।

 

आज उठेको एजेन्डालाई गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले अर्को वैठकमा छलफलका लागि ल्याउने र आज छलफलका लागि ल्याइएका एजेन्डा माथी छलफल गर्नको लागि वैठक अघि बढाउने क्रममा वडा अध्यक्षहरु सहित कार्यपालिका सदस्यहरु वैठकबाटै बाहिरिएको उनले बताए।

के थिए आजका एजेण्डा ?

गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले विद्युत महशुल छ्ट दिने सम्बन्धि कार्यविधि २०७९ सम्बन्धमा, टोल विकास संस्था गठन तथा संचालन कार्यविधि २०७९ सम्बन्धमा, बाँझो तथा कृषि योग्य जग्गामा उत्पादन प्रवर्द्धन कार्यक्रम संचालन सम्बन्धमा, मृगौला प्रत्यारोपण, डायलाईसिस, क्यान्सर, मेरुदण्ड र पक्षघातका रोगीहरुलाई औषधि उपचार बापत खर्छ उपलब्ध गराउन बजेट विनियोजन गर्न सम्बन्धमा लगायतका २१ वटा एजेन्डा वैठकमा प्रस्तावका लागि अघि बढाएका थिए। सबै एजेन्डा पढिसकेपछि एकाएक अर्को एजेन्डालाई लिएर वैठक बहिस्कार गरेको प्रवक्ता ज्ञवालीले बताए।

बैठक बहिस्कार गर्नाले विद्युत महशुल, स्वास्थ्य सेवा संचालन लगायतका कतिपय तत्काल कार्यान्वयन गर्नुपर्ने कार्यक्रममा असर परेको उनको भनाइ छ। गाउँपालिकामा प्रत्येक महिनाको पहिलो शुक्रवार कार्यपालिका बैठक बस्ने गरेकोमा पहिलो शुक्रबार सार्वजनिक बिदा परेकोले आज बस्ने निर्णय गरिएको थियो।

छलफलका क्रममा गएका बैठकहरुमा पनि सामान्य चर्काचर्की हुने, अस्वभाविक कुराहरु गर्ने, घोचपेच गर्ने लगायतका क्रियाकलाप हुने गरेको तर फरक राजनीति पृष्ठभुमि र बिचारहरु हुने भएकोले त्यसलाई आफुले स्वभाविक रुपले लिने गरेको बताउँदै कार्यपालिकाका जिम्मेवार सदस्यले नै राजनीतिक पुर्वाग्रह लिएर सामाजिक संजालमा भ्रम फैलाउने गरि पोस्ट्याएकोले पत्रकार सम्मेलन नै गरि जनताहरुलाई जानकारी दिनुपर्ने अवस्था आएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए।

वडा न.४ का वडा अध्यक्ष मोतिप्रसाद श्रेष्ठले गाउँपालिका अध्यक्ष शिक्षा जस्तो संवेदनशील क्षेत्रमा गम्भीर नभएकोले कार्यपालिका बैठक स्थगित भएको भन्दै फेसबुकमा पोस्ट गरेका थिए। उनले गरेको पोस्टमा विभिन्न टिकाटिप्पणीहरु पनि भइरहेका छन् ।

के छ उपाध्यक्षको भनाइ ?

गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतमले पनि कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेको बताएकी छन् । “गाउँपालिका अध्यक्षले बैठक स्थगित भएको जानकारी दिनुभएको थिएन, आफुहरुले उठाएको एजेन्डा आज छलफल नहुने भएपछि उहाँहरु आफै उठेर हिड्नुभयो” उनले बताइन् । आफू शिक्षाको क्षेत्रमा निकै गम्भीर रहेको बताउँदै गाउँपालिका अध्यक्ष ज्ञवालीले आज उठेको शिक्षा समिती गठन सम्बन्धि एजेन्डा आफुले अर्को बैठकमा छलफलका लागि ल्याउने र आज छलफलका लागि उठेका एजेन्डामाथी छलफल गर्न बैठक अघि बढाउन खोज्दा सबै एकैसाथ होहल्ला गरेर बाहिरिएको बताए।

शिक्षाप्रति गम्भीर भएर नै आफु निर्वाचित भएपछि गाउँपालिका भित्रका कतिपय विद्यालयहरु अनुगमन गरिसकेको र आवश्यक सुझाव सल्लाह दिइरहेको उनले बताए। गाउँपालिका भित्रका प्र.अ, ब्यवस्थापन समिति अध्यक्ष र विद्यालयबाट एकजना शिक्षकलाई कालिका, कान्ति, नविन औद्योगिक जस्ता प्रतिष्ठित विद्यालयहरुको भ्रमण गर्नुपर्ने भन्दै बिदाको बेलामा शिक्षा शाखाको समन्वयमा त्यो काम समेत गरिसकिएको उनको भनाइ छ।

तयारी बिनाको छलफल ब्यवस्थित र प्रभावकारी नहुने भएकोले शिक्षा समिति गठन बारे आज छलफल गर्नुभन्दा अर्को बैठकमा तयारी साथ छलफल गर्ने उदेश्य सहित आफुले आज उठाएका २१ वटा बुँदामा मात्र छलफल गर्न अनुरोध गरेको उनले बताए । हिजोको दिनमा भएका कतिपय निर्णयहरु समेत कार्यान्वयनमा नआएको समेत पाइएको उनको भनाइ ।

जनताले विस्वास गरि स्विकारेर जिम्मेवार पदमा पुर्याएता पनि कतिपय कार्यपालिका सदस्यहरुले आफुलाई अझैपनि स्विकार्न नसकेको, उनिहरुमा बहुमतको दम्भ अझै रहेको बताउँदै आफू अब कुनै पार्टीको नभएर पुरै गाउँपालिका भित्रका जनताको अभिभावक भएकोले कुनै आग्रह पुर्वाग्रह नराखी काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । राजनीतिक पुर्वाग्रह छोडेर सबै मिलेर अघि नबढ्दा सम्म जनताले चाहेको सपना पूरा गर्न नसकिने बताउँदै जनताको आश र भरोसालाई कुल्चिने अधिकार कसैलाई नभएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?